नक्कली सुन देखाएर लुटपाट गर्ने पक्राउ

आदर्श समाज सम्वाददाता
चैत्र ३१, २०७७
628999-arrestthinkstockphotos

दमौली।  नक्कली सुन देखाएर ठगी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।

आइतबार सदरमुकाम दमौली बजारको व्यास ४, मादीको पुलमा नक्कली सुन देखाएर वृद्धालाई लुटने २ जना गिरोहलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको गंगाजमुना ४ स्थायी घर भई हाल पोखरा ११, रानीपौवा बस्ने ३९ वर्षीय शमशेर सुनार र धादिङको सेरतुङ २, बराङगाउँ स्थायी घर भई हाल पोखरा २६, बूढीबजार बस्ने ४४ वर्षीय प्रेम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेलले जानकारी दिए ।

म्याग्दे १, धरादीकी ६४ वर्षीया सेतीमाया रानामगरले कानमा लगाएको डेढ तोलाको १ जोर बेरुवा रिङ, घाँटीमा लगाएको ७ लालको सुनको तिलहरि र साथमा रहेको नगद सहित कुल १ लाख ५८ हजार रुपैयाँ बराबर ठगी भएको थियो ।

सामान्यतया सुनको कारोबार गर्ने वित्तीय संस्था र सुनचाँदी व्यवसायीले कुन सुन सक्कली र कुन नक्कली भन्ने छुट्याउन सक्ने भए पनि सर्वसाधारण प्रलोभनमा नक्कली धातुलाई समेत सुन भन्दै ठगिने गरेका छन् । यसअघि पनि ग्रामीण क्षेत्रबाट आएका वृद्धवृद्धालाई यसरी नै लुटपाट गरिएको घटना सार्वजनिक भएपछि प्रहरीले सार्वजनिक सूचना नै जारी गरेको थियो ।

नक्कली सुनले सक्कली साट्ने, नक्कली सुनले नगद साट्नेजस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले आवश्यक सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width