प्रकाशकीय : अबिराम अविचलित यात्रा

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७८
25th Anniversary Logo

पोखरा : पाक्षिक पत्रिकाका रुपमा सुरु भएको आदर्श समाजको निरन्तरको यात्रा २६ औं वर्षमा प्रवेश गरेको छ । यो अवसरमा म आदर्श समाज बहुमुखी प्रकाशन प्रालिका तर्फबाट पाठक, बिक्रेता, विज्ञापनदाता, विज्ञापन एजेन्सी, यस कम्पनीका सम्पूर्ण कर्मचारी, शुभेच्छुक संघसंस्था एवं सम्पूर्ण महानुभावलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । आदर्श समाजले २५ वर्ष अगाडि यात्रा थाल्दा मुलुक सशस्त्र द्वन्द्वमा थियो । तत्कालीन अवस्थामा पश्चिमाञ्चल विकास क्षेत्रको केन्द्र पोखरामा व्यावसायिक पत्रकारिताका लागि आँट गर्नु नै चुनौतीपूर्ण थियो । प्रयास गरेमात्रै सफलता चुम्न सकिन्छ भन्ने मान्यता बोकेर विभिन्न आरोह अवरोध खेप्दै हामी निरन्तर अगाडि बढिरह्यौं । २०५३ वैशाख १ मा यस पत्रिकाको पहिलो अंक प्रकाशित भएको थियो । त्यसको १ वर्षपछि साप्ताहिक र २०५४ माघ १९ श्रीपञ्चमीका दिनबाट दैनिक रुपमा आदर्श समाज प्रकाशन हुँदै आएको छ ।

चरम सशस्त्र द्वन्द्वमात्र होइन विभिन्न खाले राजनीतिक परिवर्तको साक्षी बनेको छ आदर्श समाज । पोखरामा व्यावसायिक पत्रकारिताको जग बसाल्दै गर्दा यहाँको समाजलाई सुसूचित गर्न हामीले सक्दो प्रयास गर्‍याै‌‌  । भुर्इंमान्छेहरुका आवाज बोल्नेदेखि समाजमा व्याप्त विकृति र विसंगतिका विरुद्ध पनि खबरदारी गरिरह्यौं । २०५७ साउन ७ मा वेब मेसिनबाट प्रकाशन सुरु गर्दा आदर्श समाज राजधानी काठमाडौं बाहिरको १ मात्र ब्रोडसिट पत्रिका थियो । यही उत्साहलाई कायम राख्दै २०५८ माघ १७ बाट हामीले नवलपरासीको गैंडाकोटबाट तराई संस्करणको प्रकाशन थाल्यौं । राजनीतिक अस्थिरताका कारण उकासिन नसकेको आर्थिक अवस्थासँग जुध्दै हामी यहाँसम्म आइपुगेका छौं ।

जस्तासुकै चुनौती आइपरे पनि समाचार, विश्लेषणका साथमा सूचना प्रवाहमा हामी अविचलित र अविराम यात्रामा छौं । पत्रिका स्थापनाकालमै गरेको निश्पक्षताको प्रतिबद्धतामा कति पनि कमी आउन दिएका छैनौं । संविधानसभाबाट संविधान निर्माण भई कार्यान्वयनमा जाँदा ३ वटै तहका निर्वाचन भए । अरु क्षेत्रसँगै पत्रकारिता पनि स्वभाविक रुपमा फस्टाउने आशा थियो । राजनीतिक संक्रमणको अन्त्य भई आर्थिक विकास र समृद्धिको पथमा लम्कँदै गर्दा फेरि अन्यौल सिर्जना भएको छ । एकातिर अनुदार राज्यपक्ष त अर्कोतिर अस्थिर आर्थिक अवस्थासँग जुध्दै मिडिया अगाडि बढ्नुपर्ने वाध्यता छ । यी तमाम चुनौती सामना गर्दै निश्पक्ष र स्वतन्त्र पत्रकारिताबाट हामी कदापि विचलित हुनेछैनौं । नववर्ष २०७८ को शुभकामना ।

अध्यक्ष/प्रधान सम्पादक
कृष्णप्रसाद बास्तोला

Related News

सम्बन्धित समाचार

hero news full width