अल नेपाल होमियोप्याथिक एसोसिएसनमा खगेन्द्र

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७७
homeopathi

पोखरा । अल नेपाल होमियोप्याथिक एसोसिएसनको पोखरामा शुक्रबार आयोजित १० औं महाधिवेशनले डा. खगेन्द्र कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

एसोसिएसन उपाध्यक्षमा डा. मीनराज भुषाल र डा. विरोधकुमार महतो, महासचिव डा. रामहरि श्रेष्ठ, सचिव डा. अनुप पन्थी, डा. शिशिर गिरी र डा. सुशीलकुमार कर्ण निर्वाचित भए ।

यस्तै, कोषाध्यक्षमा डा. शंकरराज पौडेल, सहसचिव डा. मनोरमा जयसवाल र अब्दुल रहमान मियाँ निर्वाचित भएका छन् ।

सदस्यहरु टोपबहादुर थापा, डा. हिराकाजी श्रेष्ठ, हिराप्रसाद गुप्ता, डा. लालबाबु महतो, डा. अमरेशकुमार पोद्धार, डा. सुरेन्द्र श्रेष्ठ, भोजकुमारी कुँवर, डा. खकिन्द्रबहादुर भण्डा.री, हिरामणि शर्मा, मो अनवर हुसेन निर्वाचित भएका छन् ।

पोखरामा आयोजित महाधिवेशनमा अधिवक्ता सुकदेव गौतमको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचन गरेको थियो । समिति सदस्य सिद्धिकुमारी गुरुङ र कृष्णबहादुर राउत रहेका थिए ।

महाधिवेशन उद्घाटन गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले गरेकी थिइन् । उनले होमियोप्याथिक उपचारबारे आमनागरिकलाई सचेतना गर्नुपर्नेमा जोड दिइन् । साथै प्रदेश सरकारले पनि सरल र सहज रुपमा हुने होमियोप्याथिक उपचारलाई स्वास्थ्य सेवाको कार्यक्रममा समेट्न सक्ने बताइन् ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जथाभावी औषधी प्रयोगले समस्या ल्याएको बताउँदै मानिसको स्वास्थ्य नबिग्रने गरी हुने होमियोप्याथिक उपचार नै वास्तविक उपचार भएको उल्लेख गरे ।

अध्यक्ष आसनबाट अल नेपाल होमियोप्याथिक एसोसिएसनका अध्यक्ष डा. कृष्णप्रसाद सुवेदीले कम खर्चिलो र स्वास्थ्यमा साइड इफेक्ट नहुने होमियोपेथिक उपचारमा सरकारले ठोस ध्यान नदिँदा धेरै जनता स्वास्थ्य सेवाबाट वञ्चित हुन पुगेको बताए ।

डा. अम्बिकाप्रसाद ज्ञवालीले होमियोप्याथिक भनेको रोग निको पार्न आफैंभित्रको शक्तिलाई जागृत गर्ने विधि भएको बताए ।

कार्यक्रममा उत्कृष्ट समाजसेवा सम्मानबाट सम्मानित अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला, विना गुरुङ, श्यामनारायण लाल कर्ण, डा. संगीत प्रधान, डा. हरिबावु दाहाल, तमु प्हेलु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङले मन्तव्य राखेका थिए ।

डा. दिलीप पाण्डेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन संयोजक विष्णुप्रसाद चापागार्इंले गरेका थिए ।

प्रधानसम्पादक बास्तोला सम्मानित

आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला उत्कृष्ट समाजसेवा सम्मानबाट सम्मानित भएका छन् ।

पत्रकारिताको माध्यमबाट समाजमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई एसोसिएसनको १० औं महाधिवेशनको उद्घाटन समारोहमा सम्मान गरिएको हो । स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष बास्तोला ४ दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील छन् । सो अवसरमा उनीसहित सञ्जीवनी दिदीबहिनी केन्द्र नेपालकी संस्थापक विना गुरुङ सम्मानित भएका थिए ।

प्रमुख अतिथि सामाजिक विकास मन्त्री नरदेवी पुन, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र होमियोप्याथिक एसोसिएसनका अध्यक्ष डा. कृष्ण सुवेदीले उनीहरुलाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला र माला लगाएर सम्मान गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width