फैलिँदो महामारी, फितलो तयारी, पोखराका स्कुलमा वैशाखभित्रै परीक्षा 

धनबहादुर गुरुङ
वैशाख ९, २०७८
corona varient

पोखरा । कास्कीमा बुधबार थप १ सय ४३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार कास्कीमा मात्र ७९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा कुल ४ सय ६७ जनाको कोरोना परीक्षण गरिएकोमा कास्कीमा ७९, बागलुङमा ५०, स्याङ्जामा ६, तनहुँमा ४, पर्वतमा ३ र गोरखामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार प्रदेशमा ३९ जना निको भएका छन् । प्रदेशमा बुधबारसम्म १७ हजार ४ सय ६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १६ हजार ५ सय ३१ जना निको भईसकेका छन् । प्रदेशको ११ जिल्लामा अझै ६ सय ६४ जना सक्रिय संक्रमित छन् ।

कास्कीमा एकैदिन १ सय ४३ जनामा कोरोना संक्रमण, २ को मृत्यु

कास्कीमा बुधबार २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखरा महानगरपालिका २९ का ५४ वर्षीय महिलाको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनलाई बैशाख ५ गते कोरोना पुष्टि भएको थियो । बैशाख ५ गते नै कोरोना संक्रमित पोखरा ३३ का ८४ वर्षीय पुरुषको पनि बुधबार नै मृत्यु भएको छ । उनको संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट २ सय ११ जनाको मृत्यु भएको छ ।

यसैगरि नेपालमा थप थप २ हजार ३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा २ हजार ३ सय ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ८९ हजार ७ सय ८७ पुगेको छ । हाल नेपालमा े १० हजार ५ सय ८२ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३११२ पुगेको छ । यो कुल संक्रमितको १.०७ प्रतिशत हो ।

पोखराका स्कुलमा वैशाखभित्रै परीक्षा
पोखरा महानगरपालिका शिक्षा शाखाले महानगरभित्रका विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाएर परिक्षा सञ्चालन गर्न अनुरोध गरेको छ । बुधबार पोखरा महानगर शिक्षा शाखाले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । विज्ञप्तीमा १० गते पश्चात कार्य तालिका बनाएर वार्षिक परिक्षा बैशाख मसान्तसम्म सक्न भनेको छ । बढि भिडभाड नदिन आवश्यकताहरु २÷३ सिफ्टमा सञ्चालन गर्न सकिने लगाएतको ७ बुँदाहरु समेटिएको छ । यसका लागि शिक्षा महाशाखाले महानगरको ३३ वटै वडा कार्यालयहरुलाई अनुरोध पनि गरेको छ ।

रंगशाला प्रवेशमा रोक
कोभिड–१९ संक्रमण बढ्दै गएपछि पोखरा रंगशाला प्रवेशमा रोक लगाइएको छ । क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख ९ देखि वैशाख मसान्तसम्म पोखरा रंगशालामा सम्पूर्ण खेलकुद प्रशिक्षण, सभा, प्रतियोगिता लगायत गतिविधि सहित प्रवेशमा रोक लगाइएको जनाइएको हो । तर अन्तर्राष्ट्रिय सहभागिताका लागि सञ्चालित बन्द प्रशिक्षण र रंगशालाभित्र जारी निर्माण कार्य आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई जारी हुने छन् । विज्ञप्तिमा क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रकाश बरालले हस्ताक्षर गरेका छन् ।

चापाकोट नपामा काम बन्द
स्याङ्जाको चापाकोट नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द हुने भएको भएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै बुधबार विज्ञप्ती जारी गर्दै अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु एक साता बन्द हुने जानकारी दिएको हो । पछिल्लो समय नगरपालिकाका कर्मचारी, शिक्षक र समुदायमा संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख शिव कुमारी गिरीले जानकारी दिए । बैशाख १३ गतेसम्म नगर कार्यपालिका र वडा कार्यालयबाट हुने सम्पूर्ण सेवाहरु, पूर्व निर्धारित परीक्षा तथा शैक्षिक कार्यक्रमबाहेक शैक्षिक गतिविधीहरु र बैंक तथा बित्तिय संस्थाहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द रहने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नगरपालिकामा बन्द अवधिभर बजार क्षेत्रका अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु पूर्ण रुपमा वन्द गरिने छ । नगरपालिकाले अति आवश्यक कामबाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन र उच्च सतकर्ता अपनाउन नगरवासीमा आग्रह गरिएको छ ।

कुश्मा नपामा पनि काम नहुने
पर्वतको कुश्मा नगरपालिकाका सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट फैलनसक्ने अवस्थालाई ध्यानमा राखी नगरपालिका एक साता बन्द गरिएको हो । कार्यालयका प्रमुख प्रशाकीय अधिकृत कुमानसिंह गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबारदेखि लागू हुने गरी यही वैशाख १५ गतेसम्म सबै सेवा ठप्प पारिएको हो । कार्यालयबाट सम्पादन हुने नियमित सेवा योजना सम्झौता, योजना फरफारक, राजश्व सङ्कलन भुक्तानीलगायतका कार्य पूर्णरुपमा बन्द गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार अत्यावश्यक सेवा जस्तै स्वास्थ्य, फोहरमैला सङ्कलन, दमकललगायतका सेवा भने नियमितरुपमा सञ्चालन हुने भएका छन् । एक साता नगरपालिका बन्द हुँदा सेवाग्राहीमा पर्ने असरप्रति क्षमायाचना गर्दै कोभिड–१९ विरुद्ध संवेशनशील बन्न कार्यालयले आग्रह गरेको छ । यसैबीच जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै भिडभाड हुने सबै गतिविधि बन्द गर्न आग्रह गरेको छ । प्रहरीले मास्क लगाउने अभियानलाई प्रभावकारी बनाउन बजार क्षेत्रमा जाँचलाई कडाइ गरेको छ भने सवारीसाधनमा समेत आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

बालबालिका बढी प्रभावित
पछिल्ला दिनमा बालबालिकामा ज्वरो आउनेक्रम बढेसँगै तनहुँको शुक्ला गण्डकी नगरपालिकाका अभिभावक चिन्तित बनेका छन् । तनहुँको शुक्ला गण्डकी नगरपालिका– ७ स्थित शुक्ला आधारभूत विद्यालयमा एक सातअघि विद्यालयका १५ विद्यार्थीलाई एकैपटक ज्वरोको समस्या देखिएको थियो । विद्यालय प्रशासनबाट एकैपटक १५ जनालाई ज्वरो आएको जानकारी नगरपालिकाको शिक्षा शाखालाई आएसँगै यस सम्बन्धमा तत्काल स्वास्थ्य शाखा प्रमुखलाई जानकारी गराइएको शिक्षा शाखा प्रमुख नवराज चापागाईंले जानकारी दिए । उनका अनुसार ज्वरो आएका विद्यार्थीको पिसिआर परीक्षणका लागि स्वास्थ्य शाखाले चासो देखाए पनि केही दिनपछि विद्यार्थीको स्वास्थ्यमा सुधार आएको जानकारी आएको थियो । नगरपालिकाभित्रकै खैरेनी माध्यमिक विद्यालयमा करीब एक महीनाअघि एक शिक्षकमा कोरोना पोजेटिभ देखिएको थियो । पछिल्ला दिनमा शुक्लागण्डकीका क्षेत्रभित्रका केही विद्यालयमा बालबालिकालाई ज्वरोलगायतका स्वास्थ्य समस्या देखिन थालेको फाट्टफुट्ट सुनिने गरे पनि औपचारिकरुपमा भने त्यस्तो जानकारी नआएको उनले बताए । नगरपालिकाका स्वास्थ्य चौकी एवं केन्द्रमा पछिल्ला दिनमा रुघाखोकी तथा ज्वरोका समस्याका बिरामी भने बढ्दै गएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । यस समयमा मौसमी रुघाखोकी तथा ज्वरो पनि आउनसक्ने भएकाले सजग रहन र विद्यार्थी तथा शिक्षकमा ज्वरोलगायतका समस्या भएमा आफूहरूलाई तत्काल खबर गर्न भनेको उनले बताए । पछिल्ला दिनमा कास्की जिल्लाका साथै आसपासका जिल्लाबाट रुघा, खोकी र ज्वरोको समस्याका बिरामी आउनेक्रम दिनप्रतिदिन बढिरहेको गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालका अधिकृत कृष्ण पौडेलले जानकारी दिए । बिरामी हुनेमा अधिकांश स्कुले विद्यार्थी तथा अन्य बालबालिका रहेका छन् ।

महानगरमा नन मेडिकल आइसोलेसन मात्र
पोखरामा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दै गएको छ । पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट फैलिएको अवस्थामा भने महानगरको तयारी भने फितलो देखिएको छ । पहिले तयारी अवस्थामा राखिएका क्वारेन्टिन र आइशोलेसन सेन्टरको अवस्था चालु अवस्थामा छैनन् । पछिल्लो समय महानगरले बनाएको आइशोलेशन कक्षमा कोरोना संक्रमितको संख्या शून्य रहेको पोखरा महानगर स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त पौडेलले बताए ।
‘हामीले पहिला बनाएका नन मेडिकल आइसोलेसन हो,’ उनले भने, ‘अहिलेको अवस्थामा धेरै होम आईसोलेसन मै बस्न खोज्छन् त्यहीकारण आइशोलेसनमा कोरोनाका बिरामी छैनन् ।’ होम आइसोलेसनमा बस्न समस्या भएका बिरामीहरुलाई सरुवा तथा संक्रामक रोग अस्पताल पठाउने गरिएको उनले जानकारी दिए । कोरोना रोकथाम समितिमा अब कसरी बढ्ने भनेर सल्लाह भइरहेको उनले बताए । ‘महानगरमा नन मेडिकल आइसोलेसन मात्र छ,’ उनले भने,’ मेडिकल ट्रिटमेन्ट सहितको आईसोलेसन छैन ।’ महानगरमा मानव स्रोत लगायत धेरै जटिलता भएका कारण आफुहरुले सरुवा तथा संक्रामक रोग अस्पताल पठाउने गरिएको र अब के गर्ने भन्ने विषयमा आफूहरुको सोच मात्र रहेको उनको भनाई छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश भने आफुहरु आईसोलेसन तयार गर्नका लागि नियमित अस्पतालहरुसँग सल्लाहमा रहेको बताउँछ । पोखरा भित्रका ५० भन्दा बढि बेड भएका अस्पतालहरुसँग मिटिङ बस्ने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । ‘पोखरामा भएका मणिपाल, गण्डकी, चरक, फिस्टेल, मेट्रोसिटी लगायत ५० भन्दा बढी बेड भएका अस्पताललाई खबर गरिसकेका छौं,’ उनले भने, ‘बिहीबार हामी उहाँहरुसँग एक पटक मिटिङमा बस्छौ, अनि कति बेड आईसोलेसनका लागि छुट्याउने कन्फर्म हुन्छ ।’ पछिल्लो समय बिद्यार्थीहरुमा कोरोना संक्रमण देखिएका कारण विद्यालय बन्द भएपछि केही संक्रमण दर घट्न सक्ने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width