नाम चम्काउँदै नवीन

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७८
nabin rasaili

पोखरा, ४ वैशाख । कराते खेलाडी नवीन रसाइली (२३) साग विजेता हुन् । गत वर्ष भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा ६७ केजी तौल समूहमा उनले स्वर्ण जित्दै देशको नाम चम्काएका थिए । संघर्षपूर्ण जीवन बाँच्दै आएका यी स्वर्णधारी यतिबेला पुनः चर्चामा छन् । उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६/७७ को वर्ष उत्कृष्ट खेलाडी (पुरुष) विधाको मनोनयनमा परेका छन् ।

आफू मनोनयनमा परेकोमा खुसी व्यक्त गर्दै नवीनले भने, ‘दुःख गरेमा फल अवश्य पाइने रहेछ । मेरो लक्ष्य अझै ओलम्पिकमा सहभागी हुनु हो ।’ त्यसैले उनी यतिखेर ललितपुरमा तालिम गरिरहेका छन् । बिहानीको समय राष्ट्रिय टिमसँग तालिममा व्यस्त उनी दिउँसो बालाजु कराते डो एकाडेमीमा आबद्ध छन् । बालाजुमा उनी २०६६ देखि नै आबद्ध छन् । उनलाई ध्रुवविक्रम मल्लले कराते सिकाएका हुन् । २०६५ सालदेखि सानैदेखि कराते खेल्दै आएका उनी स्वर्ण पदक जित्नुलाई जीवनको अहोभाग्य ठान्छन् । भन्छन्, ‘पदक जित्नु आफ्नो लागिमात्रै हैन, राष्ट्रकै इज्जत रहन्छ । विदेशमा यसको छुट्टै भ्यालु छ । नेपालमा अझै पनि खेल र खेलाडीको भविष्य सुनिश्चित हुन सकेको छैन ।’

बागलुङ जिल्लाको बोंगादोभान–२ मा २०५५ मा जन्मिएका नवीनले सन् २०११ मा ब्ल्याक बेल्ट प्राप्त गरेका थिए । बंगलादेशमा भएको पाँचौं साउथ एशियन कराते च्याम्पियनसीपमा एकलतर्फ कास्य र टिम इभेन्टमा रजत पदक विजेताका नाम पनि उनकै नाममा छ । बावु पूर्णवीर र आमा भीमदेवी रसाइलीका ३ छोरा र १ छोरीमध्ये उनी माहिला हुन् ।

नवीन पाँचौ पोखरा स्पार्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी (पुरुष) विधामा मनोनयनमा परेका छन्

सन् २०१४ मा सम्पन्न साउथ एशियन क्याडेट/जुनियर तथा सिनियर कराते च्याम्पियनसीपमा उनी ६८ केजी तौल समूहमा प्रथम हुन सफल भएका थिए । उनले भाग लिएका एक दर्जन बढी विभिन्न प्रतियोगितामा कुनै न कुनै पदक जित्दै आएका छन् । सन् २०१० मा काठमाडौंमा भएको कराते प्रतियोगितामा उनले स्वर्ण जितेका थिए । परिवारमा उनका दाइसमेत यही खेलसँग आबद्ध छन् । पोखरा स्पोर्टस् अवार्डमा समेत आफूले अवार्ड प्राप्त गर्ने उनको अपेक्षा छ ।

खेल क्षेत्रमा समर्पित खेलाडीहरुको प्रतिभा प्रोत्साहन गर्दै मञ्चले हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको हो । गण्डकी प्रदेशस्तरको सो अवार्डमा यसपालि विभिन्न ७ विधामा अवार्ड वितरण गरिने अवार्डका मूल आयोजक समिति संयोजक एवं मञ्च अध्यक्ष एकराज गिरीले बताए ।

वर्ष उत्कृष्ट खेलाडी पुरुष तथा महिला विधामा मनोनीत उत्कृष्ट ३ मध्ये १ जनालाई जनही २ लाखसहित अवार्ड प्रदान गरिने छ । नवीनसँगै वर्ष उत्कृष्ट खेलाडी पुरुष विधामा टेबलटेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल परेका छन् । अवार्ड वितरण वैशाख २० मा पोखरा सभागृहमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width