आरोही महिला फोटो पत्रकारलाई सम्मान

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७८
purnima sammanb

पोखरा । फोटो पत्रकार तथा हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई पोखराका फोटो पत्रकारले सम्मान गरेका छन् । अन्नपूर्ण प्रथम आरोहण गरेर इतिहास रच्दै समग्र फोटो पत्रकारको गौरव बढाउन मद्दत पु¥याएकाले बधाईसहित सम्मान प्रदान गरिएको हो ।

फोटो पत्रकार संघ, कास्की र फोटो पत्रकार महासंघ गण्डकी प्रदेशले उनलाई सम्मानपत्र र दोसल्लासहित सम्मान अर्पण गरेको हो । कारोबार दैनिक र न्युयोर्क टाइम्समा फोटो पत्रकारका रुपमा काम गर्दैै आएकी श्रेष्ठ अन्नपूर्ण प्रथम आरोहण गर्ने प्रथम नेपाली महिला हुन् ।

पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पर्यटन बोर्डका पूर्व सदस्य अग्नि कँडेल, फोटो पत्रकार संघ कास्की अध्यक्ष प्रदीप पौडेल, गण्डकीका अध्यक्ष राम गुरुङले उनलाई सम्मान गरेका हुन् ।

पोखराका अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले महिला र त्यसमाथि पनि फोटो पत्रकार भएर हिमाललाई नजिकबाट दृश्यावलोकन गर्दा नेपालको पर्यटन क्षेत्र विश्व बजारमा प्रचार भएको बताए ।

पर्यटन बोर्ड पूर्व सदस्य अग्नि कँडेलले राज्यले सम्मान गर्न नसकेका बेला फोटो पत्रकारले राष्ट्रको गहनालाई सम्मान गरेको भन्दै प्रशंसा गरे ।

फोटो पत्रकार संघ कास्की अध्यक्ष प्रदीप पौडेलले पत्रकारहरु अरुको फोटो खिच्ने र समाचार लेख्ने मात्रै होइन, आफैं समाचारको विषय बन्ने गरी कीर्तिमान राख्न पनि सक्षम छन् भन्ने कुरा श्रेष्ठले प्रमाणित गरेको बताए ।

संघ गण्डकीका अध्यक्ष राम गुरुङले श्रेष्ठले राखेको कीर्तिमानले समग्र फोटो पत्रकारलाई गौरवान्वित बनाएको बताए ।
सम्मान ग्रहण गरेपछि पूर्णिमाले सुरुमा फोटो पत्रकार बन्नका लागि सामान्य क्यामेरा किन्न पनि धौ धौ परेको अनुभव सुनाउँदै भनिन्, ‘सबै हिमाल चढेको सुन्दा त्यसको फोटो खिच्दै प्रकृतिसँग रमाउने धोको मेरो मनमा पनि थियो ।’

कसैको सहायतामा बेसक्याम्पसम्म यात्रा गर्ने अवसर मिलेको सम्झँदै श्रेष्ठले त्यहीँबाट फर्केपछि म पनि हिमाल चढ्छु भन्ने मनमा लागेको बताइन् । ‘आर्थिक अभाव त छँदै थियो तर सहकर्मीहरुले रुख चढ्न नसक्नेले हिमाल चढ्छु भन्ने ? भन्दै जिस्क्याउँथे’ उनले भनिन्, ‘त्यसैले मलाई हिमाल आरोहण गर्ने थप प्ररेणा मिल्यो ।’ योसँगै सगरमाथा, आमादब्लम र मनासलु गरी ४ हिमाल चढिसकेकी उनले अब धौलागिरि चढ्ने रहर भएको बताइन् ।

कार्यक्रममा फोटो पत्रकार संघ, गण्डकीका महासचिव कृष्णमणि बराल, कास्की सचिव दुर्गा पौडेल, पर्यटन व्यवसायी टीकाराम सापकोटा, पत्रकार सागरराज तिमिल्सिना, नारायण आचार्य, इन्द्र पौडेल, घनश्याम पौडेल, सुरज श्रेष्ठ, युनिश गुरुङ, प्रेम थापालगायतले फोटो पत्रकारहरुको इज्जत पूर्णिमा श्रेष्ठको कीर्तिमानले थपिएको तर्क गरे ।

अन्नपूर्ण प्रथम (८०९१ मि.) आरोहण निकै नै जोखिमपूर्ण मानिन्छ । आरोहण समूहमा पूर्णिमा श्रेष्ठ, माया शेर्पा, शर्मिला तामाङ, पासाङ ल्यामु शेर्पा, दावा याङ्जेन शेर्पा, दावा फुटि शेर्पा रहेका थिए । उनीहरुले गत शुक्रबार दिउँसो साढे १ बजे अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका थिए ।

अन्नपूर्ण प्रथम आरोहणका लागि कठिन भएका कारण अहिले करिब २ सय ५० जनाले मात्रै आरोहण गरेका छन् । यो वर्ष मात्रै ६७ जनाले सफल आरोहण गरेका छन् । अहिलेसम्म २४ महिलाले आरोहण गरेका छन् भने यो वर्षमात्रै नेपाली ६ जना र विदेशी ६ जनाले सफल आरोहण गरेका छन् ।

फ्रान्सेली नागरिक मौरिस हर्जाेग र लुइ म्याकेननले ७० वर्षपहिले अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेका थिए । उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width