सकियो एकल टेबल टेनिस

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७७
tt newss

पोखरा । कास्की जिल्ला टेबुलटेनिस संघको आयोजनामा विश्व टेबलटेनिस दिवसको अवसरमा आयोजित एकल टेबलटेनिस प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटनपछि राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले कुनै पनि खेलका खेलाडीले लगनशीलता, निरन्तरता र अनुशासनको पालना गर्दै नियमित प्रशिक्षण गरिरहनुपर्ने बताए ।

संघका अध्यक्ष उत्तम जोशीले टेबल टेनिस खेलको सम्भाव्यता भए तापनि खेलाडीलाई नियमित प्रशिक्षण दिने स्थायी ठाउँ नभएको गुनासो गरे । उनले कास्की जिल्लाले राम्रो खेलाडी उत्पादन गर्दै आएको र आगामी दिनमा नियमित प्रशिक्षण दिइने स्पष्ट पारे ।

प्रतियोगितामा १६ वर्षमाथिको उमेर समूहमा महिलातर्फ मुना थापा प्रथम, निर्मला ओली द्वितीय, ज्योति गुरुङ र सिमरन गुरुङ तृतीय भए । १६ वर्षमुनि प्रथम अंकिता गुरुङ, द्वितीय अनुशा गौतम, तृतीय तृषा गुरुङ र सपना गुरुङ भए ।

१६ वर्ष माथिको उमेर समूहमा पुरुषतर्फ प्रथम सुमेस लामा, द्वितीय अनुज कुँवर, तृतीय रुप गुरुङ र दीपकराज गिरी भएका छन् । १६ वर्ष मुनि प्रथम सुलभ केसी, द्वितीय प्रितम गुरुङ, तृतीय मिलन खड्का र विवेक तामाङ भए ।

राइजिङ प्लेयरको उपाधि दिप्सन शाही ठकुरी र सोनिया गुरुङले प्राप्त गरेका थिए । विजेता खेलाडीलाई कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले मेडल प्रदान गरेका थिए ।

संघ अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव फणीन्द्र तिमिल्सिनाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width