‘घर जलेर खरानी भो’

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७८
aagolagi

दमौली। भैँसी र बाख्राको गोठ छेवैमा अस्थायी रूपमा खरले छाएको टहरा छ । ६ वटा काठको खाँबामा एककोठे बराबरको टहरामुनि भुइँमा ओछ्यान लगाइएको छ । वरपर पूरै खुला छ । स–साना केटाकेटी सहित ९ सदस्यीय परिवार त्यहीँ टहरामुनि बास बस्न बाध्य छ ।

आगोको झिल्कोले हेर्दादेर्है घर खरानी भयो

८ दिन भयो घर जलेर खरानी भएको । शरीरमा लगाएको लत्ताकपडा र केही आवश्यक कागजात बाहेक केही बचाउन सकिएन । चैत ३१ गते आँबुखैरेनी गाँउपालिका ६ का सन्त भुजेलको घर आगोले जलेर पूर्णरूपमा क्षति भएको हो ।
वर्षको नयाँ दिन सबैको घरघरमा मिठोमसिनो पाक्यो । हषोल्लासका रुपमा नयाँ वर्ष मनाए तर भुजेलको घरमा न त चुल्यो नै बल्यो न केही खाने कुरा पाक्यो ।

अग्निपीडित भुजेलले दुखेसो पोख्दै भने, ‘छिमेकीको सहयोगमा आधापेट भएर पनि खाएर बसियो । खरको छानोमा आगोको झिल्को पर्दा हेर्दादेर्है घर खरानी भयो । नयाँ वर्षमा घर न घाटको भयौं ।’

घरभित्रका लत्ताकपडा, खानेकुरा आगलागीमा परेर नष्ट भए । सो घटनापछि पीडित परिवार टहरामा बस्न बाध्य भएका हुन् । आगलागी हुँदा झण्डै ५ लाख बराबरको पूर्णरुपमा क्षति पुगेको उनले बताए ।

भुजेल परिवारको दयनीय अवस्था थाहा पाएपछि जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं भुजेल समाज तनहुँका सचिव पृथ्वी भुजेलले सहयोग संकलन अभियान सुरु गरेका छन् । उनको अभियानमा संकलित खाद्यान्न तथा लत्ताकपडा सोमबार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । पीडित परिवारलाई ३ बोरा चामल, दाल, तेल, लत्ताकपडा, भाडावर्तन सहयोग गरिएको छ । पीडितका लागि घर निर्माण गर्न जस्तापाता जुटाउने अभियान पनि सुरु भएको भुजेलले बताए ।

नेपाल आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष वसुन्धरा घर्ती, जिल्ला खेलकुद विकास समिति तनहुँका सचिव तुल्सीराम पाण्डे, ललित पाण्डे, खुमबहादुर थापा, चूडामणि थापा, कमला भुजेल, विमला भुजेल लगायतले पीडित परिवारका लागि सहयोग गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width