पोखरा । महानगरले पोखराका महत्वपूर्ण सम्पदाहरु सेती नदी र पाताले छाँगो ४० वर्षका लागि निजी कम्पनीलाई ठेक्कामा दिने निर्णय गरेको छ । पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत २ सम्पदा लामो समयका लागि ठेक्का दिने निर्णय गरेको हो ।
चैत २७ गते बसेको कार्यपालिका बैठकले निर्णय गरेर अहिले सम्झौताको अन्तिम चरणमा छ । दुवै आयोजना सेती क्यानोन प्रालि नामको कम्पनीलाई दिन लागिएको हो । महानगरले सुरुमा निजी कम्पनीसँग मनसायपत्र मागेको थियो । प्रस्तावित मनसायपत्र हेरेर उपयुक्त कम्पनी छानेको महानगरले जनाएको छ । सेती नदी र पाताले छाँगो सँगै सराङकोट डाँडामा पार्क, फेवा र बेगनास तालमा वाटर स्पोर्टस्, होर्डिङ बोर्ड लगायतका आयोजना छनोट गरेर लामो समयका लागि ठेक्का दिने तयारी थियो । पहिलो चरणमा २ वटा सम्पदामा मात्रै ठेकेदारको नजर प¥यो । सेती खोंच र पाताले छाँगोबाहेकका आयोजना भने रद्द गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ । फेवाताल र बेगनासतालको वाटर स्पोर्टस् आयोजनाको पुन प्रक्रिया थाल्ने निर्णय भएको छ ।
कम्पनीले सेती नदीमा साहसिक पर्यटकीय पूर्वाधार बनाउन १ अर्ब ५८ करोड लगानी गर्ने मनसायपत्र बुझाएको छ । पाताले छाँगोमा भने ५० करोड लगानी गर्ने कम्पनीको दाबी छ । ‘सम्झौता पत्र तयार हुँदै छ । मोटामोटी समय र लगानी टुंगिएको छ । सम्झौतापत्र बनेपछि ट्वाक्कै आउँछ, महानगरका सार्वजनिक निजी साझेदारी कार्यक्रमका फोकल पर्सन महेन्द्रबहादुर गोदारले भने, ‘कार्यपालिकाले ठेक्का सम्झौताको निर्णय गरेको छ । आन्तरिक प्रक्रिया भइरहेको छ ।’
सेती खोंचबाट सम्झौता मितिदेखि ५ वर्षसम्म ५० लाख र कूल आम्दानीको ५ प्रतिशत महानगरलाई ठेकेदार कम्पनीले बुझाउनुपर्नेछ । ६ देखि १० वर्षसम्म ७५ लाख, ११ देखि १५ सम्म १ करोड, १६ देखि २० सम्म १ करोड २५ लाख, २१ देखि २५ सम्म १ करोड ५० लाख, २६ देखि ३० सम्म १ करोड ७५ लाख र ३० देखि ४० वर्षसम्म २ करोड वार्षिक र थप ५ प्रतिशत आम्दानी दिनुपर्छ । गाईघाटदेखि दोबिल्लासम्मको ८.६८ किलोमिटर क्षेत्र सम्झौता मितिदेखि ठेकेदार कम्पनीको हुनेछ । खोंचमा बन्जीजम्प, वाटर फल्स, क्यान्टिलिवर पुल, स्टिम बोट, क्याफे, बोटानिकल पार्क बनाउने प्रस्ताव छ ।
पाताले छाँगोमाथि सिसाको पुल बनाउने योजना छ । पाताले छाँगो भएको ४ हजार २ सय १५ वर्ग मिटर र फेवा बाँधसम्म पार्दी खोलाको १.५ किलोमिटर क्षेत्र ठेकेदार कम्पनीले चलाउन पाउनेछ । आयोजनाबाट आउने आम्दानीमध्ये बर्सेनि ५ देखि १० प्रतिशत र थप २ करोडका दरले हरेक वर्ष महानगरलाई बुझाउने ठेकेदार कम्पनीले लिखित प्रतिबद्धता गरेको छ । महानगरले रामघाट र मोरे खहरेको ठेक्का प्रक्रिया पनि अघि बढाएको छ ।
महानगरको नेतृत्वले स्वार्थमा लागेर सम्पदा बेच्न लागेको भन्दै सम्पदा संरक्षणका अगुवाहरुले भने विरोध जनाएका छन् । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले महानगरको यो निर्णयप्रति विरोध जनाएको छ । ‘सेती नदीको डिल र किनार अत्यन्त कमजोर भू अवस्थामा छन् । यसले ठूलो क्षति निम्त्याउने लगभग निश्चित छ,’ संस्थाका महासचिव सुनील पाण्डेले भने, ‘महानगरको अबाञ्छित र गैरजिम्मेवार कामबाट हामी दुखी छौं । संवेदनशील क्षेत्र कौडीको मूल्यमा अमुक प्रालिलाई सुम्पिनु किमार्थ जायज छैन । यो सम्झौता नगरियोस् ।’ आफूहरुको विरोधकै बीच ठेक्का सम्झौता गर्न लागिएको कांग्रेसका सचेतक रामराज लामिछानेले पनि बताए । ‘कांग्रेसको यसमा सहमति छैन । हामीले नोट अफ डिसेन्ट लेख्न खोज्दा माइन्युट दिइएन,’ उनले भने, ‘यो सरासर गलत छ । यति लामो समय महत्वपूर्ण सम्पदा निजीकरण गर्नु राम्रो होइन ।
सम्झौताको तयारी गरेको थाहा पाएपछि बुधबार नै नागरिक अधिकारकर्मीहरुले मेयर मानबहादुर जिसीलाई भेटेर ध्यानाकर्षण गराएका छन् । भूगोेलका जानकारहरुले सेती खोंच र पाताले छाँगो संवेदनशील क्षेत्र भएकाले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्यांकन नगरी ठेक्का नदिन सुझाएका थिए । वातावरण बिगार्ने गरी सस्तोमा सम्पदा सुम्पिन लागेपछि महानगरको निर्णयप्रति धेरैले आलोचना गरेका छन् । पोखरामा सार्वजनिक निजी साझेदारी कार्यक्रम पहिले नै सबैभन्दा असफल मानिएको छ ।
मेयर मानबहादुर जिसीले नयाँ पर्यटकीय गन्तव्य थप्न नयाँ अवधारणा ल्याएको बताए । ‘पोखरामा घुम्ने ठाउँ कम छ । पर्यटक धेरै दिन भुल्न सकेनन्,’ उनले भने, ‘फेवाताल र माछापुच्छ«े हेर्नेबाहेक कहाँ घुम्ने ? अब कम्तीमा नयाँ ठाउँ देखाएर पर्यटक बोलाउनुपर्छ ।’ उनले वातावरणलाई असर नपर्ने गरी आयोजना सञ्चालन हुने बताए । ‘प्रकृतिको दोहन गरेको होइन, उपयोग गरेको हो । जोखिम मूल्यांकन गरेरै गुणस्तरीय काम गर्न ठेकेदार कम्पनी तयार छ,’ उनी भन्छन्, ‘अब पोखराका लागि रिस्क लिनुपर्छ । सम्पदा छ भनेर मात्रै हुँदैन । त्यसको उपभोग पनि गर्न पाउनुपर्छ ।’ ठेकेदारले गल्ती गरे ठेक्का तोड्ने अधिकार महानगरलाई भएको भन्दै यो सम्झौताले घाटा नहुने सुनाए ।
Related News
सम्बन्धित समाचार
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
hero news full width
मुख्य समाचार
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१