गुणस्तरीय शिक्षामा शिक्षकको भूमिका महत्वपूर्णः मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७७
Teachers

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुणस्तरीय शिक्षाका लागि शिक्षक वर्गको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीद्वारा आयोजित ४२ औं शिक्षक दिवस तथा संगठनको १३ औं जिल्ला अधिवेशन उद्घाटनमा बोल्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन् । उनले राज्यका हरेक परिवर्तनमा शिक्षक वर्गले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

शिक्षकहरुले पेसागत जिम्मेवारी र मर्यादालाई आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै उनले समाजमा एउटा आदर्शका रुपमा आफूलाई स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार आउन थालेपछि सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक अन्तरमा कमी भएको संकेत देखिएकको छ’ उनले भने, ‘सरकारलाई शैक्षिक क्षेत्रको सुधारका लागि बौद्धिक क्षेत्रबाट निरन्तर सहयोग तथा सल्लाह हुनुपर्दछ ।’

मुलुकको समृद्धिका लागि शिक्षा क्षेत्रको विकास अपरिहार्य भएको बताउँदै उनले त्यसका लागि तीनै तहका सरकार कटिबद्ध भएर अघि बढेको जानकारी दिए ।

मुख्यमन्त्री गुरुङले पार्टीमा व्यक्ति होइन विधि, सिद्धान्त र पद्धति प्रमुख हुने विश्वास व्यक्त गर्दै वर्तमानमा देखिएको चुनौतीका लागि वाम बुद्धिजीवी संगठित भएर लाग्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले संविधानको मर्म र भावना अनुरुप शिक्षा क्षेत्रको गुणस्तर र विकासका लागि प्रदेश र स्थानीय तह मातहतमा हुनुपर्नेमा जोड दिँदै महानगरभित्रका शिक्षकको तलबमा मात्र वार्षिक १ अर्ब २५ करोड खर्च हुने गरेको जानकारी दिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलका अनुसार संगठनले शिक्षक वर्गको हक अधिकारको सुनिश्चित गर्दै रक्तदान, वक्तृत्वकला प्रतियोगिता, घुम्ती बैठक जस्ता कार्य गर्दै आएको जानकारी दिँदै दरबन्दी मिलान, स्थानीय महासंघ गठन, अन्तरजिल्ला सरुवा चुनौतीपूर्ण रहेको बताए ।

कार्यक्रममा संगठनको मुखपत्र शिक्षक आवाज भाग–४ विमोचन गरियो ।

यस्तै, विपन्न, असहाय तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण साथै संगठनको विकासमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति तथा अक्षयकोषदातालाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width