पश्चिमाञ्चल अस्पताल फार्मेसीको लापरबाही : घाँटीका बिरामीलाई हड्डीको औषधी

सुनील सापकोटा
चैत्र २१, २०७७
Gandaki Hospital photo 1

पोखरा । पोखरा १७ घारीपाटनकी सीता पौडेललाई घाँटीसम्बन्धी समस्याले सताइरहन्छ । उनले स्वास्थ्य बिमा पनि गराएकी छन् । उनी मंगलबार गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगिन् । त्यहाँ स्वास्थ्य बिमाबाट सहुलियत हुने र निजी अस्पतालको तुलनामा पैसा नै तिर्नुपर्दा पनि कम खर्च हुने उनले बुझेकी छन् ।

स्वास्थ्य बिमा काउन्टरमा पुगेर उनले बिरामी जँचाउने पुर्जी लिइन् । पुर्जी दिने बेला सोधियो, ‘आमा के को समस्या छ ?’, उनले भनिन्,‘नानी म घाँटी दुखेर जँचाउन आएकी ।’
बिमा काउन्टरबाट उनले नाक, कान, घाँटी (इएनटी) को जाँच गराउन टिकट पाइन् । बिमा काउन्टरका कर्मचारीले भने, ‘आमा कोठा नं १८ मा जानुहोस् है ।’
५२ वर्षीया सीता आफ्ना १ जना सहयोगीका साथ इएटी जाँच कक्षतर्फ लागिन् । डाक्टरसमक्ष सबै समस्या बताइन् । डाक्टरले केही सल्लाह, केही उनले अपनाउनुपर्ने व्यवहार र औषधी लेखेर पठाइदिए ।
उनी त्यहाँबाट सरासर अस्पतालभित्रकै फार्मेसीमा पुगिन्, बिमाका बिरामीको पुर्जी बुझाउने काउन्टरअघि लाइन बसिन् र प्रेस्क्रिप्सन बुझाइन् ।
डाक्टरले ५ प्रकारको औषधी लेखिदिएका थिए । तर उनले २ औषधी बिमामार्फत् प्राप्त गरिन् भने २ औषधी बाहिर निजी फार्मेसीमा किन्नुपर्ने भयो । डाक्टरले सिफारिस गरेको १ प्रकारको औषधी खानु नपर्ने वा के भएको उनलाई पत्तो भएन । निजी फार्मेसीमा २ प्रकारको औषधी किनिन् ।

यता, सोही दिन पोखराकै अर्की २५ वर्षीया सीता पौडेल ढाड दुख्ने समस्याले सताएपछि अस्पताल पुगिन् । उनको पनि स्वास्थ्य बिमा छ । हाडजोर्नी दुखाइ निरन्तर भए पनि अस्पताल पुगेकी उनले बिमा टिकटमार्फत जाँच गराइन् ।

डाक्टरले एक्सरे गर्न सुझाए । त्यसपछि लम्बियो जाँच प्रक्रिया । एक्सरे गर्नेको लामो लाइन थियो । बल्लतल्ल पालो आयो । एक्सरे रिपोर्ट राम्रै आयो । समस्या देखिएन । डाक्टरले ४ प्रकारको औषधी लेखिदिए । उनी पनि औषधी लिन अस्पतालभित्रकै फार्मेसी पुगिन् । उनलाई ४ प्रकारको औषधी बिमामार्फत पाइने र १ प्रकारको औषधी किन्नुपर्ने फार्मेसीका कर्मचारीले बताए ।

उनी अलमल्ल परिन् । औषधी के के हो भन्ने नचिने पनि डाक्टरले ४ प्रकारको औषधी आफूलाई सिफारिस गरेको र अर्थाेपेडिक डिपार्टमा जाँच गराएको उनलाई थाहा थियो । औषधी र पे्रस्क्रिप्सन इएनटीको भएपछि उनले त्यो औषधी आफ्नो नभएको बताइन् । आफू ५२ वर्षको पनि नभएको उनको जिकिर थियो ।

बिरामीको नाम र १/२ प्रकारका औषधीसमेत मिल्न गएकाले त्यस्तो भएको देखिन्छ

आफ्नो ढाडको समस्या भएको र अर्थाेपेडिकमा जाँच गराएकाले यो औषधी लैजान्न भनेपछि फार्मेसीका कर्मचारीले भने, ‘अहिले भिड छ, कार्ड कता पर्‍यो कता, पछि खोजौंला ।’
कुरो के रहेछ भने अस्पताल फार्मेसीले ५२ वर्षीया सीता (इएनटी बिरामी) लाई २५ वर्षीया सीता (हाडजोर्नी बिरामी) का लागि सिफारिस भएको औषधी दिएर पठाएको रहेछ । उनले २५ वर्षीया सीताको स्वास्थ्य बिमा कार्डसमेत फिर्ता लिएर घर गएकी रहिछन् ।

कसरी यस्तो भयो भन्ने जिज्ञासामा ५२ वर्षीया सीता पौडेलले भनिन्, ‘नानी, म त अक्षर चिन्दिनँ, जे दिए त्यही लिएर गएँ ।’ उनले थनिन्, ‘तपाईं पढ्न जान्ने भएर मात्रै, नत्र अर्कै औषधी खाने रहेछु, अनि के सञ्चो हुन्थ्यो ?’ आफू घर पुगेर फेरि फर्किएर आएको उनले बताइन् ।

२५ वर्षीया सीताले प्रेस्क्रिप्सन अनुसारको औषधी दिन पटक पटक आग्रह गरेपछि प्रेस्क्रिप्सनमा अंकित मोबाइल नम्बरमा फोन गरी बोलाइएको थियो । अर्की सीतालाई फोन गरेर औषधी फरक परेकाले लिएर आउन फार्मेसी कर्मचारीले भनेका थिए ।

फार्मेसीमा नाम बोलाएर औषधी दिने चलन छ । सोहीकारण झुक्किएको फार्मेसीका कर्मचारी बताउँछन् ।

५२ वर्षीया सीताका सहयोगी भन्छन्, ‘डाक्टरका अक्षर र औषधी चिन्नै सकिन्न । फार्मेसीले आफूसँग भएका औषधी दिने गर्छन्, त्यसैमाथि टाउकोको समस्यामा खुट्टाको दबाइ, अनि कसरी निको हुन्छ ?’

अस्पताल फार्मेसीमा पटक पटक यस्तै हुने गरेको अस्पतालकै सरसफाइमा काम गर्ने १ कर्मचारीले खुलासा गरेका छन् । उनले भने, ‘यसमा त नाम नै मिलेको रहेछ, नामै नमिल्ने बिरामीमा पनि औषधी फरक पर्छन् ।’ यस्ता घटना खासै बाहिर नआउने उनको भनाइ छ ।

पक्षे अस्पताल फार्मेसी अधिकृत भूपेन्द्रकुमार पौडेलले फार्मेसी घटनाबारे आफूले अध्ययन गरिरहेको र यथार्थ विवरण अस्पताल निर्देशकसमक्ष पेस गर्ने बताए । उनले भने, ‘घटनामा बिरामीको नाम र १/२ प्रकारका औषधीसमेत मिल्न गएकाले त्यस्तो भएको देखिन्छ । त्यस्ता कमजोरी नहोस् भनेर सचेत छौं,’ पौडेल भन्छन्,‘घटनामा दोषी देखिए जागिरबाट हटाउनेसम्मको कारबाही हुनसक्छ, यसअघि अस्पतालको इथिक्स विपरीत काम गर्ने ४/५ जनामाथि निष्कासनसम्मको कारबाही भएको छ ।’

फार्मेसीमा छैनन् पूरा कर्मचारी

अस्पताल फार्मेसीमा कोभिडपछि बिरामीको चाप बढिरहेको छ । फार्मेसीका कार्यरत कर्मचारीमध्ये सरकारी दरबन्दीका २ जना सरुवा गए । २ ले राजीनामा दिएपछि ४ जनाको दरबन्दी रिक्त रहेको अस्पताललका सूचना अधिकारी नारायण आचार्यले जानकारी दिए । उनले भने, ‘कोभिडपछि अस्पतालमा बिरामीको चाप बढेको छ । सरकारी दरबन्दीबारे हामीले पटक पटक माग गरेका छौं, आउन साथीहरु इच्छुक पनि हुनुहन्छ, दरबन्दी मिलान गरेर मन्त्रलायले पठाउँला । प्रतिष्ठानले नियुक्त गर्ने दरबन्दीमा अस्पतालले आवश्यकता अनुसार काम गर्छ ।’

अस्पताल स्रोतका अनुसार प्रशासनले करार नियुक्तिका लागि प्रक्रिया अघि बढाएको र लेखामा पुगेर रोकिएको दाबी गरेको छ । अस्पतालका लेखा कर्मचारी निर्मल पौडेल भने यसबारे जानकारी नभएको बताउँछन् ।

किन पाउँदैनन् बिमाका बिरामीले सबै औषधी ?

अस्पताल फार्मेसीमा आउने सबै बिरामीले सबै प्रकारको औषधी नपाउने गरेको गुनासो आइरहेका हुन्छन् । गुनासो सत्य छ, अस्पताल फार्मेसीले सबै प्रकारका औषधी दिन सक्दैन । फार्मेसी अधिकृत पौडेलका अनुसार डाक्टरले सिफारिस गरेका औषधी र बिमा सुविधामा उल्लेख भएका औषधी विवरण नमिलेका कारण औषधी दिन नसकिएको हो । ‘स्वास्थ्य बिमा बोर्डबाट दिइएको विवरण र दररेट अनुसारका सबै प्रकारका औषधी हामीले उपलब्ध गराएका छौं, तर कहिलेकाहीँ सकिएको हुन सक्छ, त्यस अवस्थामा १ हप्तासम्म पनि औषधी आउँछ भनेर पठाउने गरेका छौं,’ उनले भने । बिमा बोर्डले २०७४/७५ मा दिएको औषधी विवरण अनुसार काम भएको छ, नयाँ विवरणमा समेटेर पठाए बिरामीका गुनासा कम हुने उनको भनाइ छ । ‘डाक्टरले बिरामीको अवस्था अनुसार औषधी लेख्नुहुन्छ, न्यु मलिकुलर बिमा विवरणमा समावेश नभएकाले पनि औषधी उपलब्ध गराउन कठिनाइ भएको हो,’ प्रमुख पौडेलले भने । बिमा बोर्डले औषधीको प्रकार नतोकी १ लाखसम्मको सिलिङमात्रै तोकिदिने हो भने औषधी नपाउने गुनासा अन्त्य हुने अधिकृत पौडेलको तर्क छ ।

Related News

सम्बन्धित समाचार

hero news full width