संघले खारेज गरेका कार्यालय ब्युँताउँदै प्रदेश

प्रकाश ढकाल
चैत्र ११, २०७७
agro news (3)

पोखरा । सानो घर, साँघुरा कोठा । २ वटा टेबुल र २ वटा कुर्ची । कार्यालय सहयोगी र सरसफाईकर्मी सहित ४ कर्मचारी ।

अधिकृतको नेतृत्वमा ७ जनाको दरबन्दी रहेको मनाङको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पशु चिकित्सक र छैटौं तहका १ अधिकृत कार्यरत छन् ।

‘जम्मा ३ वटा कोठा लिएर अफिस चलाएको छु । विज्ञ केन्द्रले विज्ञ सेवा दिनुप¥यो नि त । २ जना मान्छे मात्रै टक्रक्क राखेर विज्ञ केन्द्र हुन सक्दैन,’ कार्यालयका प्रमुख नारायण कुसुमले भने, ‘कम्तीमा प्रयोगशाला चाहियो । जतिसक्दो छिटो पुरानो अफिस फिर्ता गरिदिनुपर्छ । नत्र नाम मात्रै हुन्छ, बेकार हुन्छ ।’ पुरानो पशु सेवा कार्यालयको ४ रोपनी जमिन सशस्त्रले कब्जा गरिदिएपछि भाडाको घरमा विज्ञ केन्द्र सञ्चालन गरिएको छ । विज्ञ र ज्ञान केन्द्र भनेकै उन्नत खेतीका लागि किसानलाई सुझाव दिने हो ।

पशु बिरामी भए जाँच्ने र बालीमा समस्या आए समाधानको खोजी गर्ने हो । तर त्यसका लागि प्रयोगशाला चाहिन्छ । अहिले खोलिएका दुवै केन्द्रहरुमा प्रयोगशाला छैन । पशु विरामी भए प्रविधि सहित पोखराबाट अर्को प्राविधिक टोली जानुपर्छ ।

  • ११ वटै जिल्लामा कृषि र पशुका कार्यालय
  • ज्ञान केन्द्रले अनुदान बाँड्छ
  • पशु–बाली जाँच्न ल्याब छैन
  • भवनको उस्तै अभाव
  • कर्मचारी पनि अपर्याप्त

मनाङकै कृषि ज्ञान केन्द्र स्याउ जोनको कार्यालय (पुरानो कृषि विकास) मा खोलिएको छ । पर्याप्त कोठा छैनन् । ९ दरबन्दी मध्ये ३ कर्मचारी खटाइएको छ । वरिष्ठ बागवानी विकास अधिकृत, वागवानी विकास अधिकृत र बाली संरक्षण अधिकृत अहिले कार्यरत छन् ।

मनाङ जिल्ला चौंरी र च्यांग्रासहित स्याउ र आलु उत्पादनको मुख्य क्षेत्र हो । विज्ञ र ज्ञान केन्द्रले ज्ञानको सट्टा अनुदानका काम गर्छन् । यो वर्ष रैथाने बाली संरक्षण, साना सिँचाई आयोजना निर्माण र केही तालिम कार्यक्रम सञ्चालन हुने ज्ञान केन्द्रका प्रमुख बालकृष्ण अधिकारीले बताए ।

‘साना तिना कार्यक्रम, बिउ विजन वितरणका काम पालिकाले गर्छन् । कृषिका लागि चाहिने उन्नत प्रविधि र तालिम हामीले हेर्ने हो । तर कर्मचारी थोरै छौं । दरबन्दी नै निकै कम छ,’ उनले भने, ‘कृषि विकास कार्यालय हुँदा २०÷२५ जना कर्मचारी हुन्थे । फिल्डमा छुट्टै कार्यालय थिए । लिमिटेड स्रोत र जनशक्तिबाट सकेको सेवा दिन तत्पर छौं ।’ उनका अनुसार कार्यालयले कुलो बनाउने, पाइप खरिद गर्ने, टंकी बनाउने जस्ता काम यो वर्ष गर्दैछ । यसबाहेक केही तालिम पनि सञ्चालन गर्ने छ ।

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले हिजोआज ज्ञान र विज्ञ केन्द्रका नाममा धमाधम कार्यालय उद्घाटन गरिरहेका छन् । भइरहेका पुराना अफिसमा नयाँ बोर्ड टाँगेर केही कर्मचारी पठाएका छन् । उनीहरुको काम ज्ञान र विज्ञता दिनेभन्दा अनुदान बाँड्नेमै जोड छ । संघीयता कार्यान्वयनपछि कृषि विकास र पशु विकासका कार्यालय स्थानीय तहमा गाभिएको छ । केही सीमित जिल्लाहरुमा विज्ञ र ज्ञान केन्द्र खोलिएको थियो । किसानलाई काम गर्न सकस परेको भन्दै गण्डकी सरकारले पुरानै संरचनाका सबै कार्यालय सबै जिल्लामा खोलिदिएको छ ।

गण्डकीका ११ वटै जिल्लामा ज्ञान केन्द्र र विज्ञ केन्द्र छुट्टाछुट्टै खुलेका छन् । ज्ञान केन्द्र ५ वटा र विज्ञ केन्द्र ४ वटा थपिएको कृषि मन्त्रालयले जनाएको छ । यी कार्यालयहरुले सरकारले बनाएको नीति र बजेट कार्यान्वयन गर्ने मन्त्री थापाले बताए । ‘सरकारले नीति निर्माण गर्छ । बजेट व्यवस्थापन गर्छ । त्यसलाई कार्यान्वयन यी कार्यालयले गर्छन्,’ उनले भने, ‘पुराना कार्यालयमा प्रयोगशाला बनाउने काम सुरु भएको छ । नयाँ कार्यालयमा बनेको छैन । उपकरण विस्तारै थप्दै लैजान्छौं ।’

कृषि र पशुका सबै कार्यक्रम पालिकाले गर्ने संवैधानिक व्यवस्था छ । त्यसकै आधारमा पूराना कार्यालय पालिकामा गाभिएका हुन् । तर पालिकासँग आवश्यक दक्षता नभएको मन्त्री थापाले सुनाए । ‘पालिका आफै स्वायत्त हो । उनीहरुलाई तालिम हामी दिन्छौं । कार्यक्रमको जानकारी पालिकालाई दिन्छौं,’ उनले भने, ‘पालिकालाई आफ्नै काम गर्न भ्याई नभ्याई छ । सबैमा त्यो खालको क्षमता पनि छैन ।’ प्रदेश सरकारले जिल्लास्तरमा धमाधम कार्यालय खोल्न थालेपछि स्थानीय सरकारले संघीयता विरोधी मानसिकता भन्दै विरोध गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width