बाढी प्रभावलाई दीर्घकालीनरुपमा व्यवस्थापन गर्ने प्रयास

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७८
nahar

पाेखरा । बाढी नियन्त्रण तथा व्यवस्थापन समिति पोखरा महानगरपालिका–३२ को सक्रियतामा वडाका विभिन्न क्षेत्रमा वर्षात्को समयमा पर्ने गरेको बाढी प्रभावको असरलाई दीर्घकालीन समाधान गर्ने गरी प्रयास अघि बढाइएको छ ।

वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण पर्ने गरेको असरलाई दीर्घकालीन रुपमा समाधान गर्न सम्बद्ध निकायमा पत्राचारसहित ध्यानाकर्षण गराइएको समितिका अध्यक्ष शिवजी लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिको पहलसँगै विगतमा अनियन्त्रित रुपमा आउने पानीलाई डाँडाको नाक प्रहरीचौकी, बाँधाको रह तथा घोतघोतेबाट कटाउने गरी सिँचाइ डिभिजन कार्यालय पोखराबाट आवश्यक तयारी भइरहेको छ । त्यस्तै गगनगौंडास्थित भत्केको चौकीमा पानी व्यवस्थापनका लागि पोखरा महानगरपालिकाबाट रु १४ लाख ३० हजार लागतमा काम अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

पोखरा–३२ स्थित बाह्रसय चौताराबाट पानी कटाएर खहरे खोलामा लैजानका लागि पोखरा महानगरपालिकासँग पहल भइरहेको समितिले जनाएको छ । गत वर्षको बाढीले गगनगौंडा र लामेआहालबीचमा पर्ने राधाकृष्ण मन्दिर नजिकै पारेको प्रभावलाई दृष्टिगत गर्दै त्यहाँको दीर्घकालीन समाधानका लागि नाला गहिरो बनाएर कोत्रेसम्म पु¥याएर कटाउने गरी पहल भएको उहाँले जानकारी दिनुभयो ।

पोखरा–३२ का गगनगौंडा र आसपासका क्षेत्रमा बर्सेनि बाढीका कारण हुने गरेका समस्याको दीर्घकालीन समाधानका लागि समितिले सम्बद्ध निकायमा निरन्तर पहल गरिरहेको सदस्य गणेशबहादुर खत्रीले बताउनुभयो । समितिका तर्फबाट कास्कीका प्रमुख जिल्ला अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय कास्की, डाँडाको नाक इलाका प्रहरी कार्यालय, सिँचाइ डिभिजन, सडक डिभिजन कार्यालय, विजयपुर सिँचाइ आयोजना कार्यालय र बेगनास सिँचाइ आयोजना कार्यालयलगायत सम्बद्ध निकायमा बाढी प्रकोपको दीर्घकालीन व्यवस्थापनका लागि यसअघि नै पत्राचार एवं ज्ञापनपत्र बुझाइएको उहाँले जानकारी दिनुभयो । रासस

Related News

सम्बन्धित समाचार

hero news full width