गण्डकी प्रदेश सभा बैठक चैत २५ बाट

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७७
Gandaki-State-Assembly

पाेखरा ।

गण्डकी प्रदेश सभाको बैठक चैत २५ गतेबाट बस्ने भएको छ । संसद बैठक सकिएको ६ महिनाभित्र अर्को बैठक बोलाउनु पर्ने वाध्यता अनुसार बैठक बस्न लागेको हो ।

हिउँदे अधिवेशनमा विधेयकले प्राथमिकता पाउने भए पनि यस पालि भने सरकारले जम्मा ४ वटा विधेयक तयार पारेको छ । तीमध्ये एउटामात्र विधेयक संसद सचिवालयमा दर्ता भएको छ । बाँकी ३ पनि संसमा पठाउन सरकारले निर्णय गरिसकेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताए ।

चैत २६ गते संसदको बैठक अन्य भएको ६ महिना पूरा हुन्छ । असोज २६ गते प्रदेशसभाको बर्खे अधिवेशन सकिएको थियो । चैत २५ गतेबाट बैठक बोलाउन प्रदेश प्रमुख अमिक शेरचनसमक्ष लाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको उनले जनाए ।

त्यसो त कोभिड नियन्त्रण लगायत विषय जोडेर कांग्रेस र समाजवादी पार्टीको माग अनुसार पुस २१ गते माघ ६ गतेसम्म विशेष अधिवेशन चलेको थियो । विशेष अधिवेशनमा सार्वजनिक जरुरी महत्वको प्रस्ताव र साझा संकल्प प्रस्ताव पारित भएका थिए । यो पालिको अधिवेशन १ महिनाजति चल्ने छ ।

ढुक्क छ सरकार
यता गण्डकी प्रदेश सरकारलाई संसद छल्नुपर्ने कुनै कारण देखिएको छैन । संख्यात्मक हिसावमा प्रमुख प्रतिपक्ष कमजोर रहँदा माओवादी केन्द्रका सांसद समेत विश्वासको मत फिर्ता लिने सोचमा नरहेकाले सरकार ढुक्क छ । ६० सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् । जनमोर्चाको ३ सांसदको समर्थन लिएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बसेका छन् । मनाङबाट जितेका स्वतन्त्र सांसद राजीज गुरुङ(दीपक मनाङेको साथ पनि मुख्यमन्त्रीलाई छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसको १५, माओवादीको १२ सांसद हुँदा जनता समाजवादीका २ सांसद छन् । यी ३ दलको संख्या जोड्दा पनि वहुमत नपुग्ने भएकाले पृथ्वीसुब्बा गुरुङको सरकार ढुक्क छ । गण्डकी सरकारमा माओवादी समेत सामेल छ । वागतमीमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी गण्डकीमा भने सरकारमै छ । गण्डकीमा २ जना मन्त्री माओवादीका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width