अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७८
annapurna gaupalika progrem photo

हेमजा । अन्नपूर्ण गाउँपालिकाका सुत्केरीलाई कुखुरा र कम्बल प्रदान गरिएको छ । ‘उपाध्यक्षसँग सुत्केरी’ कार्यक्रम अन्तर्गत उनीहरुलाई जनही २ वटा पोथी कुखुरा र १ थान कम्बल प्रदान गरिएको हो । अन्नपूर्ण ६ का १० जना, ७ का १० जना, ८ का ७ जना यो कार्यक्रमबाट लाभान्वित भइसकेका छन् ।

यही वैशाख ९ गते वडा नं.४ मा, ११ गते ९ मा, १२ गते १० र ११ मा तथा १३ गते वडा नं. १, २ र ३ मा कार्यक्रम सञ्चालन गरिनेछ । प्याकेजमा प्रति गोटा १ हजार ५ सय पर्ने अण्डा पार्ने २ वटा कुखरा र १ हजार ३ सयको कम्बल छ ।

सुत्केरीको स्वास्थ्यलाई ख्याल गर्दै दिगो आर्यआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ कार्यक्रम गरिएको उपाध्यक्ष सगुन गुरुङले जानकारी दिइन् । लक्षित समूहका लागि चालु आवमा पालिकाले १० लाख विनियोजन गरेको छ ।

सो समूहको सुविधा पाउन अन्नपूर्ण गापाको स्थायी बासिन्दा हुनुपर्ने, गर्भावस्थामा कम्तीमा ४ पटक सरकारी स्वास्थ्य संस्थामा जाँच गरेको प्रमाण पेस गर्नुपर्ने तथा सम्बन्धित वडाको स्वास्थ्य स्वयंसेविकाले सिफारिस गर्नुपर्ने हुन्छ ।

संघीयता अनुसार घरघरमा सिंहदरवार पुगेको महसुस गराउन यो कार्यक्रम प्रभावकारी बनेको गाउँपालिकाको विश्वास छ । कारणवश बच्चा खेर गएमा वा उमेर नपुगी बच्चा जन्माएकाले पनि यो सुविद्या प्राप्त गर्न सक्नेछन् । गाउँपालिकाले १ सय बढी महिला सो कार्यक्रमबाट लाभान्वित हुने अनुमान गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width