बागलुङ घटना : झगडा मिलाउन खोज्नेकै हत्या !

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७७
baglung case

पोखरा । बागलुङको बडीगाढ गाउँपालिका १० दर्लिङमा बर्सेनि फागु पूर्णिमाको दिन मेला लाग्छ । छिमेकी जिल्ला गुल्मी, प्युठान र पूर्वी रुकुमका युवाहरु समेत त्यो ठाउँमा होली खेल्न आउँछन् । आइतबार पनि बिहानैदेखि दर्लिङमा चहलपहल सुरु भएको थियो । टाढाटाढाबाट युवाहरु आए, खानपिन गरे, होली खेले । युवाहरु जम्मा भएको ठाउँमा होहल्ला त हुन्छ नै ।
दिनभर त्यस्तो ठूलो झडप भएको थिएन । साँझपख मदिराको मातसँगै युवा समूहहरुबीच भनाभन सुरु भयो, भनाभन हात हालाहालमा परिणत भयो । झडप हुँदै गर्दा निसीखोला ७ का प्रकाश कुँवर त्यहिँ थिए । समाजसेवामा क्रियाशील, जसलाई जे परे पनि सहयोग गर्ने ३६ वर्षे कुँवरलाई छिमेकी गाउँलेहरु झगडा गरेको मन परेन । केही साथीहरु लिएर झभगडा भएको ठाउँमा पुगे, अनि सम्झाउन लागे, छुट्याउन लागे । मदिरा र रिसको झोकमा भएकाहरु कसले भनेको मान्ने ? बरु उनीहरु उल्टै प्रकाशको टोलीमाथि जाइलागे । लखेटे र सय जनाभन्दा बढीको समूहले प्रकाशमाथि कुटपिट गर्‍यो । ढुंगामुढा गर्‍यो र तारेभीरबाट खसाइदियो ।

सुन्दै र पढ्दै गर्दा आङ जिरिंग हुने घटना बागलुङको पश्चिमी भेगको हो । जुन बुर्तिबाङ बजारबाट पनि ४० किलोमिटर पर छ । घाइते अवस्थामा भेटिएका ३६ वर्षे प्रकाश कुँवर र ३४ वर्षे दीपक परियारलाई शुभेच्छुकले उद्धार गरे पनि बचाउन भने सकेनन् । नजिकै अस्पताल पनि थिएन । घाइते भेटिँदा आइतबार साँझ पनि परिसकेको थियो । इलाका प्रहरी कार्यालय बुर्तिबाङ इन्स्पेक्टरको कमान्डमा रहने भए पनि अहिले सईले काम चलाउँदै आएका छन् । जिल्लाले बुर्तिबाङबाट प्रहरीलाई खटायो ।

प्रदेशको निर्देशनमा जिल्लाबाट समेत अर्को टोली घटनास्थलतर्फ मुभ गर्‍यो। प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का समेत उठाइसकेको छ । मृतक दुवैको शव बुर्तिबाङ अस्पताल पुर्‍याइएको छ ।

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले घटना भएलगत्तै एसपी मगरको कमाण्डमा ११ जनाको टोली बुर्तिबाङ प्रस्थान गरेको हो । मृतक कुँवर नेपाली कांग्रेस जिल्ला सदस्य हुन भने परियार क्रियाशील सदस्य । घटनामा १०/१२ जना बेपत्ता भएको भनिए पनि रातिसम्म सबै सम्पर्कमा आइसकेका छन् । घटनामा संलग्नहरुको खोजी खार्य जारी रहेको र दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने एसपी पल्लीमगरले बताएका छन् ।

घटना सुनियोजित हो :  कांग्रेस
यसैगरी नेपाली कांग्रेस बागलुङले सोमबार बिहान विज्ञप्ति निकालेर बडिगाड घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । घटनामा संलग्नलाई कारवाही गर्न र घाइतेको उपचार गर्न सरकारसँग पार्टीले आग्रह गरेको छ ।

जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले निकालेको विज्ञप्तिमा कांग्रेस जिल्ला सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक परियारमाथि सुनियोजित रुपमा सांघातिक हमाल गरि योजनाबद्ध रुपमा हत्या गरिएको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

घटनाको विषयमा विभिन्न समाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएको भिडियो र तस्बिरले प्रमाण दिएको र सुनियोजित रुपमा अपराधिक मानसिकताबाट प्रेरित भइएको विज्ञप्तीमा उल्लेख छ । झडपमा घाइते भएका ज्ञानु दमाई लगायतका घाइतेहरुको उपचारमा सरकारले गर्नु पर्ने कांग्रेसको माग छ ।

Related News

सम्बन्धित समाचार

hero news full width