अब बाँच्छ सिक्लेसी ठाडो भाका

धनबहादुर गुरुङ
चैत्र १९, २०७७
Sikles Photo~naumaya first from left

पोखरा । पर्यटकीय गाउँ सिक्लेसकी नौमाया गुरुङ सानैदेखि गाउन सिपालु थिइन् । सिक्लेसमा घाटु, सोरठी, कृष्ण चरित्र, कस्केली ठाडोभाका लगायत गीतमा राम्रो भाका मिलाउँथिन् उनी । बाबुबाजे, आमा, छरछिमेकीले गाएको सुनेरै गाउन सिकिन् । अग्रज बितेपछि संस्कृति बचाउने जिम्मा उनीहरुकै काँधमा आइपर्‍यो । उनले पुराना सबै खालका गीत गुनगुनाउने गर्छिन् ।

कस्केली ठाडो पनि उनको मनपर्ने भाका हो । गुरुङ संस्कृतिमा अर्घौ गर्दा, दुखकष्ट पर्दा, मेलापात गर्दा र हुरी लगाउँदा कस्केली ठाडोभाका गाउने प्रचलन छ । सिक्लेसमा विशेषत दुखमा परेकाहरुको मन भुलोस् र दिवंगत आत्माले शान्ति पाओस् भनी अर्घौ गर्दा बढी मात्रामा गाउने चलन छ, कस्केली ठाडोभाका । कस्केली ठाडोभाकामा भाका मिलाउने अचेल कमै भेटिन्छन् सिक्लेसमा । सिक्लेसको ठाडोभाका जोगाउन उनीसँगै हुन्छिन् नुनसुबा गुरुङ ।

कास्कीको सिक्लेस, तप्राङ, पार्चे, ताङतिङ, खिलाङ, चिप्ली लगायत गाउँमा बढी गुनगुनाइने भाका जोगाउन उनीहरु तल्लीन छन् । यसका लागि गाउँमा हुने कार्यक्रम, सभा समारोहमा कस्सिएर अगाडि बढ्छिन् र स्वर हाल्न भ्याइहाल्छिन् । दुवै जना मिलेर पोखरामा २ दिन लगाएर कस्केली ठाडोभाका रेकर्ड गराएका छन् ।

‘गाउँमा गाए जस्तो नहुने रहेछ स्टुडियोमा गाउन, स्वर पु¥याउनुपर्ने, संगीत अनुसार भाका मिलाउनुपर्ने,’ यस्तै गुनासो छ, कस्केली ठाडोभाका रेकर्ड गराएकी नौमाया गुरुङको । उनीसँगै गीत रेकर्ड गराएकी नुनसुबा गुरुङको पनि उस्तै अनुभव छ ।

नौमाया गुरुङ र नुनसुबा गुरुङले पोखरामा रियाजपछि गीत रेकर्ड गराएका हुन्

उमेरले ६० टेकेकी नौमाया र ५० वर्ष लागेकी नुनसुबा फुरुंग छिन् । आफूहरुको आवाजमा गीत सुन्न पाउनेभन्दा पनि कस्केली ठाडोभाका अबको पुस्ताले पनि सुन्न पाउनेछन् भन्नेमा उनीहरुको मन चंगा भएको हो । बनिबनाउ संगीतमा आवाज भर्न भने उनीहरुले निकै मेहनत गरे । गीतकै अभ्यास गर्न नुनसुबा २५ दिनदेखि र नौमाया १५ दिनदेखि पोखरामा छन् । संस्कृति बचाउन चुलोचौका छाडेर सिक्लेसबाट पोखरा झरेका हुन् ।

गीत रेकर्ड चाँजोपाँजो मिलाएका हुन्, गायक खिमकुमार गुरुङले । लोकसंस्कृति जगेर्नाका लागि २ दर्जन बढी गीत निकालिसकेका गुरुङले कस्केली ठाडोभाका पनि संरक्षण गर्नुपर्छ भन्ने हेतुले लागिपरेका हुन् । गीत रच्न सिपालु गुरुङले गीत तयार गरी हाले,

हे नेपालैको पशुपति मन्दिरमा सुनैको झमकन
ह ह हे सुनैको झमकन
होनि साँचै पशुपति मन्दिरमा सुनैको झमकन
यो भाका मैले गाएको हजुर बाउबाजेको समझन
ह ह हे बाउबाजेको समझन
होनि साँचै गाएको हजुर बाउ बाजेको समझन ।

रचित गीतमा स्वर भर्न उनले सम्झिए, सिक्लेसकी नौमाया र नुनसुबा गुरुङलाई । ठाडोभाका कसरी जोगाउने भन्ने चिन्तामा रहेकी नौमायालाई ढुंगा खोज्दा देवता मिले झैं भयो । र, पोखरा आई अभ्यास थाले । उनीहरु दैनिक १ घन्टा रियाज गर्थे । गीतकार खिमकुमारले सिकाए । गीत सिक्न उनीहरुले निकै संषर्घ खेपे । नौमाया पाटनबेसी र नुनसुबा बाँझापाटन बस्थिन् । जब ४/५ बज्न सुरु हुन्थ्यो उनीहरु माटेपानी गुम्बाफेदीमा रहेको पदमशोभा गुरुङको घरमा भेट हुन्थे । यसरी करिब १५ दिनको रियाजपछि गीत रेकर्ड गराएर संस्कृति संरक्षणमा इँटा थप्ने काम गरेका छन् ।

गीतमा सम्पूर्ण लगानी गीतकार खिमकुमारले गरेका छन् भने संगीत गायक धनबहादुर गुरुङको हो । गायनमा खिमकुमार र इच्छाबहादुर गुरुङले पनि साथ दिएका छन् । केही समयपछि भिडियोसहित सार्वजनिक गर्ने योजना रहेको गीतकार गुरुङको भनाइ छ । खिमबहादुरले आगामी दिनमा घाटु, सोरठी, कृष्ण चरित्र संरक्षणको लागि काम गर्ने योजना रहेको बताए ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width