गण्डकीका मुख्यमन्त्री भन्छन् :  मलाई किन हटाउने ?

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७८
Gandaki cm ps gurung (3)

पाेखरा । गण्डकी सरकार दही जमे झैं जमेर बसेको छ । कामका हिसाबले बिग्रिएको ठाउँमा २ नम्बर छ, नत्र सबैतिर १ नम्बर छ । यसरी काम गरेको सरकारको विकल्प किन खोज्नुपर्‍यो, सत्ताधारी दलले ? मेरो प्रश्न त्यहाँ निर हो । नेपाली कांग्रेस प्रतिपक्षी हो, उसको त धर्म नै हो । चित्रबहादुर जी बामपन्थीको सरकार बनोस् भन्ने चाहना राख्नुहुन्छ, प्रदेशमा भइरहेको सरकारलाई हटाएर स्थिरता हुन्छ कि अस्थिरता हुन्छ ? संघीय शासन प्रणालीमा सिधै माथिबाट चलाउने पद्धतिले संघीयतालाई सघाउ पु¥याएन । बामपन्थीको सरकार ढालेर गैर बामपन्थीको सरकार बनाउनु प्रतिगामी कम हो ।

माओवादी पार्टी मुख्यमन्त्री हुने होइन, मन्त्री त मैले नै दिइरहेको छु नि । सन्दर्भले राजीनामा दिए पनि केही बिग्रेको छैन, फेरि आउन सक्नुहुन्छ । ढोका खुलै छ, छलफलको ढोका खोल्नका लागि पनि अधिवेशन अन्त्य गरेको हो । गुड फेथको लागि गरेको हो । अविश्वासको प्रस्तावसँग भागेको होइन । म जस्तो लोकतान्त्रिमा विश्वास गर्ने व्यक्ति भाग्छ ? संसदमा अविश्वासको प्रस्तावमा थापिनुपर्छ भन्ने थाहा छैन र ? खाली मैले यसमा राम्रै छलफल गरौं न त भनेर अधिवेशन रोकेको हो ।

संघीय शासन प्रणालीमा सिधै माथिबाट चलाउने पद्धतिले संघीयतालाई सघाउ पुर्‍याएन

अविश्वासको प्रस्ताव फिर्ता हुन पनि सक्छ, नहुन पनि सक्छ । राजनीतिमा असम्भव भन्ने चिज सम्भव हुन्छ नि । माथिका नेताहरुसँग नै छलफल गरौं न १ पटक । प्रचण्डसँग कुरा गरौं, बाबुरामसँग गरौं । देउवासँग भइरहेकै हुन्छ । सिजफायर खोलौं न त । के कारण चित्त दुखेको छ, उहाँहरुलाई ? जनमोर्चा सरकारमा जानका लागि यस्तो गरेको जस्तो पनि लाग्दैन । सरकारमा सहभागी हुँदैनौं भनेका छन् । म त सबैमा सहमतिको सम्भावना देख्छु । कांग्रेसलाई भनेको थिएँ, आउनुस् सरकारमा । २ तिहाइको सरकार बन्छ, काम गर्न सजिलो हुन्छ भनेको थिएँ । अरुसँग पनि कुरा भइरहेको छ । माओवादीको संसदीय दलको नेतलाई त मुख्यमन्त्रीसँग चोचोमोचो मिलाएको आरोप नै छ । आजै बाबुराम भट्टराईसँग फोनमा कुरा गरें । माथि सरकार हटाउने निर्णय भएको छैन भन्नुभो । यहाँ के कुराले काम गरिरहेको छ ?

अब काठमाडौंमा गएरै छलफल गर्छु । शुक्रबार कामठमाडौं जाँदै छु । पृथ्वीसुब्बालाई ठूलै भ्रष्टाचार गरेर हटाएको हो कि ? संघीयता विरोधी काम गरेर हटाएको हो कि ? या वामपन्थी पार्टीसँग गरेको सहमति विपरीत कुदेर भएको हो कि ? या प्रतिपक्षी कांग्रेसलाई अपमान गरेर भएको हो कि ? त्यस्तो त केही छैन नि । तपाईंहरुले बुझ्नु होला, ७ जना मुख्यमन्त्रीमध्ये सबैभन्दा फरवार्ड भएर काम गरेको, सबैलाई मिलाएर लगेको मैले नै हो । पृथ्वीसुब्बाको सवाल होइन, मुख्यमन्त्रीहरुको हैसियत के हुन्छ भन्ने हो । काठमाडौंमा रिस उठेको बिरालोले पोखरामा आएर खाँबो चिथोर्छ भन्छन् नि । केपी ओलीको रिस ममाथि पोखेर राजनीति हुन्छ ? लोकतन्त्र बलियो हुन्छ ? हाम्रो समृद्धिको अभियान अघि बढ्छ ? बढ्दैन नि । रिस उठेको भए संघको सरकार नै हटाउन । बल गर न त्यहिँ । प्रदेश सरकार हटाउन खोजेर हुन्छ ?

केपी ओलीको प्यानलमा हामी कतै न कतै आवद्ध छौं । नेताले गरेको निर्णय मन परे पनि नपरे पनि मान्नैपर्छ ।
हाम्रो पार्टीले प्रदेश प्रमुख हटाउने सोच बनाएको छैन । मैले त हिजो पनि नहटाऊ भनेको हो । बाबुराम कुँवरजी प्रति मलाई गर्व लाग्थ्यो । तर पार्टीले निर्णय गर्दा मिलाएर गरेको होला । अहिलेको प्रदेश प्रमुख अमिक शेरचन पनि सम्मानित हुनुहुन्छ । उहाँलाई हटाएर लोकतन्त्र बलियो हुन्छ जस्तो लाग्दैन । लोकतन्त्रको आन्दोलनमा उहाँको ठूलो भूमिका छ । उहाँ जति सच्चा देशभक्त कमै पाइन्छ । अब अधिवेशन प्रदेश प्रमुखले आह्वान गर्ने हो । सरकार प्रमुखको हिसाबले म सहयोग गर्छु । (गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगको कुराकानीमा आधारित)

Related News

सम्बन्धित समाचार

hero news full width