गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७७
Gandaki Cabinet building

पोखरा । गण्डकी प्रदेशमा हालको सरकार ढाल्न प्रमुख प्रतिपक्षी दलसहित ३ पार्टी एकीकृत भएका छन् । नेपाली कांग्रेस, भर्खरै सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढाल्ने १ बुँदे निर्णय गरेका छन् । सरकार ढालेपछि बन्ने नयाँ सरकारको समीकरण पनि आन्तरिक रुपमा बनाउन थालिएको छ । ‘अहिलेको सरकार विस्थापित गरेर नयाँ सरकार निर्माण गर्ने कुरामा हाम्रो सहमति छ । ३ दल एउटा सहमतिमा पुग्यो,’ कांग्रेस सांसद तथा वार्ता कमिटी संयोजक कुमार खड्का भन्छन्, ‘तर जनमोर्चाको धारणा नआई ३ दलले मात्रै निर्णयमा पुर्‍याउन सक्दैन । उहाँहरु अझै पनि अस्पष्ट हुनुहुन्छ ।’ शनिबार जनमोर्चासहितको बैठकमेत बसेको छ ।

‘३ दलले एउटा निर्णय गर्छ, त्यसमा जनमोर्चा पनि मिलेर जाऔं । अंकगणितले त्यही खोजेको छ । प्रतिगमनविरुद्धको आन्दोलन सँगै गरेको हुनाले आवाज पनि मिल्छ भनेर भन्यौं,’ खड्का भन्छन्, ‘वहाँहरु स्पष्ट हुनुहुन्न । कुनै पनि निर्णय गरेका छैनौं । अहिले बेला आएको छैन भन्नुभयो ।’ जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा एमाले र माओवादीकै संयुक्त सरकार हुनुपर्ने अडानमा छन् । ‘कांग्रेस र मधेशवादीले सरकार चलाउन सक्दैनन् । यिनीहरुले धेरै नराम्रो गरे । कम्तीमा माओवादी र एमालेले चलाएर राम्रो हुन्थ्यो भन्ने हो,’ उनले भने, ‘फुटे पनि मिलेर सरकार चलाउँदा हुन्छ ।’ उनले ३ दलको स्पष्ट खाका आएपछि मात्रै आफूहरु निर्णयमा पुग्ने सुनाए ।

ओली प्रवृत्ति बढ्दै गयो । मुख्यमन्त्री उहाँकै दाइने हात हो, अब जसरी पनि हटाउनुपर्नेछ । र नयाँ सरकार आवश्यक छ ।
– जनमोर्चा सांसद पियारी थापा

‘नयाँ स्थिति उहाँहरुले सिर्जना गर्ने हो । त्यो कुन स्थिति बन्छ, अनि बोल्छौं । अहिले यही सरकारमा समर्थन छ,’ थापाले थपे, ‘यो सरकारलाई कुनै पनि हालतमा समर्थन गर्ने भन्ने होइन । नयाँ बन्नेको अनुहार हेर्नुपर्ने भयो । मुख्यमन्त्री कसले लिने भन्नेमा अन्योल देखियो ।’ थापा पृथ्वीसुब्बा गुरुङकै सरकारलाई समर्थन गर्ने र सरकारमा जाने सोचमा छन् । तर पार्टीले यो सरकारलाई समर्थन गर्न नसक्ने भनेपछि उनी ब्याक भएका हुन् । जनमोर्चाका सांसद बीचमै सरकारी समीकरणबारे एउटै धारणा छैन । सांसद पियारी थापा अहिलेको मुख्यमन्त्रीलाई जसरी पनि हटाउने बताउँछिन् । ‘ओली प्रवृत्ति बढ्दै गयो । मुख्यमन्त्री उहाँकै दाइने हात हो,’ उनले भनिन्, ‘अब जसरी पनि हटाउनुपर्नेछ । र नयाँ सरकार आवश्यक छ ।’ सत्ता समीकरणबारे छलफल गर्न जनमोर्चाले आइतबार संसदीय दलको बैठक डाकेको छ ।

सरकार ढाल्ने योजना बुन्न कांग्रेसले सांसद कुमार खड्काको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ भने नेकपा माओवादी केन्द्रले हरि चुमानको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ । ‘यो सरकारलाई हटाएर विकल्पको सरकार कसरी बनाउने भन्ने नै हो । छलफल सकारात्मक छ,’ माओवादी केन्द्रका सांसद रामजी बरालले भने, ‘निष्कर्ष निस्किएको छैन । छिटै टुंगो लाग्छ ।’ आन्तरिक रुपमा प्रदेशको संसदीय छलफल भए पनि सबै पार्टीहरु केन्द्रीय निर्णयको पर्खाइमा छन् । अहिलेको अवस्थामा गण्डकीमा एउटै पार्टीको सरकार बन्ने स्थिति छैन । हाल एमालेको सरकारलाई माओवादी र जनमोर्चाको साथ छ । तथापि माओवादीले हात झिक्ने पक्कापक्की जस्तै छ । त्यसैले मुख्यमन्त्री गुरुङ सरकार जोगाउन आन्तरिक तयारी गरिरहेका छन् ।

सरकार ढाल्न र जोगाउन जनमोर्चाको भूमिकामा भर पर्छ । जनमोर्चाले जता समर्थन गर्‍यो, सरकार उतै बन्छ । एमालेको स्वतन्त्रसहित २८ सांसद छन् । कांग्रेस १५ र माओवादी केन्द्रसँग १२ सांसद छन् भने जनमोर्चाको ३ तथा जनता समाजवादी पार्टीको २ जना सांसद छन् । एमालेलाई छोडेर अरु पार्टी एकातिर हुँदा ३२ सदस्य बन्छ, यो संख्या सरकार गठनका लागि पर्याप्त छ । मुख्यमन्त्री गुरुङ पनि जनमोर्चालाई लिएर झिनो बहुमतको सरकार जोगाउन रस्साकस्सीमा छन् । उनले मन्त्रीको अफर गरेका थिए । तर जनमोर्चा अहिले सरकारमा नजाने केन्द्रीय निर्णयका कारण पछि हटेको हो ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…

hero news full width