कसरी हुन्छ पोखराको पर्यटनको ब्रान्डिङ ?

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७७
pokhara tourism (1)

पोखरा । पोखराको पर्यटनलाई ब्रान्डिङसहित प्रवद्र्धन गर्न आवश्यक तात्कालिक एवं अल्पकालीन रणनीतिका बारेमा तयार गरिएको मस्यौदामाथि पोखरामा सरोकारवालाबीच छलफल गरिएको छ ।
पोखरा महानगरपालिका सहरी योजना आयोग र सृदृढ परियोजनाको सहकार्यमा पर्यटन पुनरुत्थान रणनीतिक योजनासम्बन्धी कार्यशाला गोष्ठीमा कोभिड १९ को असरसँगै पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुलाई चिर्दै आर्थिक सामाजिक रुपान्तरणका लागि पर्यटनको दिगो विकास बारेमा सरोकारवालाबीच छलफल गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पर्यटन विज्ञको सल्लाह सुझावलाई ग्रहण गरेर पर्यटन मैत्री पूर्वाधार विकासमा महानगरले जोड दिने बताए । उनले पर्यटकलाई आकर्षित गर्न सांस्कृतिक र प्राकृतिक सम्पदा जोगाउन चुनौती देखिएको जनाउँदै पर्यटनमा सामूहिक प्रयासको खाँचो औंल्याए ।
आधुनिक विकासका नाममा परम्परागत संस्कृति र मौलिकता गुम्दै गएकोमा चिन्ता व्यक्त गर्दै घुमाउने घरहरु जस्ता धेरै मौलिक संरचना पोखराबाट लोप हुँदै गएको उनको भनाइ थियो । पर्यटन विश्वविद्यालयको विषयमा पनि महानगरले तयारी गरेको पोखरालाई पर्यटकीय महानगर बनाएर जानका लागि योजना तर्जुमा भइरहेको समेत उनले बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले विश्वव्यापी महामारीले पर्यटन उठ्न नपाउँदै फेरि सुस्ताउने हो कि भन्ने चिन्ता देखिएको जनाउँदै समस्याको समाधानसहित निकास खोज्नुपर्ने बेला आएको बताए । उनले पर्यटनकोे दिगो विकासका लागि अहिलेको अवस्थामा आएका रणनीतिक योजनाले दिर्घकालीन विकासको मार्ग कोर्न सफल हुने भएकाले सबैले अपनत्व ग्रहण गर्न सक्ने गरी गोष्ठीलाई सार्थक बनाउनुपर्ने धारणा राखे ।
प्रतिकूलतालाई कसरी अनुकलतामा परिणत गर्न सकिन्छ भन्ने विषयमा विज्ञता, परामर्शसहित मस्यौदा तयार भएको र यसमा देखिएका कमिकमजोरीलाई सूक्ष्म रुपमा केलाउन सके यसले पोखराको पर्यटनमा एउटा स्पष्ट मार्गचित्र तयार गर्न सक्ने बताए ।
महानगरका सहरी विकास आयोजना उपाध्यक्ष रामचन्द्र लामिछाने कोभिड १९ का कारणले पर्यटन क्षेत्रले प्रतिकूलता व्यहोरिहको अवस्थालाई दर्शाउँदै अब आउने दिनमा कस्तो रणनीति अपनाउने भन्ने विषयमा रणनीति मस्यौदा तयार भएको बताए । उनले पर्यटन महानगरको अर्थतन्त्रको ढुकढुकी भएकाले कोभिड १९ मा पर्यटनले गुमाएको पक्षलाई महानगरले आफ्नो नीतिमार्फत् सम्बोधन गर्ने प्रयास गरेको र त्यसको लागि संस्थागत संरचना तयार गरेर जाने सोच रहेको जानकारी गराए ।
राष्ट्रिय दस्तावेजका अनुसार अहिले कूल ग्राहस्थ उत्पादनमा पोखराको पर्यटनले ३ देखि ५ प्रतिशतमात्र कूल ग्राहस्थ उत्पादनमा योगदान गरेको देखिन्छ । पोखराको महानगरमा पर्यटन क्षेत्रबाट प्रत्यक्ष र प्रत्यक्ष २५ देखि ३० प्रतिशत अर्थतन्त्रमा योगदान दिएको उनको भनाइ छ । पोखराको ७५ हजार रोजगार लागि पर्यटन क्षेत्रलाई स्रोत मानिएको छ ।
उनले महानगपालिकाले नगरसभाबाट ‘पोखरा पूर्वाधार विकास निगम’ नामको लगानी संरचना तयार गरेको र सो संरचनामार्फत् पोखरा महानगरपालिका र निजी क्षेत्रको संयुक्त लगानीमा के कस्तो उद्योग व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने नीतिगत व्यवस्थाको तयारीमा रहेको समेत जानकारी दिए ।
कार्यशालामा पर्यटनविज्ञ एवं वन क्याम्पस पोखरा उपप्राध्यापक श्रीकान्त खतिवडाले लामो समयको अध्ययन पश्चात तयार गरेको पर्यटन पुनरुत्थान रणनीतिक योजना मस्यौदा प्रस्तुत गरेका थिए । प्रस्तुत मस्यौदामा कोभिड १९ को अवस्थामा ४ वटा उद्देश्य २३ वटा रणनीति र ७६ रणनीतिक कार्यक्रम बारेमा जानकारी गराइएको थियो । उक्त मस्यौदा माथि पर्यटन सम्बद्ध संघ संस्थाले सुझाव राखेका थिए ।
कार्यक्रममा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष टीकाराम सापकोटा, नेपाल पर्यटन बोर्ड पूर्व कार्यसमिति सदस्य वासु त्रिपाठी, पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्मा, नेपाल माउन्टेनियरिङ एसोसिएसन अन्नपूर्ण च्याप्टरका अध्यक्ष शेषकान्त शर्मा, बर्डस् सोसाइटीका अध्यक्ष मनशान्त घिमिरे, लेखनाथ उद्योग वाणिज्य संघका सदस्य दामोदरभक्त थापा लगायतले क्षेत्रगत सुझावहरु राखेका थिए ।
कार्यक्रममा ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल, पश्चिमाञ्चल होटल एसोसिएसन (हान), नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्टस (नाट्टा) रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान), ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन (टेसा) नेपाल हवाइ खेलकुद संघ (ना), इम्ब्रोइडरी एन्ड गार्मेन्ट एशोसियशन (ऐगा), होमस्टे एसोसिएसन अफ नेपाल (होसान) गाउँ पर्यटन विकास मञ्च (भिटोफ), महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ), पर्यटन व्यवसायी महिला संघ (टेवान), पोखरा उद्योग वाणिज्य संघ लगायतका सलगायतका संस्थाको संस्थागत प्रतिनिधित्व थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width