सडक कालोपत्रेको माग गर्दै मंगलाघाटवासी आन्दोलित

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७८
kalopatre mag

म्याग्दी । सडक कालोपत्रेको माग गर्र्दै बेनी नगरपालिका ७ मंगलाघाटवासी आन्दोलनमा उत्रिएका छन् । म्याग्दीको बेनी–दरबाङ सडकअन्तर्गत मंगलाघाट खण्डको सडक कालोपत्रेमा ढिलासुस्ती भएको भन्दै स्थानीय आन्दोलित भएका हुन् । आन्दोलित स्थानीयले शुक्रबार बिहान १ घन्टा सडक अवरुद्ध गरेका थिए भने जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।

ठेकेदार कम्पनीको ढिलासुस्ती र सम्बन्धित निकायको बेवास्ताका कारण कालोपत्रे नभएको भन्दै महारानी टोल विकास संस्था, न्यु मंगला टोल विकास संस्था र महारानी टोल विकासको अगुवाइमा आन्दोलन घोषणा गरेका हुन् ।

मंगलाघाट टोल विकास संस्था अध्यक्ष कृष्णबहादुर बानियाले समयमै कालोपत्रे गर्न आग्रह गरे पनि ठेकेदार कम्पनीले बेवास्ता गरेपछि सडक अवरुद्ध गर्न बाध्य भएको बताए । जिल्लामा सांसद, मन्त्री, बेनी नगरपालिकाका मेयर, प्रजिअलगायतसँग गरिएको अनुरोध बेवास्ता गरेपछि बाध्य भएर बन्द गर्नुपरेको उनको भनाइ थियो ।

मंगलाघाट क्षेत्रमा विगतको प्रतिबद्धता अनुसार कामसमेत नभएको महारानी टोल विकास संस्थाका अध्यक्ष खिमबहादुर छन्त्यालले बताए । समस्या समाधानमा सघाउने प्रतिबद्धता जनाए पनि काम सुरु नहुदाँसम्म आन्दोलन स्थगित नहुने न्यु मंगला टोल विकास संस्थाका अध्यक्ष धर्मराज बानियाँले बताए । सडक अहिलेसम्म राम्रोसँग स्तरोन्नति नहुँदा जीर्ण र जोखिमपूर्ण बन्दै गएको स्थानीय रमेश फगामीले बताए ।

२ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७५ माघ २२ गते देव एन्ड सायर–बिएन–त्रिशक्ति जेभीले ५ करोड रुपैयाँमा ठेक्का लिएको मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजनाको म्याद २०७७ माघमा सकिए पनि कालोपत्रे नभएको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width