पत्रकार महासंघ गण्डकीको पदस्थापन

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७८
Jiurnalist Gandaki Photo

पोखरा । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशको हालै निर्वाचित नयाँ कार्यसमितिको शुक्रबार सपथ ग्रहण तथा पदस्थापन गरिएको छ । निर्वाचन समिति संयोजक कोमलनाथ बरालले नव निर्वाचित अध्यक्ष नारायण शर्माको टोलीलाई पदस्थापन तथा सपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संविधानको मर्म अनुसार पत्रकारिता गर्न सुझाव दिए । ७० वर्षपछि संविधान ल्याउन पत्रकारितको पनि ठूलो भूमिका भएका कारण संविधानको रक्षा गर्ने दायित्व पनि पत्रकारको भएको उनले बताए । संविधानमा संघ, प्रदेश र स्थानीय तहको मोडल तयार भइरहँदा पत्रकार महासंघ पनि स्थानीय तहमा पुग्नुपर्ने धारणा राखे । उनले पत्रकारसँग बाझिने सूचनाको हकको कानुन आयो भने संविधान अनुकूल बनाउने प्रतिबद्धता जनाए । प्रदेश सरकारबाट आएको सूचनाको विधेयक संविधान विपरीत छ भनेर पछाडिका लागि सारेको उनले जानकारी गराए । त्यो विधेयक टेबुल गर्नुभन्दा अघि नै सच्चियो भने पत्रकारको हितमा हुने उनले बताए ।

सपथ ग्रहणपछि नव निर्वाचित अध्यक्ष शर्माले आफू सधैं पत्रकारको हकहितका काममा लाग्ने बताए । आफू यसअघिको समितिमा उपाध्यक्ष भएर काम गरेका कारण धेरै कुराहरु बुझिसकेकाले काम गर्न सहज हुने उनको धारणा छ । आफूसँग पराजित दीपेन्द्र श्रेष्ठ हितैषी भएका कारण उनलाई पनि हरेक बैठक र गतिविधिमा सामेल गराएर अघि बढाउने बताए ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोख्रेलले निर्वाचनको बेला भएको गठबन्धन अन्त्य भएको घोषणा गरेका छन् । निर्वाचनको बेला जुनसुकै विचारमा रहेर चुनाव जितेको भए पनि अब पत्रकार महासंघ सबैको साझा संस्था भएको उनले बताए । पत्रकार महासंघ सबैभन्दा पुरानो नागरिक समाज भएका कारण समाजले धेरै ठूलो अपेक्षा गरेको हुनाले त्यही अनुसार पत्रकारले काम गर्नुपर्ने धारणा राखे । आफ्नो नेतृत्वको महासंघले विधानभन्दा बाहिर गएर कुनै पनि राजनैतिक हस्तक्षेप हुने काम नगर्ने उनले बताए ।

गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले पत्रकार महासंघको निर्वाचनको खुलेर प्रशंसा गरे । पत्रकार महासंघले संघीयताको मर्म बुझेर लोकतन्त्र र संघीयता बलियो बनाउने अभ्यास गरेको उनको भनाइ छ । महासंघले सिकाएको पाठ अब राजनीतिक दलहरुले पनि सिक्नुपर्ने उनले बताए । नेपालका राजनीतिक दल लोकतान्त्रिक भएमात्र संघीयता बलियो हुने उनको तर्क छ । पत्रकारले अग्रगामी बाटो समाएकाले पत्रकारको हित हुने कोइरालाको भनाइ छ ।

नेपाल पत्रकार महासंघका सचिव रोशन पुरीले पत्रकारको श्रमको सम्मान र प्रेस स्वतन्त्रताको विषयमा काम गर्ने बताए । पत्रकार महासंघको हितका लागि पत्रकार शुद्धीकरणमा देखिने गरी काम गर्ने उनी बताउँछन् । केन्द्र, प्रदेश र जिल्लाबीच केही असझदारी देखिए पनि यसको विषयमा छलफल चलिरहेको पुरीले बताए । केन्द्रका सचिव दीपेन्द्र चौहानले प्रदेशमा काम गर्दा केही समस्या देखेकाले आफू केन्द्रमा गएको बताए ।

पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्षका प्रत्यासी दीपेन्द्र श्रेष्ठले व्यावसायिकता प्रर्वद्धनका लागि आफू सल्लाकार भएर काम गर्न तयार रहेको बताए । पत्रकार महासंघ करिब १३ हजार पत्रकारको साझा संस्था भएका कारण पत्रकारको छाता भएर बस्नुपर्ने उनको धारणा थियो । पत्रकार महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष त्रिभुवन पौडेलले आफ्नो कार्यकालमा पत्रकारको हकहितका कामसँगै आफू बस्ने भवन बनाउन सफल रहेको बताए । भवन बनाउँदाको करिब ९० प्रतिशत ऋण तिरिसकेको जानकारी दिंदै नयाँ समितिको कार्यकाल चुस्त, दुरुस्त ढंगबाट पत्रकारको हकहितमा काम गर्न सुझाव दिए ।

संघको चैत २५ गते सम्पन्न निर्वाचनबाट महासंघ गण्डकी प्रदेशको अध्यक्ष शर्मासहित उपाध्यक्ष दीपक भट्टराई, उपाध्यक्ष महिला सोनी शर्मा, महासचिव गोविन्दप्रसाद सुवेदी विजयी भए । खुला सचिव यदुनाथ बञ्जारा, समावेशी सचिव सुशीलबाबु श्रेष्ठ कैलाश, कोषाध्यक्ष राजेन्द्र न्यौपाने विजयी भएका छन् । खुला ७ सदस्यहरु प्रदीप पौडेल, सुनील पाण्डे, ताराप्रसाद शर्मा, परशुराम शर्मा आचार्य, प्रकाश डोटेल, लोकेन्द्रबहादुर सुनार र रमेश बस्ताकोटी निर्वाचित भए । महिला ३ सदस्यहरु रञ्जिता शर्मा, राधिका शर्मा कँडेल र रोशनी गुरुङ छन् । दलित सदस्य सानेबहादुर नेपाली (कोइराला) निर्वाचित भएका थिए । आदिवासी जनजाति २ सदस्यमा रुद्रबहादुर थापा र रामजी राना निर्वाचित भएका थिए । सदस्य अल्पसंख्यकमा पदम छन्त्याल छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width