सिरुबारीको आतिथ्य : पहिला मालाले स्वागत, कोरोनापछि स्याइ स्याइ र रुपा

धनबहादुर गुरुङ
चैत्र १८, २०७७
Sirubari Photo

तस्बिर : खेम गुरुङ

पोखरा । चिटिक्क परेका ढुंगेघर, ढुंगाकै गाह्रो, बाटो, आँगन, पिँढी सिरुबारी गाउँको पहिचान हो । २०५४ सालमा पूर्व सांसद क्या. रुद्रमान गुरुङको पहलमा होमस्टे स्थापना भएपछि नेपालकै पहिलो होमस्टेको ट्याग पनि थपियो । होमस्टे बनेसँगै अत्यन्तै हार्दिक गाउँले, गुरुङ समुदायको मौलिक संस्कार, संस्कृति, न्यानो स्वागत अनि बिदाइ यहाँको अर्को चिनारी बन्यो । आमाहरूको सक्रियतामा पाहुनालाई बाजागाजा, फूलमाला र अबिरले आत्मीय स्वागत गर्ने उनीहरुको अर्को पहिचान हो ।

कोरोना महामारीको कारण सरकारले गरेको लकडाउनले गर्दा सिरुबारी करिब ११ महिना पाहुनाको आगमन शून्य नै रह्यो । त्यो बीचमा न सिरुबारीले पाहुना पायो, न पाहुनाले सिरुबारीको आतिथ्यता । बिस्तारै कोरोनाको डर कम हुँदै जान थालेसँगै होमस्टे फेरि तात्न सुरु ग¥यो । सिरुबारी पर्यटन विकास समितिको पहलमा गत माघ २७ गतेदेखि स्वास्थ्य मापदण्ड अपनाउँदै सिरुबारीका होमस्टे खुल्न थालेका छन् । पाहुनालाई स्वागत गर्न सुरु भइसकेको छ ।

स्वास्थ्य मापदण्ड अपनाउँदै सिरुबारीका होमस्टे खुल्न थालेका छन्

सिरुबारीमा आजभोलि स्वागत गर्ने चलन भने फेरिएको छ । कोरोना महामारीपछि सिरुबारी जाने पाहुनालाई स्वागत गर्न माला आवश्यक पर्दैन । बिदाइमा मात्र फूलमाला लगाइदिने चलन छ, सिरुबारीमा अहिले । आजभोलि होमस्टे पुग्ने पाहुनाको स्वागतमा ‘स्याइ स्याइ’ गर्दै ‘रुपा’ लगाइदिने चलन छ । रुपा लगाइसकेपछि एक थुंगा फूल भने हातमा थमाइन्छ ।

कोरोनाको समयमा पाहुनाको मनोबल बढोस् भनेर मालाको सट्टा रुपा लगाइदिन सुरु गरिएको स्थानीय चन्द्रकुमारी गुरुङले बताइन् । ‘पाहुना टाढाबाट आउनुहुन्छ, भूतप्रेतले भेटेको पनि हुनसक्छ,’ उनले भनिन्, ‘त्योभन्दा पनि यो बेला कोरोनासँग जुध्न मनोबल बढोस् भनेर हामीले रुपा लगाइदिने गरेका हौं ।’ पाहुनालाई सत्कार गर्दा नै स्याइ स्याइ गर्दै लामाले मन्तरेको सेतो काँचो धागोको ‘रुपा’ लगाइदिन्छन् । प्रचलित रुपा पहेंलो रङको हुन्छ तर पाहुनाको कपडामा फोहोर नहोस् भनेर सेतो धागोको रुपा लगाइदिने गरेको उनले बताइन् ।

गुरुङ संस्कृतिमा स्याइ स्याइ गर्दै रुपा लगाइदिने चलन परापूर्वकालदेखि नै चल्तीमा थियो । कसैलाई दुख कष्ट पर्दा रुपा लगाइदिंदै स्याइ स्याइ लब’ भन्ने प्रचलन सदिंयौदेखि चल्तीमा रहेको तमु धिंका नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताए । आजभोलि संक्षिप्त ‘स्याइ स्याइ’ मात्र भनिन्छ । स्याइ–स्याइ को अर्थ सातो आयो सातो आयो भन्ने हुन्छ । कसैको हराएको वा गएको प्ल्ह (सातो) फर्काउनका लागि स्याइ स्याइ गर्ने गरिएको अध्यक्ष गुरुङको भनाइ छ । भेग अनुसार संस्कारमा केही फरक भए पनि धेरैजसो मिल्दो जुल्दो नै हुने उनले सुनाए । पूर्वतिर स्याइ स्याइ नभनेर शिर उठाउने चलन पनि छ ।

स्याङ्जा सिरुबारीका स्थानीयले गाँउमा जाने पाहुनालाई स्याइ स्याइ गर्ने चलन सुरु गरेका हुन् । रोगव्याधी केही नलागोस्, दुख बिरामी नहोस्, शान्ति होस् भनी लगाइने रुपा सिरुबारीका आमाले कोरोनापछि पाहुनाहरुको आत्मबल बढोस् भनेर लामा गुरुहरुले मन्त्राएको काँचो धागो लगाइदिने नयाँ सुरुआत गरेको हो ।

यस्तो स्वागतले पर्यटक मख्ख परिरहेका हुन्छन् । सिरुबारीमा न त होटल छ, न कुनै रेस्टुरेन्ट । गाउँ घुम्न आउने पर्यटकलाई समूहमा बाँडेर स्थानीय उत्पादनमा आधारित अग्र्यानिक खाना खुवाइ पारिवारिक वातावरणमा राख्ने परम्पराको विकास गर्नुले नै सिरुबारीको महत्व पर्यटकबीच लोकप्रिय बनेको छ ।

कसरी पुग्ने सिरुबारी
स्याङ्जाको सिरुबारी पुग्ने ४ रुट चर्चामा छ । पहिलो सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको नागडाँडा, सेतीदोभान, कार्कीनेटा, बगाले हुँदै सिरुबारी । दोस्रो स्याङ्जाकै बाडखोला, दरौं, माझकटेरी हँुदै सिरुबारी । तेस्रो अर्जुनचौपारी हुँदै सिरुबारी । चौंथो नागडाँडा, सेतीदोभान, थाप्ले, माझकटेरी हुँदै सिरुबारी ।

कोरोनाकालमा सिरुबारीमा अहिलेको जस्तो चमकधमक थिएन । अहिले भने गुल्जार बनिसकेको छ । कोरोनाको समयमा शून्य रहेको पाहुनाको चहलपहल आजभोलि पहिलकै अवस्थामा पुगिसकेको छ । सोचेभन्दा बढी पाहुना सिरुबारी पुगेका स्थानीय उर्मिला गुरुङले बताइन् । ‘कोरोनाले गर्दा पहिलाभन्दा केही कम पाहुना पर्यटक आउलान् कि भन्ने थियो,’ उनले भनिन्, ‘यो समयमा हामीले सोचेभन्दा धेरै नै पाहुनाहरु आउनुभएको छ ।’ लगभग पहिलाकै हाराहरीमा पाहुना पुग्ने गरेको उनी बताउँछिन् ।

०५४ सालमा आधा दर्जन घरबाट सुरु गरिएको होमस्टे १७ घरसम्म फैलिएको छ । एकै रातमा ८५ जनाभन्दा बढी राख्न सक्ने क्षमता बनाएको छ । जब सिरुबारीले २०५७ सालमा देशकै ठूलो पर्यटन कार्यशाला स्थानीय रुपमा आयोजना ग¥यो त्यसले चर्चाका लागि ठूलै टेवा पुग्यो । समुन्द्री सतहदेखि करिब १६ सय १० मिटर उचाइमा रहेको सिरुबारीलाई दक्षिण एसियाकै पहिलो होमस्टेका रूपमा समेत लिने गरिन्छ ।

सिरुबारीको डाँडाबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण प्रथम,दोस्रो, तेस्रो तथा चौथो, अन्नपूर्ण साउथ, हिमचुलीलगायत अन्य हिमशृंखला लस्करै देखिन्छ । मौलिक घरबनोट, बौद्धगुम्बा, गुरुङ संस्कार, संस्कृति, स्थानीय जीवनशैली, अनुशासन, लगनशीलता, कला, सिप अरु गाउँका भन्दा फरक छ । उत्पादनका दृष्टिले सिरुबारीमा परम्परागत खेती प्रणाली नै छ । उनीहरू गहुँ, मकै, धान, उवा, फापर लगायत मौसमी खाद्यान्न गाँउमै उत्पादन गर्छन्, सोही उत्पादनबाट परिकार तयार गरी खुवाउँछन् । उनीहरुले सकभर अग्र्यानिक नै खाना पस्किन्छन् । तत्काल आवश्यक सामान एंैचो पैंचो गरेर पनि काम चलाउँछन् ।

अहिले नेपालमा ग्रामीण पर्यटन एवं होमस्टेको लहर चलिरहेका बेला सिरुबारी गाउँबाट अन्य गाउँहरूले पर्यटनको सिको गरिरहेका छन् । लमजुङ, पर्वत, नवलपुर, म्याग्दी, कास्की, तनहुँलगायत देशभरका थुपै्र गाँउहरू सिरुबारी गाउँले देखाएको बाटो हिँडिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width