जाल्पा लघुवित्तको साधारणसभा, ४ सञ्चालक चयन

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७७
jalpa samudayiks

पोखरा । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि. को दोस्रो साधारणसभाले सञ्चालक समिति चयन गरेको छ ।

सञ्चालक समिति अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको सभाले अर्जुनकुमार श्रेष्ठ, वीरबहादुर अधिकारी, गीताकुमारी योगी गिरी र सुष्मा गौतमलाई सदस्यमा सर्वसम्मत चयन गरेको हो ।

यस्तै, सभाले ५ लाख २२ हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि निस्कासन गर्ने प्रस्ताव पारित गरेको छ । मर्जपश्चात बनेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी २५ करोड, जारी पुँजी १६ करोड र चुक्ता पुँजी १० करोड ७८ लाख रुपैयाँ रहेको छ ।

संस्थाले आर्थिक वर्ष २०८१÷२०८२ को अन्तसम्म राष्ट्रियस्तरको वित्तीय संस्था भई नेपालका ६० जिल्लामा १ सय ५५ वटा शाखा कार्यालय स्थापना गरी १ लाख ९५ हजार सदस्य आवद्ध गराउने लक्ष्य लिएको जनाएको छ ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बिमला योगीले स्वागत र नायव प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अशोककुमार आचार्यले सञ्चालन गरेका थिए ।
पोखरामा केन्द्रीय कार्यालय रहेको जाल्पा लघुवित्त तथा दाङमामा केन्द्रीय कार्यालय रहेको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था आपसमा मर्ज भई गत मंसिर १६ बाट जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको थियो ।

हाल वित्तीय संस्थाले बागमती, गण्डकी, लुम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका ७४ वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ । संस्थामा ८४ हजार सदस्यबाट २ अर्ब ६ करोड बचत संकलन गरी ३ अर्ब ८४ करोड लगानी गर्न सफल भएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width