स्याङ्जामा जनगणना तयारी

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७७
janaganana

स्याङ्जा । जिल्ला जनगणना कार्यालय स्थापनासँगै स्याङ्जामा जनगणना तयारी सुरु भएको छ । हरेक १० वर्षमा गरिने यसपालिको जनगणना चैत १ गते कार्यालय स्थापनासँगै सुरु भएको हो ।
सदरमुकाममा बुधवार आयोजित जनगणना सम्बन्धी सरोकारवालालाई सेचतनामूलक कार्यक्रम मार्फत सोको जानकारी गराइएको हो । मुलुक संघीयतामा गइसकेपछिको पहिलो जगगणना भएकोले हरेक प्रश्न हरेक परिवारमा सोधेर विवरण उल्लेख गरिने हँुदा अहिलेको जनगणनालाई महत्व साथ हेरिएको जनगणना अधिकारी शारदा शर्माले जानकारी दिइन्।
जनगणनामा ८० वटा प्रश्नावली सोधिने भएको छ । ‘मुख्य प्रश्नावलीमा ५५, घर तथा घरपरिवार लगत सूचीकरण सम्बन्धमा २५ वटा र अन्य सामुदायिक प्रश्नावली छन्,’ उनले भनिन् ‘उमेर, लिंग, जातजाति, भाषा, धर्म, शिक्षा, वैवाहिक अवस्था, बसाइँसराइ, अपांगता, आर्थिक अवस्था, काम, प्रजनन्, पेसा, घर, कृषि, पशु, वित्तीय सुविधा, शिक्षा, सरकारी सेवा, राजश्व, आर्थिक पूर्वाधार, सेवा, विपद्, विदेशमा रहने सबैको विवरण लगायतका प्रश्नावली समावेश छन्।’
गणकले तथ्यांक संकलन गर्नुभन्दा पहिले सुपरिवेक्षकले घर सर्भे गर्नेछन्। सुपरिवक्षकले वैशाख २६ देखि जेठ १४ेसम्म घरपरिवार सूचीकरण गर्नेछन् । गणकले जेठ २५ देखि असार ८ सम्म गणना गर्नेछन्।
१९६८ सालदेखि सुरु जनगणनाको यो १२ औं शृंखला हो । यसले परिवारको अवस्था, घरको संख्या, तला, कृषि प्रयोगमा रहेको जग्गा, बैंक कारोबार, रोजगार तालिम, भूकम्प लगायत क्षतिपछि अनुदानबाट बनेका घरसहितको घरपरिवार सूचीकरण विवरण आउनेछ ।
दोस्रो चरणमा जेठ २५ देखि असार ८ सम्म गणकले मूल गणना गर्नेछन् । यसले पहिले सुपरभाइजरले गणना गरेको सूचीकृतका घरघरमा पुगेर व्यक्तिव्यक्तिको विवरण दिनेछ । पुर्खाको भाषा, रोजगारी क्षेत्र, बालबालिकाको जन्मदर्ता लगायत केही नयाँ प्रश्न थप भएको अधिकारी शर्माले जानकारी दिइन् ।

‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ १२ औं जनगणना देशभर सञ्चालित छ ।

‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ १२ औं जनगणना देशभर सञ्चालित छ । जनगणना आधारमा मुलुकको विशेषता थाहा हुने र राज्यलाई नीति निर्माण सहित विकास निर्माणमा समेत सहयोग पुग्ने भएको हँुदा जनगणनालाई सबैले अपनत्व लिएर सही तथ्यांक सहित सही विवरण टिपाउन प्रमुख जिल्ला अधिकारी तथा जिल्ला जनगणना समन्वय समिति संयोजक दीपकराज नेपालले सुझाव दिए ।
जनगणनालाई छिटोछरितो र विश्वसनीय गराउन वडा तहसम्म विभिन्न समिति निर्माण गरिने र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति गठन गरिएको छ ।
स्याङ्जामा ६८ देखि ७० हजार घरधुरीमा पुगेर जनगणना गरिने अनुमान छ । जिल्लाभर ४ सय ३४ गणक र १ सय ७ जना सुपरिवेक्षक खटाइने छ । एक गणक २ सय परिवारमा पुग्छ भने १ सुपरिवेक्षकले ४ देखि ५ जना गणक परिचालन गर्नेछन् । यसपटक ९ महिनाभित्र तथ्यांकीय प्रतिवेदन सार्वजनिक गरिने जनाइएको छ ।
स्याङ्जामा ४ वटामा इलाकामा जनगणना कार्यालय स्थापना गरिने भएको छ । यहाँका ११ पालिका मध्ये पुतलीबजार, वालिङ, बिरुवा र गल्याङमा वैशाख १ मा कार्यालय स्थापना गरिने भएको सहायक जनगणना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिए।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दिलीप बगाले, नेपाली कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र डुम्रे, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार निर्भिकनारायण भुर्तेल, प्रअ मुक्तिप्रसाद रेग्मी, स्थानीय जनगणना अधिकारी पमनारायण शर्मा, जनजाति महासंघका जुमकाजी गुरुङ अपांग समाजका अध्यक्ष युवराज पराजुली, कर्मचारी राजु मरासिनी लगायतल लगायतले सही तथ्यांकका लागि सही सूचना दिनुपर्नेमा जोड दिए । २०६८ को जनगणना अनुसार स्याङ्जाको जनसंख्या २ लाख ८९ हजार १ सय ४८ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width