उपचार नपाउँदा कष्टकर जीवन बिताउँदै द्रौपदी

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७७
Draupadi – hari bastola

गण्डकी । उमेरले ९१ पुगिन् मादी ९ छापकी द्रौपदी जमरकट्टेल । तर उनको जीवनमा कहिल्यै खुसी आएन । चिसो–तातो मिलाएर छोराछोरी, बुहारी तथा नातिनातिनालगायत आफन्तले खाना खुवाउने तथा स्याहारसुसार गर्नुपर्ने अवस्थामा दर्दनाक जीवन बिताउन बाध्य छिन् उनी ।

५ छोरी र १ छोराकी अभिभावक द्रौपदी विगत ७ वर्षयता श्वासप्रश्वासलगायतका समस्याले ग्रसित छन् । उपचार नपाउँदा कष्टकर जीवन बिताउन बाध्य उनी चैत महिनाको दोस्रो साता पर्खालको सहायतामा झुत्रो गुन्द्री बिछ्याएर गुन्द्री नै ओढेको अवस्थामा भेटिएकी थिइन् । उनले वर्षाैदेखि कष्कटर जीवन बिताउँदै आएको स्थानीयवासी बताउँछन् ।

स्थानीयवासीका अनुसार वर्षाैं पहिले श्रीमान्ले कान्छी लिएर गाउँ छाडेपछि द्रौपदीका दुखका दिन सुरु भए । श्रीमान् अहिले कान्छी श्रीमतीका साथ कास्कीको रुपा ७ हंसपुरमा बस्छन् । ५ छोरी आफ्नै घर लागिसकेका छन् भने घरमा भएका छोरा नसा र हाडसम्बन्धी रोगबाट ग्रसित छन् । आफू पनि अशक्त र बुढ्यौलीले छोएर आर्थिक विपन्नताका कारण उपचार गर्न नपाएको उनका छोरा नरनाथ जमरकट्टेलले बताए ।

बुबाले आफूहरू सानै छँदा कान्छी आमा लिएर हिँडेको बताउँदै उनले ६ छोराछोरीको पालनपोषणका लागि आमाले विगतमा निकै संघर्ष गरेको उनी सम्झन्छन् । दिदीबहिनी विवाह भई गइसकेको र आफू शारीरिकरूपमा अशक्त भएका कारण चाहेर पनि आमाको उपचार गर्न नसकेको उनले दुखेसो पोखे ।

बोली नआउने, हातको इशाराले बोलाउने दौपदीका छोरासमेत नसा र हाडसम्बन्धी रोगबाट पीडित छन्

‘पोखराको फिस्टेल अस्पतालमा उपचार गर्न त लगियो, उपचार गर्दा पेटसम्बन्धी समस्या देखियो,’ उनले भने, ‘चिकित्सकले पुन परीक्षणका लागि बोलाए पनि पैसा नहुँदा अस्पताल लैजान सकिएन, ७ वर्षयता नजिकको स्वास्थ्यचौकीबाट ग्यास्ट्रिक र दमको औषधी ल्याएर निरन्तर खुवाउने गरेका छौं ।’

त्यतिबेलादेखि आमाको बोलीसमेत नआउने गरेको र हातको इशाराले बोलाउने गरेको बताउँदै उनले पैसा भएमा अस्पताल लगेर राम्रोसँग उपचार गर्ने इच्छा रहेको सुनाए । ‘दिनभरि चौरमा बस्नुहुन्छ’, साँझ परेपछि घरको कोठामा ल्याउने गरेको द्रौपदीको सेवामा रहेकी बुहारी सम्झना जमरकट्टेलले बताइन् । उनले भनिन्, ‘कोठामा बसिरहँदा दम रोगले बढी च्याप्ने हुँदा दिनमा बाहिर घाममा राखेर आफ्नोतर्पmबाट सक्दो सेवा गर्दै आएका छौं । २ छोरीका अभिभावक उनीहरूको हिमालय मावि नजिकै जस्ताले छाएको सानो घरसहित साढे २ रोपनी जग्गा छ ।

सोही स्थानको हिमालय मावि गोर्जे र वडा नं ९ को नवनिर्मित भवनको अनुगमनमा पुगेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले सरकारले ज्येष्ठ नागरिकलाई निशुल्क उपचारको व्यवस्था गरे पनि दूरदराजका ज्येष्ठ नागरिकले सेवा लिन नसकेको बताए ।

‘ज्येष्ठ नागरिक द्रौपदी प्रतिनिधि पात्रमात्र हुनुहुन्छ, यस्ता धेरै ज्येष्ठ नागरिक सरकारी उपचारको पहुँचमा अझै पनि पुग्नसकेका छैनन्,’ उनले भने,‘यस्ता अभिभावकको उपचारमा सबै क्षेत्रको साथ र सहयोगको आवश्यक पर्दछ ।’

उनले द्रौपदीका छोरा नरनाथलाई आमाको उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल ल्याउन सुझाव दिँदै समस्या परेमा आफ्नो तर्पmबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखराबाट लेखनाथ हुँदै कालिका, सौर्य, भगवतीटार, घुम्ले हुँदै लगभग ४ घन्टा यात्रपछि पुग्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width