मौसम धुम्मिँदा ४ दिनदेखि पोखराबाट उडान ठप्प

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७७
airlines climate ~airport

फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेश सरकारले सातवटै प्रदेशमा हवाई सम्पर्क जोड्ने प्रतिबद्धता जनाएको २ वर्ष भयो । भरतपुर र भैरहवामा अहिले उडान हुँदै आएको छ । नेपालगन्ज पनि कहिलेकाँही हुन्छ । पोहोर कोरोनाअघि विराटनगरका लागि परीक्षण उडान गरिएको थियो । महामारी बढेपछि बाँकी उडान हुन सकेको छैन ।

पोखरा–सिमरा परीक्षण उडान चैत १५ गते गर्ने सहमति माघमै भएको थियो । कोरोनाबाट थलिएको पोखराको पर्यटन क्षेत्रमा केही भए पनि राहत दिलाउन हवाई उडानले स्वदेशी र विदेशी पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा गरियो । चैत १५ अर्थात् होली पर्व अवसर पारेर यति एरलाइन्सको पहिलो उडान गर्ने तिथि तय समेत भएको थियो । डेढ महिना अघिको सो महत्वांकाक्षी योजनामा पहिलो गाँसमै ढुंगा लाग्न पुगेको छ । बाधक बन्यो, खराब मौसम ।

पोखरा विमानस्थलमा ३ दिनदेखि भिजिबिलिटी कम हुँदा आइतबार कुनै उडान हुनै सकेनन् । पोखरा नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीका अनुसार भिजिबिलिटी कम हुँदा उडान स्थगित गर्नुपरेको हो । उनी भन्छन्, ‘मौसम खराबीले शुक्रबार दिउँसोदेखि नै सबै उडान रोकिँदैआएका छन् । यस्तै अवस्था हो भने कहिले खुल्छ भन्न सकिने अवस्था छैन ।’

आइतबार ३१ वटा फ्लाइट स्थगित भए । त्यसअघि शनिबार २८ फ्लाइट क्यान्सिल भएका थिए भने शुक्रबार दिउँसो ४ वटा रोकिएका थिए ।

वायुमण्डलमा धुलो र खरानी मिश्रित हुस्सुले हावाको पारदर्शिता घटाएकोले भिजिबिलिटी कम भएको सूचना अधिकारी सुवेदीको भनाइ छ । ‘ठूला खालका जहाज ल्यान्ड र टेक अफ गर्न कन्ट्रोल टावरदेखि कम्तीमा ५ किमीसम्म भिजिबिलिटी हुनुपर्छ । आइतबार मात्र १ हजारदेखि २५ सय मिटरसम्म मात्र थियो,’ सुवेदीले भने ।
आइतबार तारा एयरलाइन्सले जोमसोमका लागि ५, यतीले काठमाडौंका लागि ९ र सिमराका लागि १ उडान तय गरेकोमा अन्ततः रद्द भए । बुद्ध एयरले काठमाडौंका लागि ९, भैरहवा र भरतपुरका १÷१ उडान रद्द गर्दा श्री एयरलाइन्सको काठमाडौंका लागि १, जोमसोमका लागि समिटका ५ उडान पनि रद्द भएका हुन् । आइतबार २ वटामात्र हेलिकोप्टर मात्र उडे । विमानको तुलनामा हेलिकोप्टरका लागि १ किमी भिजिबिलिटी भए पुग्छ ।

सोमबारका लागि नियमित २६ उडान हुने तालिका छ । केही चार्टर फ्लाइट हुने सम्भावना छ । तर सोमबार पनि बिहानदेखि कुनै उडान हुनै सकेका छैनन् ।  उडान लगातार रद्द हुँदा यात्रु भने मारमा परेका छन् । उनीहरु स्थलमार्ग हुँदै गन्तव्य जान बाध्य छन् ।

पोखराबाट सिमरा उडान सुरु हुने भएपछि पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, पोखरा उद्योग वाणिज्य संघ, पर्यटन व्यवसायी तथा सञ्चारकर्मी सम्मिलितको २५ सदस्यीय टोली बिहान ११ देखि सिमरा गएर दिउँसो ३ बजे फर्किने कार्यक्रम थियो । साथै उताबाट प्रदेश २ का मुख्यमन्त्री नेतृत्वको टोली पोखरा आउने कार्यक्रम थियो ।

अब उक्त उडान कहिले हुन्छ भन्नेबारे मौसमको अवस्था हेरीकन आवश्यक छलफल गरिने जनाइएको छ । गण्डकी प्रदेश उद्योग पर्यटन, वन तथा वातावरणका सचिव डा. महेश्वर ढकालले भने, ‘हामीहरुले यो कार्यक्रम रद्द गरेका छैनौं । अहिले स्थगनमात्र भएको हो ।’ उनका अनुसार पोखरा नागरिक उड्डयन कार्यालयले वैशाख ५ गतेलाई प्रस्ताव गरेको छ । अब सो मितिमा जान सकिने वा नसकिनेबारे मौसम हेरेर सबै पक्षसँग छलफल गरी ‘डेट फिक्स’ गरिनेछ ।
विमान सञ्चालन भएपछि गण्डकी र प्रदेश २ को व्यापारिक सम्बन्ध बिस्तार हुने अपेक्षा छ । जसबाट पोखरा र व्यापारिक सहर वीरगञ्जबीच कनेक्सन हुनेछ । परीक्षण उडानसँगै पोखरा–सिमरा साताको ३ दिन नियमित उडान हुनेछ । भाडादर ४ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

पोखरामा यो सिजनमा यसरी लामो समयसम्म उडान स्थगित भएको यसअघि घटना थिएन । यो सिजन मौसम खुल्ने सिजन हो । तैपनि राजधानी काठमाडांै लगायत सहरमा जस्तो पोखरामा पनि मौसममा एक्कासी खराबी आएको छ ।
पोखरा विमानस्थल प्रवक्ता सुवेदीले भने, ‘यो सिजनमा यसरी उडान रोकिएको थिएन । चैत वैशाख भनेको मौसम खुल्ने सिजन हो । हावा चल्ने र पानी पनि पर्ने गर्छ । जसबाट भिजिबिलिटीमा समस्या हुँदैन । तर अहिले धुलो र खरानी मिसिँदा समस्या हुन गएको हो ।’ पुस माघमा तुवालो लागेर तथा साउन भदौमा झरी पर्दा केही दिनमात्र उडान भने स्थगित हुने गर्दछ ।

पोखरालाई आधार बनाएर प्रभु हेलिकोप्टर, बुद्ध एयर, यति एयरलायन्स, श्री एयरलाइन्स, तारा एयरले उडान भर्ने गर्दछन् । पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा, जोमसोम, विराटनगर सिधा हवाई उडान सुविधा छ । पोखरादेखि भैरहवा र भरतपुर बुद्ध एयरलाइन्सको मात्र उडान भर्दै आएको छ ।

कोरोना भाइरस महामारीका कारण पर्यटकीय नगरी पोखरा घुम्ने पर्यटकमा भारी गिरावट आएको छ । अघिल्लो वर्ष तुलनामा सन् २०२० मा हवाई उडान मार्फत विदेशी पर्यटकको संख्या ८६ प्रतिशतले घटको हो । पोखरा नागरिक उड्डयन कार्यालयका अनुसार सन् २०२० मा हवाई उडानमार्फत २५ हजार ५ सय ८५ विदेश पर्यटक पोखरा भित्रिएका थिए । अघिल्लो वर्ष भने ८२ हजार ३ सय १ जना आएका थिए । कोभिड–१९ सहित बेलाबखतमा हुने मौसम खराबीले पर्यटन प्रवद्र्धनमा चुनौती थपिँदै गएको पर्यटन व्यवसायीको गुनासो छ ।

Related News

सम्बन्धित समाचार

hero news full width