राजनीतिक नेतृत्व नै भ्रष्टाचारको कारक

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७७
Akhtiyar photo

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका नवनियुक्त प्रमुख रमेशप्रसाद शिवाकोटीलाई मंगलबार भ्रष्टाचारविरुद्धको नागरिक निगरानी समूहले स्वागत गरेको छ ।

स्वागतसँगै अहिलेसम्म भएका कामका बारेमा जानकारी गराउँदै अन्तर्क्रिया पनि गरेको छ । भ्रष्टाचारविरुद्धको नागरिक निगरानी समूह संयोजक वरिष्ठ अधिवक्ता तिलक पराजुलीले आयोग सञ्चालनका लागि अख्तियार सेवा आवश्यक रहेका बताएका छन् ।

उनले अख्तियार संवेदनशील कार्यालय भएको बताउँदै प्रमुख फेरिरहँदा काम गर्न असहज हुने बताए । ‘बेला बेलामा प्रमुख परिवर्तन हुँदा नयाँ आउनेलाई काममा लय समात्न केही समय अवश्य लाग्छ,’ उनले भने, ‘एउटै प्रमुख भएमा काम सरल ढंगबाट अगाडि बढ्छ, यसका लागि अख्तियार सेवा आवश्यक पर्छ ।’ पाठ्यक्रममा नै सदाचारको कोर्ष बनाएर अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

भ्रष्टाचार राजनैतिक नेतृत्वबाट नै भएको भन्दै उनले जराबाटै सुध्रन आवश्यक रहेको उनले बताए । निर्णयका लागि संसदीय सुनुवाई नभई सार्वजनिक सुनुवाई आवश्यक रहेकोमा उनले जोड दिए ।

नागरिक निगरानी समूह पोखराका संस्थापक रामबहादुर पौडेलले आयोगसँग हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए । समाजमा हुने विकृति विसंगतिविरुद्ध लड्न आफूहरु सधैं तयार रहने उनको प्रतिबद्धता थियो । कार्यक्रममा आयोगका सूचना मेघनाथ रिजालले अधिकारीले अरु प्रदेशभन्दा गण्डकी प्रदेशमा भ्रष्टाचारको मुद्दा कम परेको बताए । मुद्दा कम भए पनि समग्रमा अवस्था जटिल नै रहेको जानकारी गराए ।
आयोग पोखराका नवागन्तुक प्रमुख रमेशप्रसाद शिवाकोटीले आफूहरुले क्षेत्राधिकार भन्दा बाहिर गएर काम गर्न नसक्ने जानकारी गराए । आयोगले सूक्ष्म अनुसन्धान गर्नुपर्ने भएका कारण काममा केही ढिलो हुने उनले बताए । सबै निर्णय गर्नका लागि आयोग नै धाउनुपर्ने कारण पनि काम सुस्त हुने गरेको उनको भनाइ छ । लामो समय एउटा मान्छे एउटै अफिसमा काम गर्दा भ्रष्टाचार बढ्न सक्ने भएका कारण प्रमुख र कर्मचारी सरुवा भइरहनुपर्ने प्रमुख शिवाकोटीको धारणा छ । भ्रष्टाचार निवारणका लागि जनताको सूचनाको खाँचो रहेको उनको भनाइ छ ।

कार्यक्रममा आयोगको पोखरा कार्यालयका देवेन्द्र पाण्डे, नागरिक समाजका प्रतिनिधिले जिज्ञाशा र सुझाव राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width