‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’

Avatar आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७७
Shekhar-Koirala-Nepali-COngress-News

पोखरा । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएका छन् । छँदछँदैको संसद विघटन गरी संविधान नै खतम पार्ने ओलीको प्रपञ्चलाई सर्वोच्च अदालतले रोकिदिए पनि राजनीतिक जटिलता भने कायमै रहेको उनको भनाइ थियो । संसद पुनस्र्थापनापछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनु पर्नेमा अटेरी गरको आरोप उनले लगाए ।

नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले भने,‘अहिले नैतिकताको खडेरी परेको छ, नैतिकता हुन्थ्यो भने प्रधानमन्त्रीजीले राजीनामा दिएर निस्कनु पथ्र्यो ।’ पुनस्र्थाथापित संसद समेत अहिले अहिले भूमिकाविहीन भएकामा उनले चिन्ता जाहेर गरे । सभामुखले विशेषाधिकार प्रयोग गर्नुपर्नेमा त्यो नभएको र सरकारले पनि संसदलाई बिजनेस नदिएका कारण थप जटिलता सिर्जना भएको नेता कोइरालाले भनाइ राखे ।

मुलुकको परिस्थिति अहिले अत्यन्तै जटिल मोडबाट गुज्रिरहेको र यसको निकासको जिम्मेबार कांग्रेसको काँधमा आएको भन्दै उनले छिटो चुनाव गराउका लागि कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिनु, नयाँ सरकारमा सामेल हुनका लागि जनता समाजवादी पार्टीमा विवाद उब्जिनुजस्ता कारणले राजनीतिक जटिलता थपिएको उनको भनाइ थियो । सरकारमा आबद्ध नेकपा सर्वोच्चको आदेशपछि पुरानै अवस्थामा फर्किनु, त्यसपछि एमालेमा पनि २ धार देखिनुले राजनीतिक अस्थिरता बढेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली चुनावको पक्षमा रहे पनि अब उनी नेतृत्वको सरकारलाई चुनाव गराउने नैतिक दायित्व नरहेको उनको भनाइ थियो । ‘मुलुकलाई राजनीतिक निकास दिने दायित्व अब कांग्रेसमै आएकाले हामीहरुकै नेतृत्वको सरकारले चुनाव गराउनुपर्छ,’ उनले भने । नेता कोइरालाले देशको यो विषम परिस्थितिलाई कांग्रेस टुलुटुलु हेरेर बस्न नहुने र अब जतिसक्दो छिटो निकास दिनुपर्ने पनि बताए । पार्टीको महाधिवेशन, नयाँ सरकार गठनसँगै चुनावतर्फ लाग्नुपर्नेमा जोड दिंदै उनले यसका लागि पार्टीको नेतृत्व अग्रसर हुनुपर्ने उनको भनाइ थियो । आम निर्वाचन सकेसम्म मंसिर र नभए चैतमा हुनेगरी जुट्न उनले आग्रह पनि गरे ।

कांग्रेस नेता कोइरालाले जनता समाजवादी पार्टीको १ समूह प्रधानमन्त्री ओलीसँग नजिकिन खोज्नु नै अस्वभाविक रहेको टिप्पणि गरे । कुनै पनि हालतमा ओली सरकारलाई टिकाउनु भनेको मुलुकलाई थप अन्धकारमा धकेल्नु रहेको उनको भनाइ थियो । उनले भने, जसपाले संविधान संशोधन लगायत माग कांग्रेस र माओवादीले पहिले नै पूरा गर्न खोज्दा एमालेले नै विफल पारेको स्मरण उनले गरे । उनले भने, ‘यस्तो अवस्थामा फेरि एमालेसँगै सहकार्य गर्न खोज्नु राष्ट्रका लागि निकै घातक हुन सक्छ ।’

अबको सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनु स्वाभाविक भए पनि जसपाले नेतृत्व गरे पनि कुनै आपत्ती नहुने उनले बताए । प्रधानमन्त्री ओलीसँग पार्टी सभापति शेरबहादुर देउवाको निकटताप्रति टीकाटिप्पणि भइरहेको बारे प्रतिक्रिया दिँदै उनले यसको जवाफ सभापतिले नै दिनुपर्ने बताए । सार्वजनिक कार्यक्रममा सभापति देउवा र वरिष्ठ नेताको भगडालाई उनले ‘विडम्बनापूर्ण’ भने ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads