पोखरामा मेयर सम्मेलन : माथिल्ला सरकारले सहयोग नगरेको गुनासो

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७८
mayor

पोखरा । पोखरामा पालिका प्रमुखहरुको भेला भएको छ । ४ वर्षमा आफूले गरेका कामको समीक्षा गर्न र आगामी कार्यदिशा पहिल्याउन मेयर र अध्यक्षहरु पोखरामा भेला भएका हुन् । देशभरकै पालिका प्रमुख निम्तालु भए पनि विभिन्न कारण देखाएर उपस्थिति भने निकै पातलो थियो । भेलालाई सम्बोधन गर्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश र स्थानीय तहलाई परजीवि बनाउन खोजेको आरोप लगाए । ‘हाम्रो शासन प्रणालीले प्रदेश र स्थानीय सरकारलाई परजीवी बनाउन खोजेको छ । हामी परजीवी भएर बाँच्ने कि आफ्नो हैसियत देखाउने ? हामी स्वायत्त सरकार हौं भनेर प्रमाणित गरौं,’ उनले भने, ‘आत्मनिर्भर भएर कम्तीमा चालु खर्चको जोहो आफ्नै ठाउँबाट गरौं । पपुलिस्ट हुने नाममा हामी कर बढाउनै चाहँदैनौं । राजस्व बढाउनै चाहँदैनौं ।’

उनले स्थानीय तहका जनप्रतिनिधिले शासकीय सुधारका क्षेत्रमा खासै काम देखाउन नसकेको बताए । ‘कति मिटर सडक बनायौं भन्ने कुरा सानो हो । नयाँ व्यवस्था छ, हाम्रो योजना के हो ?,’ उनले भने, ‘कमसेकम शासकीय सुधारका क्षेत्रमा अब आवाज उठाउनुपर्ने बेला आएको छ । तहगत सरकारका काम अहिले पनि अलमलमा छ ।’ उनले स्थानीय तहहरुले नव निर्माणमा चासोका साथ काम गरिरहे पनि संघबाट विभिन्न अवरोध कायम रहेको सुनाए । ‘अहिले पनि कर्मचारी माथि नै थुपारेर राखेको छ ।

बजेट उतै छ,’ उनी भन्छन्, ‘सिहं दरबारले अरुलाई मगन्ते जस्तो बनायो । यो कार्यशैली बदल्नुपर्छ । गुरुङले स्थानीय सरकारले आत्म समीक्षा गरेर आगामी बाटो तय गर्न सुझाए ।

गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवाले नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकारे । ‘क्याप्सुल खाएजस्तो विकास नागरिकले खोजेका छन् । हामीले गर्न सकेनौं,’ उनले भने, ‘संघले चौरासी व्यञ्जन अगाडि राखेर हात बाँधिदियो । त्यो कसरी खाने ?’ तिलोत्तमा नगरका मेयर वासुदेव घिमिरे जनप्रतिनिधिले बिगारेको गुनासो जनताबाट नआउने गरी काम गरेको बताए ।

कार्यक्रममा विभिन्न पालिकाका प्रमुखहरुले संघ र प्रदेशले आफूहरुलाई सहयोग नगर्दा सोचेजति काम गर्न नसकेको गुनासो गरे । पोखरा महानगरका मेयर मानबहादुर जिसीले नगर र गाउँपालिकाबीच सुमधुर सम्बन्ध विकासका लागि मेयर सम्मेलन गरेको बताए । थलिएको पर्यटन उकास्न र वातावरणलाई प्रदूषणमुक्त बनाउन सम्मेलन फलदायी हुने उनको विश्वास छ । सम्मेलनले पोखरा घोषणापत्र समेत जारी गर्ने छ । बुधबार मेयरहरुबीच साइकल रेस प्रतियोगिता पनि हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width