केन्द्र विवादले भानु नगरको कामकाज ठप्प

सविन लामिछाने
चैत्र २३, २०७७
bhanu nagarpalika

दमौली । भानु नगरपालिकाका कर्मचारीले आइतबारदेखि अनिश्चितकालका लागि कामकाज बन्द गरेका छन् । कार्यालयको सामान चोरी गरेको आरोपमा कर्मचारीलाई प्रहरी हिरासतमा राखेपछि कर्मचारी आन्दोलित भएका हुन् ।

नगरपालिकाका कर्मचारीहरुले आइतबार संयुक्त विज्ञप्ति जारी गरी कर्मचारीको आवश्यक सुरक्षाको प्रत्याभूति र सुरक्षित तबरले काम गर्ने वातावरण नभएसम्म कामकाज बन्द गरिएको घोषणा गरेका हुन् ।

नगरपालिकाको फुस्रेटारबाट भन्सारस्थित कार्यालयमा शुक्रबार बेलुका ७ बजे सामान लैजाने क्रममा १ नगर प्रहरीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको नगरपालिका १ कर्मचारी जानकारी दिए ।

स्थानीय वडा अध्यक्ष, जनप्रतिनिधि र स्थानीय उपस्थितिमा चोरीको झुटो मुचुल्कामा जर्बजस्ती हस्ताक्षर गर्न लगाएर कर्मचारीलाई नियन्त्रणमा लिइएको भन्दै कर्मचारीले आन्दोलित भएको उनले बताए ।

भानु नगरपालिकाको मुकाम भानु २ फुस्रेटारमा भए पनि नगरपालिकाले त्यस ठाउँमा अपायक परेको भन्दै हाल भानु १ भन्सारको कार्यालयबाट मुख्य प्रशासनिक काम गरिरहेको छ । त्यसका लागि सामान सार्ने क्रममा सबै कार्यालयीय काम फुस्रेटारबाटै हुनुपर्ने मागमा रहेका स्थानीय तथा जनप्रतिनिधिले कर्मचारीले सामान चोरी गरेको भन्दै उजुरी गरेपछि इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले ४ कर्मचारीलाई नियन्त्रणमा लिएर मुचुल्का गराएको विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाका वरिष्ठ अधिकृत सुनील पाण्डेले इमान्दार भएर गरिएको काममा चोरीको आरोप लागेपछि कर्मचारीले असुरक्षा महसुस गरेको बताए । उनले भने, ‘स्टोरकिपर, कर्मचारी र प्रहरीसहित गएको टोलीले कार्यालय समयभन्दा बाहिरी समयमा काम गरेका थिए । उनीहरु चोरी गर्न गएका थिएनन्,’ उनले भने, ‘इमान्दार कर्मचारीलाई जनप्रतिनिधिले नै चोरी गरेको आरोप लगाए ।’

यता, नगरप्रमुख उदयराज गौलीले कसैलाई प्रहरीले नियन्त्रणमा नलिएको दाबी गर्छन् । उनले भने, ‘सामान्य विषयमा विवाद हो । हामीले छलफल गरिएका छांै ।’ उनले भने, ‘सामान चोरी भएको छैन । चोरी गरिएको कुरा असत्य हो ।’ भानु नगरपालिकाको केन्द्र फुस्रेटार भए पनि कार्यालयका धेरै काम भन्सारमा हुन थालेपछि फुस्रेटारवासीले विरोध गर्दै आएका छन् । कार्यालयका सामान सार्न थालेपछि फुस्रेटारको कार्यालय पूर्ण स्थानान्तरण हुनसक्ने आशंकामा स्थानीय र जनप्रतिनिधिले स्थानान्तरण गरेपछि विवाद सिर्जना भएको हो । केन्द्र विवादले नगरपालिकाको काममा धेरै प्रभावित भएको १ कर्मचारीले बताइन् । उनले भनिन्,‘जनप्रतिनिधिको विवादले कर्मचारीहरुले राम्रोसँग काम गर्न पाएका छैनन् । ’

Related News

सम्बन्धित समाचार

hero news full width