समस्याको जड केपी ओली : डा. डिला संग्रौला

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७८
Dr. Dila Sangraula Photo

पोखरा । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले सत्तारुढ दल नेकपा एमालेले लोकतन्त्र र संसदीय मुल्य मान्यतालाई भत्काउने कार्य गरेको उनले आरोप लगाइन् । सोमबार नेपाल प्रेस युनियनले पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले आफैले भंग गरेको संसद पुनस्र्थापित भएपछि थोरै पनि नैतिकता भएको भए राजीनामा दिनुपर्ने थियो’ भन्दै उनले अब उनलाई नैतिकताको पाठ सिकाउने बेला आएको बताइन् । प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादको मुकुण्डो भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले उदांगो परिदिएको बताएकी छन् ।

‘समृद्धि र राष्ट्रवादका ठूलठूला गफ दिने प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारतीय गुप्तचर प्रमुखले मध्यरातमा भेटेर के के गरेको कुराले उदांगो भएको छ । उनको राष्ट्रवादलाई अब नेपाली नागरिकले चिनिसकेका छन्,’ उनले भनिन् ।

प्रधानमन्त्री ओलीले जनतालाई भ्रमित पारेको भए पनि विस्तारै त्यो उदांगिदै गएको उनले बताइन् । गण्डकी प्रदेशमा हिउँदे अधिवेशन चालु रहेको अवस्थामा मध्यरातमा अधिवेशन अन्त्य गर्नु अलोकतान्त्रिक भएको बताइन् । कर्णाली प्रदेशबाट विपक्षी दलहरुको सहकार्यको यात्रा अगाडि बढेको उनको भनाइ छ । गण्डकी प्रदेश हुँदै केन्द्र र अन्य प्रदेशमा पनि सहकार्यले निरन्तरता पाउने उनको भनाइ थियो ।

नेतृ संग्रौलाले वर्तमान सरकारले हत्या हिंसा रोक्न, महिला हिंसालाई नियन्त्रण गर्न नसकेको अरोप लगाइन् । पीडितले न्याय नपाउने अनि पीडकहरु खुल्ला रुपले हिँड्दा त्रास बढाउने काम गरेको उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width