९ वर्षसम्म पनि बन्न नसकेकाे पुलकाे कथा

प्रकाश ढकाल
चैत्र १५, २०७७
ghumle

कास्कीकाे मादीस्थित घुम्लेमा निर्माणाधीन तर अलपत्र पुल ।

पोखरा । एउटा पुल बनाउन कति समय लाग्छ ? छिटो गरे केही महिनामै सकिन्छ । नभए पनि केही वर्षमा त पक्कै पूरा हुन्छ । कास्कीमा एउटा पुल निर्माण थालेको ९ वर्षसम्म पूरा भएको छैन ।

मादी गाउँपालिकास्थित घुम्लेमा मादी नदीमाथि बनाउन लागिएको पुल २०६९ सालमा सम्झौता गरिएको थियो । हालसम्म योजना पूरा भएको छैन ।

ठेकेदारको लापरबाही र सरकारको निरीहताले पुल निर्माणमा ढिलाइ भएको हो । यहाँ ७३ मिटर लामो पक्की मोटरेबल पुल बनाउन काठमाडौंको लोकप्रिय शंकरमाली जेभीले ठेक्का पाएको थियो । ३० महिनाको म्याद दिइएकोमा म्यादभित्र कम्पनीले काम नै सुरु गरेन । २०७२ माघमा पुल निर्माणको म्याद थपियो । थपिएको ६ महिनामा पनि काम नभएपछि पुनः अर्को ६ महिना थपेर २०७३ माघसम्म काम सक्न ताकेता गरियो । पछिल्लो पटक म्याद थपिएको पनि ५ वर्ष पूरा भइसक्यो तर पुल ठडिएन । ठेकेदारकै लापरबाहीले पुल समयमा नबनेको डिभिजन सडक कार्यालय पोखराले जनाएको छ ।

‘१० दिन काम गर्छ । १५ दिन भाग्छ । फकाउँछु र काम लगाउँछु,’ सडक डिभिजन कार्यालय पोखराका प्रमुख सुनिल पन्तले भने, ‘हामीलाई जसरी पनि काम चाहिएको हो । उसैको हातबाट सम्पन्न गर्ने बाहेक अरु विकल्प छैन । ठेक्का नतोडी अर्को ठेक्का लगाउन मिल्दैन । समस्या भयो ।’ यो वर्ष भने काम सकिने उनको विश्वास छ । यद्यपि अझै धेरै काम बाँकी नै छ । पटक पटक म्याद थप र ताकेता गर्दा पनि ठेकेदारले नटेरेको कार्यालयले जनाएको छ ।

कालिका–माझठाना हुँदै घुम्लेबाट मिजुरेडाँडादेखि लमजुङसम्म जोड्ने सडकका लागि यो पुल बनाउन लागिएको हो । पुल नबन्दा स्थानीयलाई आवतजावतमा समस्या परेको छ । ‘१२ मिटरको बाटो बन्दै छ । खोलामा पुल छैन । पुल भयो भने लमजुङदेखिका मान्छे यहि बाटो हिँड्छन्, मिजुरेका मीनबहादुर गुरुङले भने, ‘यहाँदेखि १ घन्टामै पोखरा पुग्छन् । छिटो बनिदिए खुसी हुन्छन् नि । न कारबाही गर्छ । न ठेकेदारले काम गर्छ । अन्यौल भयो ।’

जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारीले धेरै दबाबपछि मात्रै ठेकेदारले काम गर्न थालेको बताए । ‘पुल बन्दैन कि भनेर जनतालाई चिन्ताको विषय बनेको थियो । अहिले काम फत्ते हुने अवस्थामा छ,’ उनले भने, ‘ठेक्का तोडाएर स्थानीय तहले काम गर्ने भनेपछि बल्ल ठेकेदार तात्यो । ५० प्रतिशत काम त १ वर्षको अवधिमा गरेको छ ।’

ठेकेदारले समयमा काम नगरेपछि डिभिजन सडकले जरिवाना लगाएको छ । ‘ठेक्का रकमको १० प्रतिशत जरिवाना लगाइएको छ । यो भनेको पनि निकै ठूलो कारबाही हो,’ कार्यालय प्रमुख पन्तले भने, ‘कि ठेक्का तोड्नु पर्‍यो । नत्र उसैले काम सम्पन्न गर्नुपर्ने हुन्छ ।’ पुल बनेपछि कास्कीको माझठाना, भाचोक, मिजुरेडाँडा, सैमराङ साथै लमजुङको पसगाउँ, भोँजेसम्मका नागरिकलाई सहज हुन्छ । घुम्ले नजिकै भगवतीटारमा पनि पक्की पुल बनिसकेको छ ।

ठेकेदारले कहिलेकाहीँ बर्खा लागेपछि सामान लगेर थुपार्ने र काम गरेजस्तो मात्रै गरेर पटक पटक बजेट निकासा लिँदै आएको छ । पुल निर्माणको काम बाँकी नै रहँदा करिब पूरै बजेट निकासा भइसकेको छ । ५ करोड ९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेकेदारले २०७२ पछि मात्रै सबकन्ट्याक्टरलाई जिम्मा दिएर काम थालेको थियो । गाउँपालिकाले पनि पटक पटक ताकेता गर्‍यो । तर सुनेको नसुन्यै गरेर काम ढिलो भयो । पुल निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी मध्ये लोकप्रिय निर्माण सेवालाई सरकारले कालो सूचीमा राखेको थियो । ठेक्का मात्रै ओगट्ने र काम नगर्ने प्रवृत्तिका कारण धेरै ठेकेदार कम्पनी अहिले सरकारको निगरानीमा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width