पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७८
winner

पोखर। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६÷७७ को वर्ष उत्कृष्ट खेलाडी (पुरुष) विधामा ३ खेलाडी मनोयनमा परेका छन् । करातेका नवीन रसाइली, टेबल टेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल मनोनयनमा परेसँगै उनीहरुके चर्चा सुरु भएको छ । तीमध्ये १ जनाले वैशाख २० मा वर्ष उत्कृष्ट खेलाडी घोषितसँगै २ लाख नगद पुरस्कार जित्ने छन् । उनीहरुको संक्षिप्त परिचय कस्तो छ त हेरौं ।

कराते खेलाडी नवीन रसाइली (२३) साग विजेता हुन् । गत वर्ष भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा ६७ केजी तौल समूहमा उनले स्वर्ण जित्दै देशको नाम चम्काएका थिए । संघर्षपूर्ण जीवन बाँच्दै आएका यी स्वर्णधारी यतिबेला पुनः चर्चामा छन् ।

आफू मनोनयनमा परेकोमा खुसी व्यक्त गर्दै नवीनले भने, ‘दुःख गरेमा फल अवश्य पाइने रहेछ । मेरो लक्ष्य अझै ओलम्पिकमा सहभागी हुनु हो ।’ त्यसैले उनी यतिखेर ललितपुरमा तालिम गरिरहेका छन् । बिहानीको समय राष्ट्रिय टिमसँग तालिममा व्यस्त उनी दिउँसो बालाजु कराते डो एकाडेमीमा आबद्ध छन् । बालाजुमा उनी २०६६ देखि नै आबद्ध छन् । उनलाई ध्रुवविक्रम मल्लले कराते सिकाएका हुन् ।

सानैदेखि कराते खेल्दै आएका उनी स्वर्ण पदक जित्नुलाई जीवनको अहोभाग्य ठान्छन् । भन्छन्, ‘पदक जित्नु आफ्नो लागिमात्रै हैन, राष्ट्रकै इज्जत रहन्छ । विदेशमा यसको छुट्टै भ्यालु छ । नेपालमा अझै पनि खेल र खेलाडीको भविष्य सुनिश्चित हुन सकेको छैन ।’

बागलुङको बोंगादोभान–२ मा २०५५ मा जन्मिएका नवीनले सन् २०११ मा ब्ल्याक बेल्ट प्राप्त गरेका थिए । बंगलादेशमा भएको पाँचौं साउथ एशियन कराते च्याम्पियनसीपमा एकलतर्फ कास्य र टिम इभेन्टमा रजत पदक विजेताका नाम पनि उनकै नाममा छ ।

सन् २०१४ मा सम्पन्न साउथ एशियन क्याडेट÷जुनियर तथा सिनियर कराते च्याम्पियनसीपमा उनी ६८ केजी तौल समूहमा प्रथम हुन सफल भएका थिए । उनले भाग लिएका एक दर्जन बढी विभिन्न प्रतियोगितामा कुनै न कुनै पदक जित्दै आएका छन् । सन् २०१० मा काठमाडौंमा भएको कराते प्रतियोगितामा उनले स्वर्ण जितेका थिए ।

टेबल टेनिस खेलाडी विनेश खनियाँ (२७) नेपाल प्रहरीमा आबद्ध छन् । १३ औं सागमा उनले टिम इभेन्टमा रजत र मेन्स डबल्सतर्फ कास्य पदक जित्न सफल भएका थिए । साथै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता गोल्डसहित ३ पदकधारी हुन् ।

सन् २००८ देखि यस खेलमा आबद्ध उनको जन्म लमजुङको दुराडाँडा (हाल सुन्दरबजार नगरपालिका) मा भएको हो । बावु गोविन्दराज खनियाँ र आमा निर्मला खनियाँका २ सुपुत्रमा उनी कान्छा हुन् । सर्वोदय मावि पढ्दाताका दाइहरुले टेबलटेनिस खेलेको देखेर नजानिँदो पारामा यसप्रति उनमा मोह जागेको बताउँछन् । पछि उनको प्रतिभा फुल्ने अवसर काठमाडौंको सिद्धार्थ वनस्थलीमा पुगेर भयो । त्यहाँ उनलाई प्रशिक्षक सुरेन्द्र सुवालले तालिम दिए ।

बिबिएस उत्तीर्ण विनेश खेलकै सिलसिलामा विभिन्न देश पुगेका छन् । सन् २०१७ मा बंगलादेशमा आयोजित साउथ एशियन क्लबमा रजत पदक जितेर देशको नाम चम्काएका थिए । यस्तै सन् २०१८ मा मलेसियामा भएको १३ औं युआईटिएम इन्टरनेशनल स्पोर्टस् फेस्टामा उनले गोल्ड मेडल जित्न सफल भए । आठौं राष्ट्रिय खेलकुदमा उनले स्वर्ण (मेन्स डबल्स), रजत (मिक्स डबल्स्) र कास्य (मेन्स् टिम) जितेका हुन् ।

राष्ट्रिय करिब ३ दर्जन तथा अन्तर्राष्ट्रियस्तरका झन्डै एक दर्जन प्रतियोगिता खेलिसकेका उनी हंगेरी, अष्ट्रेलिया, क्रोयसिया, थाइल्याण्ड, मलेसिया, बंगलादेश, कोरिया, भारत लगायत देश पुगेका छन् ।

कोभिड–१९ का कारण खेल क्षेत्रमा प्रभाव परेको बताउने उनी हाल काठमाडौं लैनचौरस्थित कभर्डहलमा आफूभन्दा सानालाई प्रशिक्षण दिन्छन् । प्रहरी सेवामा उनी २०७३ सालदेखि आबद्ध भएका हुन् ।

काठमाडौं जिल्ला टेबलटेनिस एसोसिएसनका कार्यसमिति सदस्य समेत रहेका उनले ओलम्पिक सोलिडारिटी कोर्स, कोचका लागि टेक्निकल कोर्स, आईटिटिएफ–पिटीटी लेभल कोर्स गरेका छन् ।

पहिलाको तुलनामा अहिले खेल क्षेत्र धेरै विकास भइरहेको उनी बताउँछन् । विनेश भन्छन्, ‘खेल क्षेत्रमा खेलाडी आकर्षित गर्न सरकारले वैदेशिक तालिम दिनुका साथै खेलाडीको भविष्य सुनिश्चित गर्ने कार्यक्रम ल्याउनुपर्छ ।’
सुमन अर्याल नवलपुरको दुम्कीवास निवासी हुन् । सानैदेखि फुटबलप्रेमी उनको सहभागिता यु–१६ साफ च्याम्पियनसीपबाट भयो ।

५ वर्षअघि भएको सो प्रतियोगितामा क्वार्टरफाइनलसम्म नेपाल पुग्न सकेको थियो । १३ औं सागमा यु–२३ मा नेपाललाई स्वर्ण दिलाउन उनको पनि योगदान छ ।

हाल जारी वल्र्ड कप क्वालिफाई राउण्ड खेल्दै गरेका छन् । तर अहिले भने केही समयदेखि कोभिड–१९ का कारण रोकिन पुगेको छ । यु–१८ साफ च्यापियनसीप, भुटानमा सहभागी नेपालले स्वर्ण जित्दा उनको पनि योगदान छ । नेपालले त्यसबेला भारतलाई फाइनलमा हराउँदै उपाधि जितेको थियो ।

उनले एन्फामै तालिम लिएका हुन् । ४ वर्षदेखि उनी नेपाल आर्मीमा आबद्ध छन् । आर्मी टिमबाट आहारारा गोल्डकप खेल्न यी डिफेन्डर पोखरा रंगशाला समेत आएका थिए । त्यसबेला आर्मीले फाइनल यात्रा तय गरेको उनको स्मरण छ ।
सुमन भन्छन्, ‘पहिलेको तुलनामा अहिले खेल क्षेत्रमा लाग्नेलाई राम्रो अवसर छ । खेलाडीलाई अझै राम्रो सुविधा दिइयो भने आगामी दिनमा राम्रो गर्न सक्छन् ।’

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width