विषयगत समितिका बैठकमा माननीय गयल

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७७
pac (2)

पोखरा । गण्डकी प्रदेश सभाको सार्वजनिक लेखा समितिमा सभापतिसहित १३ सदस्य छन् । समितिको बैठक बस्न कम्तीमा २५ प्रतिशत उपस्थित हुनुपर्छ । प्रस्ताव पारित गर्न बहुमत सदस्य अर्थात् ५० प्रतिशतभन्दा बढीको उपस्थिति अनिवार्य छ । मत बराबर भएमात्र समिति सभापतिले निर्णायक मत दिन पाउने व्यवस्था छ । यसर्थ सामान्य अवस्थामा प्रस्ताव पारित गर्न सभापतिसहित ८ जना उपस्थिति हुनुपर्छ ।

समितिको बैठक मंगलबार बिहान ११ गते नदीपुरस्थित कार्यालयमै बोलाइएको थियो । बैठकमा छलफल हुने एजेन्डाका बारेमा पहिल्यै जानकारीसमेत गराइएको थियो । समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने मुख्य एजेन्डा थियो । समितिको प्रभावकारिताबारे समेत छलफल गरिने सचिवालयले सदस्यहरुलाई जानकारी गराएको पनि हो । बिहान ११ बजेपछि समितिका सदस्यहरु आउने क्रम सुरु भयो । सभापति कुमार खड्का आउन केही ढिला गरे । जिल्ला प्रशासन कार्यालय कास्कीमा छलफल भएकाले केहीबेर ढिलाइ भएको भनेर माफी माग्दै उनी बैठक कक्ष प्रवेश गरे । साथमा थिए समिति सदस्य बिन्दुकुमार थापा ।

सासंद महेन्द्र थकाली लेखा समितिका १२ मध्ये २ बैठकमा मात्र हाजिर भए

केहीबेरको अनौपचारिक छलफलपछि सभापति कुमार खड्काले बैठक सुरु गरे । सँगै एजेन्डा पनि राखे । पहिलो एजेन्डा वार्षिक प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने थियो । तर प्रस्ताव पारित गर्नका लागि बैठकमा सदस्य संख्या अपुग थियो । समिति सदस्य मेखलाल श्रेष्ठ फोन गरेर अरु सदस्य बोलाउँदै थिए । तर थपिने छाँटकाँट थिएन । सभापतिबाहेक ७ सदस्य चाहिनेमा ६ जनामात्र थिए । यसैबीचमा सभापतिले कुमार खड्काले भने, ‘माननीय प्रभा कोइराला आउँदै हुनुहुन्छ, उहाँ आएपछि प्रस्ताव पारित गरौंला, छलफल भने गर्दै गरौं ।’ पहिलो प्रस्तावमा छलफल सकिएर दोस्रोमा प्रवेश गरेलगत्तै समिति सदस्य प्रभा कोइराला आइन् । अनि बल्ल प्रस्ताव पारितका लागि प्रक्रिया अगाडि बढाइयो । मंगलबारको बैठकमा सभापतिसहित दिलमाया रोकामगर, प्रकाशचन्द्र दवाडी, प्रभा कोइराला, बिन्दुकुमार थापा, मायानाथ अधिकारी, मेखलाल श्रेष्ठ र रामजी बराल जीवन उपस्थित थिए ।

प्रदेश सभाका ४ मध्ये सबैभन्दा क्रियाशील र कामका हिसाबले प्रभावशाली छ सार्वजनिक लेखा समिति । क्रियाशील समितिमा त कोरम पुर्‍याउन यत्तिका सकस हुन्छ भने अरु समितिको हाल के होला ? समिति बैठकमा कोरम पुर्‍याउन धौ परेको यो नै पहिलोपटक भने होइन । धेरैपटक यस्तो अवस्था पार गरिएको बताउँछन् सचिवालयका कर्मचारी ।

आर्थिक वर्ष २०७६/७७ मा सार्वजनिक लेखा समितिका १२ वटा बैठक बसे । तीमध्ये सबै बैठकमा उपस्थित हुने सभापतिसहित ३ जना छन् । सभापति खड्का, सदस्य ओमकला गौतम र गायत्री गुरुङ १२ वटै बैठकमा उपस्थित भए । रामजीप्रसाद बराल जीवन १० वटा बैठकमा सहभागी हुँदा जुनादेवी नेपाली, बिन्दुकुमार थापा र मायानाथ अधिकारी ९/९ वटा बैठकमा उपस्थित भएर हाजिर गरेका छन् । प्रभा कोइराला ८ वटा, दिलमाया रोकामगर, मेखलाल श्रेष्ठ ७/७ बैठकमा र महेन्द्रबहादुर थकाली र रामबहादुर गुरुङ ४/४ वटा बैठकमा सहभागी भए । महेन्द्रबहादुर थकाली जम्मा २ वटा बैठकमा सहभागी भए ।

समिति सदस्य रामजीप्रसाद बराल जीवन समितिको आवश्यकताभन्दा पनि सदस्यको अनुकूलता हेरी बैठक बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउँछन् । उनले भने, ‘विषयवस्तुको गम्भीरताप्रति सभापतिज्यू संवेदनशील हुनुहुन्छ, तर समितिका सदस्यले कति बोध गर्न सके भन्ने महत्वपूर्ण हो ।’ समिति सभापति कुमार खड्का समितिका सदस्यलाई क्रियाशील बनाउन आफू लागिरहेको बताउँछन् । उनले भने, ‘सरकारले गरेको कामको मूल्यांकन गर्दै आर्थिक सुशासनका लागि हामी प्रतिबद्ध छौं, सदस्य माननीयको सक्रियता बढाउन म क्रियाशील छु ।’

गण्डकी प्रदेश सभामा ४ वटा विषयगत समिति छन् । कामका आधारमा विधायन समिति धेरै क्रियाशील छ । तर कामको नतिजामा भने लेखा समिति अगाडि छ । त्यसपछि अर्थ तथा विकास समितिको सक्रियता छ । प्रदेश मामिला समितिको बैठक भने यदाकदामात्रै बस्छ । गण्डकी प्रदेश सभामा दर्ता भएका विधेयक अन्य विषयगत समितिमा नभई विधायन समितिमा मात्रै छलफल गरी प्रारित गर्ने प्रावधान छ ।

Related News

सम्बन्धित समाचार

  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…
  • गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सपना प्रधान…

hero news full width