मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७८
sitaladevi ~krishna sir

पोखरा। स्याङ्जाको फेदीखोला गाउँपालिका वडा ४, राम्चेस्थित शीतलादेवी गोरखा मनकामना जस्तै शक्तिशाली छन् भन्ने गहिरो विश्वास स्थानीयको छ ।

स्थानीयमात्र होइन, दुःख आपत पर्दा शीतलादेवीलाई भाकल गर्ने र मनोकांक्षा पूरा भएपछि पूजा गर्न आउनेको राम्चेमा भीड नै लाग्छ । भाकल नभए पनि शीतलाको दर्शनले मन नै शीतल पारिदिएको अनुभव पनि धेरैको छ ।

स्याङ्जाको राम्चेमा चैतेदसैं मेला सुरु भएको छ । देवीदर्शनको लागि दसैं महत्वपूर्ण बेला हो ।

पाेहाेर कोरोनाका कारण राम्चेमा मेला लाग्न सकेन । यस वर्ष भने कोरोनालाई मिचेरै मेला सुरु भएको हो । मन्दिर जान चाहने भक्तजनलाई कसैले रोक्न सक्ने कुरै भएन । मास्क लगाएर सामाजिक दूरी कायम गर्दै पञ्चबाजा सहित पञ्चवली दिन जानेको लर्को पनि राम्चेमा देखियो ।

फेदीखोला गाउँपालिकाको सहयोगमा भएको विद्युत् जडान र मन्दिर परिसर नजिकै निर्मित हेलीप्याडको मंगलबार उद्घाटन कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समिति सल्लाहकार मेजर दिलबहादुर गुरुङले जानकारी दिए ।

मन्दिरमा चैतेदसैं, ठूलोदसैं, शिवरात्रि, बालाचतुर्दशी र उधौली उभौलीमा विशेष पूजा हुने समितिका अध्यक्ष राजकुमार ढकालले बताए ।

अध्यक्ष ढकाल भन्छन्, ‘शीतला पूजा गरेरमात्र गाउँमा बाली लगाउने र थन्क्याउने यहाँको चलन छ । दसैंमा गलेम, राँपु र गुनाखामुहाले तीनगाउँ मिलेर समुच्च रुपमै पञ्चबली दिने गरिन्छ । भक्तजनले गरेको दान नै मन्दिरको मुख्य आम्दानी हो । गुठी छैन ।

अनादिकालदेखि पूजा हुँदै आएको शीतलादेवी मन्दिरको २०३४ सालमा भक्तहरुबाटै पुनर्निर्माण भएको हो । त्यसपछि सिढी निर्माण, ठाँटी निर्माण, शौचालय निर्माण भएका छन् । स्थानीयको गुनासो छ, ‘पानीको समस्या छ ।’

ढिकीचौरमा प्यालाग्लाइडिङ सञ्चालन गर्ने योजना रहेको मेजर दिलबहादुर गुरुङ बताउँछन् । त्यसले गलेमको पर्यटकीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने मेजर गुरुङको विश्वास छ ।

स्याङ्जा, कास्की र पर्वतका धेरै स्थानहरुको अवलोकन गर्न सकिने राम्चेमा धेरै पर्यटकीय सम्भावना रहेका छन् ।
राम्चे शीतलादेवी पुग्न पोखरादेखि स्याङ्जाको सर्केटारी हुँदै गलेम देउरालीसम्म मोटरबाटो १ घण्टामै पुग्न सकिन्छ ।

त्यसैगरी देउरालीदेखि झोप्राङ, ओढारेढुंगा, राम्चेदेउराली र ठाँटी हुँदै १ घण्टाको पैदलयात्रामा मन्दिर पुगिन्छ ।
दायाँ बायाँ अवलोकन गर्दै उक्लिँदा थकाइ महसुस नै नहुने यात्रुहरु बताउँछन् ।

भलिबल प्रतियोगिता सुरु


छैटौं चैतेदसैं मेला–२०७८ अवसरमा राम्चेमा भलिबल प्रतियोगिता पनि सुरु भएको छ ।
प्रतियोगिताको शीतलादेवी मन्दिर व्यवस्थापन समिति अध्यक्ष राजकुमार ढकालले उद्घाटन गरे ।
१० टिम सहभागी प्रतियोगिताको फाइनल मंगलबार हुने मेला आयोजक समिति अध्यक्ष दीपेन्द्र पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • रोजगार खोज्दै मेलामा

    विजय नेपाल वैशाख १२, २०८१
    पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन्…
  • कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    चितवन । चितवनमा रहेका २ हात्ती कतारलाई उपहारस्वरुप पठाउने तयारी गरिएको छ । कतारका अमीर (राजा) शेख तमिम बिन हमाद…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…

hero news full width