देवचुलीमा पानीको हाहाकार

रामकुमार श्रेष्ठ
चैत्र २८, २०७७
Water-crisis

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पानीको मुहान सुक्दै जान थालेपछि पिउने पानी र सिँचाइमा समेत अभाव हुन थालेका छन् ।

पूर्वी नवलपरासीकै अग्लो पहाड देवचुली डाँडाको फेदी यहाँको पानीको मुल स्रोत हो । तर डाँडाको हरियाली बिस्तारै रित्तिदै गएपछि पछिल्लो २५/२७ वर्ष यता पानीको मुहान सुक्दै जाने क्रम बढेको छ ।

२०५२ सालसम्म पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको हरेक वडामा सिँचाइको प्रशस्त सुविधा थियो । भर्खरभर्खर जडान गरिएका गाउँघरका धारामा २४ सैं घन्टा पिउने पानी उपलब्ध हुन्थ्यो ।

तर विस्तारै देवचुली नगरपालिकाको मुख्य पानीको स्रोत रहेको मुहानको डाँडा देवचुली डाँडाको हरियाली घट्न थालेपछि पानीको मुहान सुक्दै जाने थाले । यतिमात्र होइन, यहाँ बढ्दो सहरीकरणलाई धान्न ठाउँठाउँमा लगाइएको ठूला ठूला बोरिङ, जग्गामा आएको खण्डीकरणले पनि पानीको मुहान सुक्न थालेको देवचुली नगरपालिका ७ का वडा अध्यक्ष भूपराज पाठकले बताए ।

देवचुली नगरपालिकाको देउसत खोलाको पानीबाट देवचुली नगरपालिकाको प्रगतिनगर खानेपानी, धाराडी खानेपानी, देवचुली खानेपानी, रानीबेल खानेपानी, जनबस्ती खानेपानी आयोजनामा पानी ल्याइने गरिएको छ ।

त्यसैगरी टोक्रे नहर, कीर्तिपुर नहर, सीताबास नहर, देउसत नहर, गैडी नहर, जनबस्ती नहर, मृतुङ नहरबाट गरी देवचुली नगरपालिकाको ६० प्रतिशत भूमि अर्थात १० हजार बढी बिगाहा जमिन देउसत खोलाबाटै सिञ्चित हुने गर्दछ ।

पछिल्लो समय पानीको ठूलो मुहान देउसत खोलाको मुहान मात्रै सुक्दै जान थालेको छ । यहाँका स साना ४/५ वटा पानीको मुहान सुकिसकेको यहाँका बासिन्दाहरु बताउँछन् ।

प्रदेश सरकारले १ घर १ धाराको नारा लगाइरहँदा नवलपुरको देवचुलीमा भने पानीको हाहाकार छ

पानीको मुहान सुक्दै गएपछि पिउने पानीको लागि टंकीमा पानी लगे सिँचाइ गर्न अभाव हुने र सिँचाइ गरे पिउने पानीको अभाव हुने गरेको स्थानीय बासिन्दा वीरबहादुर गुरुङले बताए ।

देवचुली नगरपालिकाले अहिले प्रत्येकको घरघरमा शुद्ध पिउने पानी पुर्‍याइरहँदा देवचुली नगरपालिकाको मुख्य पानीको स्रोत मुहान नै सुक्दै जाने थालेपछि यहाँका बासिन्दालाई केही वर्षभित्रै सिँचाइका लागि मात्र नभई पिउने पानीसमेत अभाव हुने निश्चित छ ।

नगरपालिकाले एक्लैले मात्र नभएर संघीय सरकार र प्रदेश सरकारसँग समेत मिलेर पानीको मुहान संरक्षणका लागि विशेष योजना ल्याउने तयारीमा नगरपालिका रहेको देवचुली ७ का वडाध्यक्ष पाठकले बताए ।

देवचुली नगरपालिकाको प्रगतिनगर खानेपानी सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले पनि नदीको र जमिनमुनिको पानी दुवैको सतह घट्दै गएको बताउँछन् ।

उनले अघिल्लो वर्ष आफूहरुले गरेको परीक्षणको क्रममा पनि त्यो पाएको र चैत, वैशाखको समयमा गत १५ वर्षको तुलनामा पानीको सतह निक्कै घटेकाले मुहानको पानीमात्र नभएर अन्य विकल्पको खोजी गरेर पिउने पानी उपलब्ध गराउने गरेको बताए ।

पानीको सतह घट्दै जानु र बढ्दो सहरीकरणले जनसंख्याको चाप बढ्दै जाँदा मुहानको पानीले नपुगेर जमिनमुनिको पानीको स्रोत प्रयोग गरिएको र अहिले त्यो पनि बिस्तारै घट्दै गएको उनले बताए ।

भुसालका अनुसार देवचुली नगरपालिकामा अहिले सामुदायिक वन, नगरपालिकासँग सहकार्य गरेर नांगा डाँडामा वृक्षरोपण गर्ने, ठाउँठाउँमा डिल तथा पोखरीहरु गराउने काम थालिएको छ ।

एकातिर हरिया डाँडाहरु नांगै हुँदै जानु र अर्कोतिर वनमा डढेलो लाग्दा जमिनको माथिल्लो सतहको माटो पाक्न गई त्यो माटोले आकाशबाट परेको पानी सोसेर जमिनमुनि पुर्‍याउन नसक्दा पनि जमिनमुनिको पानीको सतह घट्दै गएको डिभिजन वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत मोहनराज काफ्लेले बताए ।

पानीको मुहान सुक्दै जाने समस्या देवचुली नगरपालिकामा मात्रै होइन । जताततै छ । खास गरेर बढ्दो प्रदूषणका कारण भएको जलवायु परिवर्तन र त्यसका कारण तात्दै गएको पृथ्वी नै मुख्य हो । त्यसका लागि सबै लाग्नु आवश्यक छ ।

विगतको १५ वर्षभन्दा एकदम कम बोरिङको मापन पानीको चाप घटेको मुल मुहानको पानीमात्र वितरण हुन्थ्यो भने अहिले पानीको स्रोत घट्नु, जनसंख्याको चाप बढ्नुले भूमिगत र सतह दुवै घटेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width