प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७७
pradesh pramukh (3)

कावासोती । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देशको समृद्धिको लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका – १०, प्रगतिनगर, भगवतीटोलमा रहेको नवनेपाल आधारभूत विद्यालयको १५ औं वार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले शिक्षालाई जीवन व्यवहारसँग जोड्नुपर्ने धारणा व्यक्त गरे ।

शिक्षा क्षेत्रको विकास नभएसम्म देशको समृद्धि हासिल नहुने भन्दै उनले शिक्षालाई जीवन उपयोगी बनाउनु जरुरी रहेको बताए । व्यावहारिक र व्यावसायिक शिक्षाले मात्रै देशलाई अघि बढाउन सक्ने भन्दै प्रदेश प्रमुख शेरचनले देशमा रहेको स्रोत साधन परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खालको शिक्षा नीतिको आवश्यकता औंल्याए ।

गण्डकी प्रदेशसभा सदस्य रोशन गाहाले समग्र नवलपुर क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गरिरहेको बताए । आफ्नो निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै बजेट देवचुली नगरपालिकामै विनियोजन भएको भन्दै उनले विकास, निर्माणका लागि गण्डकी प्रदेश सरकारका तर्फबाट धेरै योजना अघि बढाइएको उल्लेख गरे ।

देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठले विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त अवसरमा विद्यालयलाई सहयोग गर्ने चन्दादाता र शिक्षकहरूलाई सम्मान समेत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width