कुर्सी जोगाउन मुख्यमन्त्री गुरुङ काठमाडाैंमा दाैडधूप, पाएका छैनन् सकारात्मक संकेत

प्रकाश ढकाल
वैशाख ५, २०७८
Gandaki cm ps gurung (3)

पोखरा । पद जोगाउने प्रयत्नमा काठमाडौं पुगेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ राजनीतिक भेटघाटमै छन् । काठमाडौं जानुअघि पत्रकारसँग उनले कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी लगायत पार्टीका केन्द्रीयस्तरका नेतालाई भेटेर आफ्ना कुरा राख्ने बताएका थिए ।

काठमाडौं पुगेका मुख्यमन्त्री गुरुङले सकारात्मक साथ कसैबाट पाएका छैनन्

मुख्यमन्त्रीले भने झैं केन्द्रीय नेताहरुसँग ‘वान टु वान’ वार्ता भने हुन पाएन । गुरुङ सरकारको मुख्य सारथि राष्ट्रिय जनमोर्चाले साथ छोडेपछि उनी अल्पमतमा छन् । स्वतन्त्र सांसदले सहयोग गर्दा पनि २८ अंकमा रहेका गुरुङले जसरी पनि आफू विरुद्ध ३१ मत पुग्नबाट रोक्नुपर्छ । त्यसको झिनो आशा जनमोर्चा नै हो । जनमोर्चाका संसदीय दलका नेता समेत रहेका कृष्ण थापा केन्द्रीय नेतृत्वको निर्णयमा खासै सन्तुष्ट छैनन् ।

पद जोगिने आशा बोकेर काठमाडौं पुगेका गुरुङले सकारात्मक साथ भने कसैबाट पनि पाएका छैनन् । उनी काठमाडौं जानु अघि नै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भैरहवा लागेका छन् । ‘फोनमा प्रशस्तै कुरा भएको छ । लामै कुरा गरेर मैले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ, दायाँ बायाँ चल्न मिल्दैन भन्देको छु,’ केसीले आदर्श समाजसँग भने, ‘मलाई भेटेर कुनै अर्थ छैन । त्यसबाहेक नयाँ कुरा हुँदैन ।’ गुरुङ आफूलाई भेट्न नभई प्रधानमन्त्री ओलीसँग राय लिन काठमाडौं आएको भन्दै उनले आफूहरु निर्णयबाट पछि नहट्ने बताए । केसीले पार्टीको निर्देशन आफ्ना सांसदले दायाँबायाँ नगरी कार्यान्वयन गर्ने दाबी गरेका छन् ।

कर्णालीमा एमाले (नेपाल समूह) ले जस्तै गण्डकीमा माओवादी केन्द्रका सांसदले ‘फ्लोर क्रस’ गर्न सक्ने अडकलबाजी केहीको छ । माओवादीका केही केन्द्रीय नेताहरु एमालेतिर लागेपछि त्यसको छाया गण्डकीसम्म देखिएको थियो । तर पार्टी छोड्ने निर्णयमा कोही पनि पुगेका छैनन् । तथापि केही सांसदहरु एमालेसँग लचक भएकाले आशंका स्वभाविक मानिन्छ । माओवादी केन्द्रका संसदीय दलका नेता तथा पूर्व मन्त्री हरिबहादुर चुमान माओवादीका कुनै पनि सांसद तलमाथि नहुने बताउँछन् । ‘कल्पनाभन्दा बाहिरको कुरा हो । त्यस्तो सम्भावना यता छैन,’ उनले भने, ‘माधव नेपाल समूहलाई त ओलीले खपिखानै नगरेको भएर त्यो देखिएको हो । माओवादीमा त्यस्तो समस्या छैन । हामी एक ढिक्का छौं । जनयुद्धको सुरुआत गर्ने, लगातार आन्दोलन गर्ने, बलिदान गर्नेले पार्टी बाहिर जान सक्दैन ।’

आफ्नो सुझाव मुख्यमन्त्रीले नमान्दा वर्तमान परिस्थिति आएको चुमानको भनाइ छ । ‘अवस्था बिग्रिँदै गएपछि नेतासँग सल्लाह गर्नुस् भनेको हो । मान्नुभएन । हिम्मत नै गर्नु भएन,’ उनी भन्छन्, ‘प्रस्ताव दर्ता हुन्छ पनि भन्देको थिएँ । तात्नु भएन । बिग्रिसकेपछि भन्नु भयो । धेरै पर पुग्यो, ढिलो भयो भनिदिएँ ।’ युद्ध लडेर आएका सांसद माओवादीमा भएकोले विगत बिर्सिन नसक्ने उनले बताए ।

गण्डकीमा एमालेभित्रै माधव समूहका सांसद पनि छन् । इन्द्रलाल सापकोटाले मुख्यमन्त्री विरुद्ध ‘फ्लोर क्रस’ गर्ने अनुमान पनि छ । सापकोटाले चाहिँ त्यो अवस्थामा आफू नरहेको सुनाए । ‘पार्टीको नेतृत्वले कुनै सर्कुलर गरेको छैन । सायद त्यो अवस्थामा म पुग्दिनँ,’ उनले भने, ‘विचार फरक हुन सक्छ । तर फ्लोर छोडेर जानु सहज कुरा होइन ।’ कर्णाली घटनालाई उनले ओली प्रवृत्तिको अतिवाद विरुद्धको सन्देशका रुपमा तर्क गरे । कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरेर माओवादी र जनता समाजवादी पार्टी समेतका सांसदहरुको हस्ताक्षर सहित मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भैसकेको छ ।

चलिरहेको अधिवेशन अन्त्य भएपछि सोही गठबन्धनले विशेष अधिवेशन माग गरेका छन् । अधिवेशन मागको निवेदन बुझाएको भोलिपल्ट प्रदेश प्रमुख पनि काठमाडौं गएका छन् । उनी आइतबार पोखरा आउने र थप छलफल गर्ने बुझिएको छ । कांग्रेस, माओवादी लगायतले भेट्न खोज्दा उनले समय दिएका थिएनन् । सामान्यतः विशेष अधिवेशन माग गरेको १५ दिनभित्र प्रदेश प्रमुखले अधिवेशन बोलाउनुपर्छ । यसअघि नै गण्डकीमा विशेष अधिवेशनको प्रयोग भइसकेको छ । कोरोना नियन्त्रण लगायत प्रस्ताव राखेर कांग्रेस र जनता समाजवादी पार्टीले विशेष अधिवेशन मागेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले १५ दिन नकट्दै अधिवेशन बोलाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width