कास्कीका विद्यालय बन्द नहुने

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७८
school `

पोखरा । सरकारले कास्कीसहित १४ जिल्ला कोरोना संक्रमणबाट अति प्रभावित सूचीमा वर्गीकरण गर्दै सकेसम्म विद्यालय नजान अपील गरे पनि कास्कीका विद्यालय तत्काल बन्द नहुने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण बिहीबार कास्कीसहित काठमाडौं, ललितपुर, भक्तपुर, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित क्षेत्रमा राखेको हो । ती जिल्लाका विद्यालय, जात्रा, सभा सम्मेलन र सपिङ मलहरु बन्द गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपील छ ।

गत वर्षदेखि नै कोभिड–१९ ले अन्य क्षेत्रमा झैं शैक्षिक क्षेत्रमा नराम्ररी प्रभाव पारेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने र विद्यालयसम्म विद्यार्थी आउने वातावरण कायम राख्न प्याब्सन र एनप्याब्सनको जोड छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीले सरकारले अपील गरे पनि तत्कालै कास्कीका विद्यालय बन्द गरेर पढाइका अन्य माध्यम अपनाउने तयारीमा आफूहरु नरहेको स्पष्ट पारे । उनले भने, ‘हामीहरु यसअघि पनि महानगर शिक्षा महाशाखा, जिल्ला स्वास्थ्य तथा प्रदेश स्वास्थ्य निर्देशनालयले आह्वान गरेको बैठकमा चरणबद्ध रुपमा बसेर छलफल गरेका छौं । कोभिड–१९ बाट जोगिन स्वास्थ्य मापदण्डका उपाय अवलम्बन गर्नुपर्छ । विद्यालय नै बन्द गरेर घरमै विद्यार्थी थन्क्याउने स्थिति अब छैन । सरकारको अपील नै आइसकेपछि भने पुनः एकपटक हामीहरु यसबारेमा बसेर गहनरुपमा छलफल गर्छौ र निष्कर्षमा पुगौंला । तर तत्कालै बन्द गर्ने तयारी छैन ।’

त्यसैगरी, एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले विद्यालयसम्म विद्यार्थी नै नआउने अवस्था सिर्जना गरिनु दुःखद हुन सक्ने बताउँछन् । उनले भने, ‘घरमै दिनभर विद्यार्थी छोड्दा उनीहरुको पढाइमा नकारात्मक प्रभाव पर्छ । विगतमा पनि हामीले लकडाउन, निषेधाज्ञा व्यहोरिसकेका छौं । त्यो नै अन्तिम उपाय हैन । के कसरी हुन्छ, विद्यालयसम्म विद्यार्थी आउने वातावरण सिर्जना गर्नुपर्छ ।’

कास्कीमा प्याब्सन अन्तर्गत १ सय २, एन प्याब्सन अन्तर्गत ४५ विद्यालय सञ्चालनमा छन् । मन्टेसरीसहित कक्षा १२ सम्म कास्कीमा कुल विद्यार्थीको संख्या हाल १ लाख २५ हजार रहेको प्याब्सन कास्की अध्यक्ष शर्माले जानकारी दिए ।

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले भनेको छ, ‘अति प्रभावित भनी वर्गीकृत जिल्लामा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभासम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतमा सहभागी नभइदिनू ।’

केन्द्रले सबै अस्पताललाई फिभर क्लिनिक अनिवार्य सञ्चालन गर्न पनि आग्रह गरेको छ । साथै सरकारी अस्पताललाई कम्तीमा ५० प्रतिशत बेड कोभिड–१९ का लागि छुट्याउने र निःशुल्क उपचार सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

विद्यालय तहमै फैलिएको हो त ?
गएको २४ घण्टामा गण्डकीमा ३ सय १७ जनाको नमुना परीक्षण गरिएकोमा ३३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । मदरल्याण्ड विद्यालयमा १ सय ४२ जना विद्यार्थीको नमुना परीक्षणमध्ये १ जना विद्यार्थीमा संक्रमण देखिएको छ । ग्लोबल कलिजियटमा १ सय ३२ जनामध्ये ४ जनामा संक्रमण देखिएको छ ।

यसैगरी गत साता १ सय ७४ जना संक्रमितको नमुना थप परीक्षण गर्न राजधानी काठमाडौं पठाइएकोमा तीमध्ये १ सय ४ मा युके भेरियन्ट देखा परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यसरी युके भेरियन्ट देखिएकामध्ये धेरैजसो सानो उमेरका छन् । ११ वर्ष मुनिकै २७ जना छन् । सो तथ्यांकले विद्यालय तहमै कोरोना संक्रमण फैलिसकेको तथ्यांकले देखाउँछ ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या झण्डै १७ हजार पुगेको छ । १६ हजार ३ सय ४३ जना निको भइसकेको छ भने २ सय ७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ८८ जनामा गरिएको पिसिआर परीक्षणमा ४ सय ९० र ५ सय ६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये काठमाडौं जिल्लामा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ र दाङमा १३÷१३, रुपन्देहीमा १६, महोत्तरी र बाग्लुङमा १०÷१० जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा निको हुनेको संख्या १ सय ५७ छ भने ५ जनाको मृत्यु भएको छ ।

विद्यालय नजाने अपील सान्दर्भिक


डा. विनोदबिन्दु शर्मा
निर्देशक

प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकी ।

विद्यालयमा तहमै कोभिड–१९ संक्रमण पुष्टि भएको पछिल्लो तथ्यांकले देखाउँछ । सानो उमेरका केटाकेटीहरु धेरैजसो आफ्ना हजुरबुवा, हजुरआमाको काखमा बढी जाने हुँदा ठूलो उमेरका मानिसमा संक्रमणले बढी जोखिम निम्त्याउने खतरा छ । त्यसैले सरकारले आह्वान गरेको स्कुल बन्द वा विद्यालय नजान गरेको अपील सान्दर्भिक हो । हामीहरुले सरोकारवालासँग नियमित रुपमा छलफल गरिराखेका छौं । प्याब्सन, एनप्याब्सन, हिसान, महानगरको शिक्षा महाशाखा लगायतसँग बसेर अहिलेको अवस्थाबारे जानकारी गराएका छौं । त्यसैले हामीहरु पब्लिक रिलेसन बढी हुने सरकारी कार्यालय, बैंक, अस्पताल, सपिङ मल, बजार क्षेत्रमा यो संक्रमणलाई हेलचक्राईँको रुपमा नलिन विगतमा झैं सचेतना कार्यक्रम गर्दै जानेछौं । कोभिडको दोस्रो लहर न्यूनीकरण गर्न सबै क्षेत्रबाट सहयोगको आवश्यकता छ ।

तत्कालै कुनै बन्द तयारी छैन


थानेश्वर गौतम
प्रमुख जिल्ला अधिकारी, कास्की ।

सरकारले जोखिम क्षेत्रमा राखेसँगै कास्कीमा अलि बढी सजग हुनुपर्ने अवस्था आएको छ । पूर्व निर्धारित तालिका अनुसार नै आज (बिहीबार) हामीहरु डिसिसिएमसीको बैठक पनि बस्यौं । विद्यालय, होटल व्यवसाय लगायत पर्यटन क्षेत्रमा अलि बढी अनुगमन बढाउने र सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छौं । बन्द नै गर्ने हाम्रो तत्काल तयारी छैन । अलि भयानक नै भयो भने सोच्नुपर्ला । त्यसको लागि सिसिएमसी हुँदै क्याबिनेटको निर्णय पर्खिनु पनि पर्छ । पहिलो उपाय भनेको स्वास्थ्य मापदण्डको पालना गर्नु नै उत्तम हो । त्यसका लागि मानिसको बढी भिडभाड हुने क्षेत्रमा अलि बढी अनुगमन बढाउने छौं र सचेतना कार्यक्रम गर्दै जानेछौं ।

Related News

सम्बन्धित समाचार

hero news full width