आँधीखोलामा नागरिक आरोग्य सेवा केन्द्र शुभारम्भ

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७७
adhikhola

स्याङ्जा । स्याङ्जाको आँधीखोला २ चिलाउनेबासमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले चिलाउनेबास स्वास्थ्य कार्यालयको भवनमा सञ्चालित केन्द्रको उद्घाटन गरे ।

आयुर्वेदिक औषधी, योग, ध्यान लगायत क्रियाकलापप्रति नागरिकको बढ्दो चासोलाई ध्यानमा राखेर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाको सहयोगमा सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

आयुर्वेदको महत्व विगतदेखि वर्तमानसम्म र भविष्यमा पनि उत्तिकै रहने भएकाले नागरिकको माग अनुरूप आरोग्य सेवा केन्द्र स्थापना गरिएकोे गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताए ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर सुभद्रा कार्कीले नागरिक आरोग्य सेवा केन्द्र सबैलाई निरोगी तथा स्वास्थ्य बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको बताइन् । रोग प्रतिरोधात्मक क्षमता बढाउनसमेत आयुर्वेद औषधी महत्वपूर्ण रहेको बताउँदै नागरिक आरोग्य सेवा केन्द्रको भूमिका महत्वपूर्ण हुने उनको तर्क थियो ।

गाउँपालिका उपाध्यक्ष शर्मिलादेवी पौडेलले गाउँपालिकामा आयुर्वेदिक स्वास्थ्य सेवा केन्द्र स्थापनामा सहयोग गरेकोमा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र स्याङ्जाप्रति खुसी व्यक्त गरिन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले नागरिक आरोग्य सेवा केन्द्रलाई आवश्यक पर्ने औषधी र जनशक्तिको व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्न तत्पर रहेको बताउँदै गाउँघरमै आरोग्य सेवा केन्द्र सञ्चालनमा आएपछि नागरिकलाई धेरै सहज हुने बताए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक निराजन लामिछानेले एलोपेथिक र आयुर्वेदिक दुवैखाले उपचार पद्धतिको सुरुआत गाउँपालिकामा भएको बताउँदै एलोपेथिक उपचार पद्धतिले मात्र सबै रोगहरूको निदान नहुने हुँदा आयुर्वेदिक उपचार पद्धति पनि सुरुआत गरेको बताए ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति अध्यक्ष यज्ञप्रसाद पौडेलको अध्यक्षता भएको कार्यक्रममा वडा नं २ का अध्यक्ष रामचन्द्र पौडेल, गैरसरकारी महासंघ स्याङ्जाका अध्यक्ष कमल पौडेल, समाजसेवी नरेन्द्र पौडेल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width