गण्डकीमा १०७ परीक्षणमा ३२ मा कोरोना

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७८
corona varient

पोखरा, ७ वैशाख । गण्डकी प्रदेशमा १ सय ७ पिसिआर परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित प्रदेशमा कुल संक्रमित संख्या १७ हजार २ सय ६३ पुगेको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता प्रदेश स्वास्थ्य निर्देशनालय निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार गएको २४ घण्टामा १ सय ७ नमुना परीक्षणमध्ये पोखराका मात्रै २३ जनामा कोभिड–१९ पुष्टि भएको हो । साथै नवलपुरका ५, म्याग्दी र तनहुँका २/२ जनामा संक्रमण देखिएको छ । पोखराको लाइफ केयर एन्ड डायग्नोस्टिक प्रालि र नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा कास्कीका ६४, नवलपुरका २४, म्याग्दीका १२ र तनहुँ ६ जनाको नमुना परीक्षण भएको हो ।

प्रदेशमा अझै पनि ५ सय ६२ सक्रिय संक्रमित छन् भने ५ सय २२ जना होम आइसोलेसनमा छन् । २४ घण्टा अवधिमा २१ जना निको भएका छन् । कुल निको हुनेको संख्या १६ हजार ४ सय ९२ छ ।

देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय ३८ परीक्षणमा आरटी–पीसीआरबाट १ हजार ६६७ जना र एन्टिजेनबाट ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ । तीमध्ये २ लाख ७५ हजार ८ सय ६ निको भएका छन् । पछिल्लो २४ घण्टामा २ सय ५१ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । निको हुने दर ९५.९५ रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ६ सय ५९ रहेको मन्त्रालयले जनाएको छ । कोरोनाले थप ११ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३ हजार १ सय २ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width