कोरोना महामारीः प्रदेश तात्यो, महानगर सुस्त

धनबहादुर गुरुङ
वैशाख १०, २०७८
health

पोखरा । पछिल्लो समय कोरोना संक्रमणको दोस्रो भेरियन्ट दर दिनानुदिन बढ्दै छ । पोखरामा मात्र पनि दैनिक सयको हाराहारीमा संक्रमित थपिँदै छन् । गएको ३ दिनमा मात्र कास्कीमा १ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधिमा प्रदेशमा २ सय ५७ मा कोरोना पोजेटिभ देखिएको छ भने ३ जनाको ज्यान गएको छ ।

बिहीबार मात्र प्रदेशमा ८२ जनामा कारोना पुष्टि भएको छ । जस अन्तर्गत कास्कीमा ५५, म्याग्दीमा ११, नवलपुरमा ५, स्याङ्जामा ४, तनहुँमा र पर्वतमा ३÷३ जना तथा लमजुङमा १ जना नयाँ कोरोना संक्रमित भेटिएका हुन् । बिहीबार ४ सय ३२ जनाकोे स्वाब परिक्षण गरिएको थियो । गण्डकीमा १७ हजार ४ सय ८८ जना कोरोना संक्रमितमध्ये १६ हजार ५ सय ५८ जना निको भएका छन् । अझै ७ सय १९ सक्रिय संक्रमित छन् । प्रदेशमा कोभिड–१९ कै कारण २ सय ११ जनाको ज्यान गएको छ ।

नेपालमा बिहीबार २ हजार ३ सय ६५ जना कोरोना संक्रमित थपिए । योसँगै कुल संक्रमित २ लाख ९२ हजार १५२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा २ सय ५२ जना डिस्चार्ज भए । योसँगै निको हुनेको संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ । सोही अवधिमा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय १७ पुगेको छ । सक्रिय संक्रमित १२ हजार ६ सय ९० छन् भने क्वारेन्टाइनमा ८१ जना छन् ।
पोखरा कोरोना संक्रमितको ‘हटस्पट’ बन्दा पनि स्थानीय सरकार पोखरा महानगर र प्रदेश सरकार ‘तयारी गरिरहेका छौं’ भन्दै बसेका छन् । तयारीबारे हल्लाखल्ला गरे पनि नतिजा भने पछिल्लो समय शून्यप्रायः छ । संक्रमित र मृतकको संख्या मात्र गनिरहन व्यस्त छन् ।

पोखरा महानगरका मेयर मानबहादुर जिसीले कोरोना महामारीको डर कम हुँदै गएको अवस्थामा केही फितलो भएको बताए । ‘उबेला अब त कम भयो कि भनेर ब्याक भएका हौं,’ उनले भने, ‘अब नयाँ ढंगले अगाडि बढ्नु पर्छ भनेर लागिरहेका छौं ।’ अब अझै कडाइसाथ सुरक्षा मापदण्ड कार्यान्वयन गर्ने÷गराउने गरी कोभिड समितिसँग शुक्रबार छलफल गर्ने उनले बताए ।

‘तथ्यांक हेर्दा महानगरको सबै वडामा कोरोना संक्रमित देखिएकाले उच्च सतर्कता साथ अगाडि बढ्न आग्रह गरेका छौं । पहिले बनाएको आइसोलेसन चालू अवस्थामा छैन,’ उनले भने, ‘आजसम्म ठ्याक्कै यसरी जाने भनेर खाका तयार भएको छैन तर सबै वडामा सांकेतिक रुपमा देखिसकेको छ । यसबारे गम्भीर ढंगबाट अगाडि बढिरहेका छौं ।’

धेरै जना होम आइसोलेसनमा बसिरहेका जानकारी गराउँदै आइसोलेसनमा बस्न नसक्नेलाई संक्रामक तथा सरुवा रोग अस्पताल अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रिफर गर्ने गरेको बताए ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदबिन्दु शर्माले प्रदेशका जिल्ला अस्पतालमा कोभिड केस म्यानेज्मेन्ट कमिटी बनाएर अगाडि बढ्ने विषयमा सहमति भएको जानकारी दिए । जिल्लाका ५० भन्दा माथि बेड क्षमता भएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट संयोजक रहने गरी कमिटी बनाएर काम गर्ने सल्लाह भएको उनले बताए । प्रत्येक हस्पिटलमा कमिटी बनाएर सदस्यसँग कति आइसोलेसन, आइसियू र भेन्टिलेटर छन् भनेर जानकारी लिनुका साथै खाली र प्रयोगबारे दैनिक अपडेट गरिने जानकारी गराए । ‘हामीले अरु जिल्लामा पनि त्यही अनुसार सर्कुलेसन गरेका छौं,’ उनले भने, ‘आइसोलेसन क्षमता बढाउन आग्रह गरेका छौं ।’

प्रदेश सरकारको मातहतमा बनेको संक्रामक तथा सरुवा रोग अस्पताल भने कर्मचारी कम भएको गुनासो गरिरहेको छ । संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकाश गौचनका अनुसार प्रदेश सरकारले ५० शैड्ढयाको अस्तालमा अहिले ३४ जनाको भर्ना भएका छन् । ३४ जनालाई ६ जना नर्स, ल्याव टेक्निसियन ३, फार्मेसीमा ३, एक्सरेमा २, मेडिकल अधिकृत ६, कल्सल्टेन्ट ३ र ५ जना सहयोगीको भरमा हेरिरहेको निर्देशक डा. गौचनले जानकारी दिए ।

सामान्य अवस्थामा पनि ५० जना कोरोनाका बिरामी हेर्न अस्पतालमा सबै गरेर ८४ जना कर्मचारी आवश्यक पर्ने उनको भनाई छ । ‘अन्र्तराष्ट्रिय मापदण्ड अनुसार १ बेडमा १ सिफ्टमा ४ जना नर्स आवश्यक पर्छ,’ उनले भने, ‘हामीले विदेश जस्तो खोजेर त हँुदैन तर पनि अहिलेको अवस्थामा कमर्चारी कम नै छन् । कर्मचारी कम भएको जानकारी बेलाबेलामा सामाजिक विकास मन्त्रालयमा गराइरहेको उनले बताए । ‘यो विषयमा हाम्रो तालुकवाला निकायमा कुरा राखिसकेका छौं,’ उनले भने, ‘छलफल भइरहेको छ । संस्थाको संगठन र व्यस्थापनको प्रक्रिया लामो भएको हुनाले नियुक्ति गर्न समस्या भएको हो ।’

सामाजिक विकास मन्त्रालयको कुरामा आर्थिक मामिला तथा योजना मन्त्रालयले राय दिएपछि प्रदेश नीति तथा योजना आयोगले हेरेर दरबन्दी दिने प्रक्रिया लामो भएकाले तत्काल कर्मचारी भर्ना गर्न समस्या भएको उनी बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width