थपिँदै कोरोना संक्रमित

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७८
new corona

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको ग्राफ बढ्दो छ । अघिल्लो दिन ८२ जना संक्रमित रहेकोमा शुक्रबार ८६ जना संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
३ सय ६१ जनाको पिसिआर परीक्षणमा ८६ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले बताए । हालसम्म प्रदेशमा कुल संक्रमित संख्या १७ हजार ५ सय ७४ पुगेको छ ।
गएको २४ घण्टामा ३२ निको भएका छन् । हालसम्म निको हुने १६ हजार ५ सय ९० छन् । सक्रिय संक्रमित संख्या ७ सय ७३ पुगेको छ । कोभिड–१९ का कारण हालसम्म २ सय ११ जनाले ज्यान गुमाएका छन् ।
सार्वजनिक तथ्यांक अनुसार कास्कीमा २ सय ८ को पिसिआर परीक्षणमा ६४ मा संक्रमण देखिएको छ । प्रदेशका ११ मध्ये कास्कीमा संक्रमित बढी छन् । जिल्लामा अझै पनि ५ सय ५६ जना संक्रिय संक्रमित छन् । मनाङ र मुस्ताङमा हाल संक्रमित शून्य छ ।
यसैबीच, संक्रामक तथा सरुवा रोग अस्पताल, कास्कीले कोरोनाबाट बच्न स्वास्थ्य मापदण्डका उपाय अपनाउन आग्रह गरेको छ । अस्पतालका तर्फबाट सूचना अधिकारी केदारनाथ लामिछानेले शुक्रबार विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । उनका अनुसार अस्पतालमा हाल ४० जना संक्रमितको उपचार भइरहेको छ । संक्रमितमध्ये १७ देखि ६९ वर्ष समूहका छन् । अस्पतालले हालसम्म ४ सय २२ जना कोरोना संक्रमितको उपचार गरिसकेको जनाएको छ । १ संक्रमितको ज्यान गएको छ ।
अस्पतालले संक्रमितलाई बिहान बेलुका खाजा खाना, आवश्यक औषधी निःशुल्क उपलब्ध गराउने गरेको छ । साथै चाँडै नै आइसियु सेवा समेत उपलब्ध गराउने जनाएको छ ।

२० देखि २९ वर्षका बढी संक्रमित

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ ।
देशभर १४ हजार ७ सय २४ जना आइसोलेसनमा छन् भने हाल ७५ जना क्वारेन्टिनमा छन् । संक्रमितमध्ये महिला १ हजार २३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म २ लाख ७६ हजार ७ सय ५५ संक्रमण मुक्त भई घर फर्किएका छन् । निको हुने दर ९३ दशमलव ९ प्रतिशत छ । पछिल्लो २४ घण्टामा देशभर ४ सय १० संक्रमित निको भएर घर फर्किएका छन् । देशभर १४ हजार ७ सय २४ सक्रिय संक्रमित छन् ।
शुक्रबार सबैभन्दा बढी २०–२९ उमेर समूहमा संक्रमण देखिएको छ । यो उमेर समूहमा ५ सय ७५ जना संक्रमित भएका हुन् । २४ घण्टामा ५ जना मृत्यु भएको छ । हालसम्म ज्यान गुमाउने ३ हजार १ सय २२ जना पुगिसकेको मन्त्रालयले जनाएको छ ।

बागलुङका विद्यालय १ साता बन्द

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बागलुङ नगरपालिकाभित्रका विद्यालय १ साताका लागि बन्द हुने भएका छन् । बागलुङ नगरपालिकाले शुक्रबार १ सूचनामार्फत् वैशाख १२ गतेदेखि १९ गते सम्म नगरभित्रका सबै विद्यालय बन्द गर्न आह्वान गरेको हो ।
नगरप्रमुख जनकराज पौडेलको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले १ साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यार्थीलाई सुरक्षित राख्ने उद्देश्यले वैशाख १२ गतेदेखि १९ गतेसम्म १ हप्ताका लागि बन्द गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख डण्डपाणि शर्माले बताए ।
बागलुङ नगरपालिकाकै बलेवा क्षेत्रमा रहेका विद्यालयमा धमाधम कोरोना संक्रमण देखिएपछि यसअघि बलेवाका ३ वडामा १० दिनका लागि निषेधाज्ञा जारी गरिएको थियो
नगरभित्र सञ्चालनमा रहेका ट्युसन सेन्टर, भाषा तयारी कक्षा, कोचिङ कक्षासमेत बन्द गर्न शिक्षा शाखाले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुरक्षा मापदण्डसम्बन्धी सूचनामा २५ जनाभन्दा बढी व्यक्ति मलामीसमेत जान नपाउने उल्लेख गरिएकोमा विद्यालयबारे कुनै सम्बोधन नभएको भनी अभिभावकले सरकारी निकायको आलोचनासमेत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width