गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा

प्रकाश ढकाल
वैशाख ३, २०७८
Gandaki Province Cabinet Building

पोखरा । सरकार धरापमा परेपछि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यतिबेला पद जोगाउने कसरतमा काठमाडौं छन् । कांग्रेस, माओवादी, जनता समाजवादीको लिखित र जनमोर्चाको अलिखित समर्थनमा बिहीबार मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ । त्यसअघि नै सरकारले चालु संसद अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । प्रदेश प्रमुखले पत्र पठाएपछि बुधबार रातिदेखि नै गण्डकीको अधिवेशन बन्द भयो । त्यसपछि केन्द्रीय तहका नेताहरुसँग वार्ता गर्ने भन्दै मुख्यमन्त्री शुक्रबार जहाज चढेर काठमाडौं गएका हुन् । बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले भनेका थिए, ‘केन्द्रीय निर्णयले संघीयता धरापमा पार्ने काम भयो । अब काठमाडौंमा छलफल गर्छु ।’ शुक्रबार उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग भेटेका छन् ।

मुख्यमन्त्रीलाई सरकार जोगाउनकै धपेडी छ, अर्थ मन्त्री भने राजनीतिक खेलबाट रिफ्रेस लिन स्क्वास खेल्दै छन्

गण्डकीमा मुख्यमन्त्रीपछिको बरियतामा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ हुन् । पार्टी राजनीतिमा मुख्यमन्त्रीकै हाराहारिमा शक्तिशाली मानिन्छन्, उनी । मुख्यमन्त्रीलाई सरकार जोगाउने खेलमा धपेडी छ, अर्थ मन्त्री भने राजनीतिक खेलबाट रिफ्रेस लिन स्क्वास खेल्दै छन् । रंगशालामा स्क्वास खेलेर फर्किएका उनले भने, ‘राजनीतिको गेम खतरा छ । बुझिसक्नु छैन । त्यहि भएर अर्को खेल खेल्न लागेको नि । यो अलि बुझिन्छ । रिफ्रेस हुन्छ ।’

जनमोर्चा कुनैपनि पक्षमा नखुलेकोले अहिले नै राजनीतिक भविष्यवाणी गर्न नसक्ने उनले बताए । ‘अहिले देखिएको जनमोर्चा नै हो । हिजो समर्थन दियो । अहिले नयाँ सरकार गठन हुँदा उसैलाई समर्थन गर्ने निर्देशन आएको छ,’ उनले अघि भने, ‘सरकार अल्पमतमा परेजस्तो देखिन्छ । अविश्वासको प्रस्ताव जुन दर्ता भएको छ । जनमोर्चा त्यसमा संलग्न पनि भएको छैन । बहुमत कतैपनि देखिँदैन । पर्ख र हेरको अवस्थामा छौं ।’

मुख्यमन्त्रीभन्दा अगाडि शुक्रबार नै प्रदेश प्रमुख अमिक शेरचन पनि काठमाडौं गएका छन् । उनले पारिवारिक कारणले काठमाडौं गएको बताए पनि निकटस्थहरुका अनुसार राजनीतिक भेटघाट समेत गर्ने छन् । यता प्रदेशका मन्त्रीहरु आफ्नो पद जोगिनेमा ढुक्क छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल अहिलेको परिस्थिति आंकलन बाहिरबाट आएको बताउँछन् । ‘हामीले त्यस्तो ठानेका थिएनौं । विकास निर्माणको काम भइरहेको थियो । किन यो अवस्था आयो, सायद बाहिरको प्रभाव होला,’ उनले भने, ‘कांग्रेससँग पनि विस्वस्त थियौं । उहाँहरु संघीयता बलियो बनाउनुपर्छ भन्नुहुन्थ्यो । जे होस्, यो सोचेका थिएनौं ।’ उनले प्रस्तावको समयमै सामना गर्ने बताए । ‘यो त अब प्रक्रियाबाटै सामना गर्ने बाहेक के हुन्छ र ? पारित हुँदैन भन्ने लाग्छ । पारित हुने भए ३१ जनाकै हस्ताक्षर हुन्थ्यो नि,’ उनले थपे, ‘छलफलको समय मिलोस् भनेर अधिवेशन अन्त्य गरेको हो । हामी समयमै छिनोफानो गर्छौं ।’ प्रतिपक्षीले हतारिएर अविश्वास दर्ता गरेको उनको तर्क छ ।

भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत सरकार जोगाउने तयारीका साथ संसद अधिवेशन अन्त्य गरेको बताउँछन् । ‘यो घटनामा अनुमान सहितको प्रोटेक्सन सोचेको हो । त्यसैले अधिवेशन अन्त्य ग¥र्यौं,’ उनले भने, ‘स्वतः अविश्वास प्रस्ताव फेल हुन्छ । केही पनि गर्नुपर्दैन । ३१ मत पुग्ने सम्भावना छँदै छैन । यो ल्याउनु आवश्यक नै थिएन ।’ सामाजिक विकास मन्त्री नरदेवी पुनले पछिल्लो विकसित घटना क्रममा आफ्नो भूमिका खासै देख्दिनन् । ‘मेरो रोलभन्दा मुख्यमन्त्रीको रोल हो । सम्पर्क–सम्बन्ध मुख्यमन्त्री कै छ । तलदेखि माथिसम्म उहाँकै चिनजान छ । हाम्रो त खास के रोल हुने भयो र ?,’ उनले भनिन्, ‘परिस्थिति कसरी विकास हुन्छ, त्यसमा प्रस्ताव पास फेल टुंगिन्छ । जे भने पनि आफूले सुरु गरेको काम आफै टुंग्याउँ भन्ने लागेको हो । हेरौं ।’

कर्णालीमा एमालेकै सांसदले फ्लोर क्रस गरेपछि माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको पद जोगियो । माधव नेपाल पक्षका सांसदहरुले शाहीलाई साथ दिए । कर्णालीको बाछिटा अरु प्रदेशमा छि¥यो भने गण्डकीमा पनि मुख्यमन्त्री झनै कमजोर हुनेछन् । यहाँ एक सांसद नेपाल पक्षका छन् । बागलुङबाट निर्वाचित सांसद इन्द्रलाल सापकोटा नेपाल समूहमा प्रष्टै खुलेका छन् । अरु पनि आफ्नो क्याम्पमा रहेको र आवश्यक पर्दा देखिने उनले बताउँदै आएका छन् । तर कर्णालीको घटना गण्डकीमा नहुने उनको भनाइ छ । चैत २५ गते माओवादीले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएर अविश्वासको प्रस्ताव बुनेको थियो । बिहिबार सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएर अविश्वास प्रस्ताव हालिएको हो ।

Related News

सम्बन्धित समाचार

  • पोखराका मेयर धनराज आचार्यलाई मातृशोक

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०८०
    पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृशोक परेको छ । उनकी माता जमुनादेवी आचार्यको ७२ वर्षको उमेरमा चरक ममोरियल…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…
  • पोखराको काहुँडाँडामा भीषण आगलागी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा, ६ चैत । पोखराको काहुँडाँडामा भीषण आगलागी हुँदा मानव बस्ती जोखिममा परेको छ । पोखरा ११, काहुँडाँडाको बतासे भन्ने…
  • आर्वामा भलिबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा। नवदुर्गा क्लब पोखरा १३ आर्वाको आयोजनामा दोस्रो नवदुर्गा कप भलिबल प्रतियोगिता हुने भएको छ । युवाका लागि खेलकुद, स्वास्थ्यका…
  • बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ को मृत्यु, २० घाइते

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका  ६ स्थित जाउलेपानीमा सोमबार साँझ बस दुर्घटना हुँदा ७ जनाको मृत्यु  भएको छ  दुर्घटनामा…

hero news full width