कांग्रेस पदाधिकारी बैठक : क्रियाशील सदस्यताको बहस, सत्ता समीकरणबारे मौन

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७७
congress

काठमाडौं:  नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सत्ता समीकरणको विषयले प्रवेश पाएन।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक क्रियाशील सदस्यतामा केन्द्रित भएको छ। बैठकमा सत्ता समीकरणका बारेमा भने छलफल नभएको नेता रमेश लेखकले जानकारी दिए।

‘सरकार बनाउने बारे आजको पदाधिकारी बैठकमा छलफल भएको छैन। यद्यपि वैकल्पिक सरकार दिने कुरा आवश्यक पर्‍यो भने त्यसका लागि कांग्रेस तयार नै छ, भनेका छौँ,’ लेखकले भने, ‘अहिले परिस्थिति परिपक्व भएको छैन। सुनिश्चित भएपछि अगाडि बढ्ने कुरा हो। सरकारमा नेतृत्व दिने कुरामा तयार छौँ। तर, त्यसका लागि अवस्था परिपक्व हुनुपर्छ।’

प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बहस विपक्षी दलहरुमा उठ्दै आएको छ।

कांग्रेसभित्र पनि ओलीको विकल्प खोज्न पार्टीले अग्रसरता देखाउनुपर्ने आवाज उठिरहेको छ। तर, कांग्रेसले परिस्थिति परिपक्व नबनेको भन्दै कुनै निर्णय लिन सकेको छैन।

क्रियाशील सदस्यताको इन्ट्री सुस्त

सोमबारको बैठकमा केन्द्रीय क्रियाशील सदस्यता छानिवन समितिका संयोजक रमेश लेखकसहित समितिका सदस्यहरुले ब्रिफिङ गरेका थिए।

भदौ ७ गते सुरु हुने गरी १४ औं महाधिवेशनको मिति तोकेको कांग्रेसले क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति भोलि ९मंगलबार०सम्म तोकेको थियो। तर, अहिलेसम्म ६९ जिल्लाले मात्रै क्रियाशील सदस्यताको विवरण सप्टवेयरमा इन्ट्री गर्न थालेका छन्।

९ जिल्लाले भने हालसम्म इन्ट्री सुरु गरेका छैनन्। समितिका संयोजक लेखकका अनुसार जिल्ला कार्य समितिले नवीकरण र नयाँ सदस्यताको विवरण प्रतिनिधिसभा क्षेत्रीय समितिले इन्ट्री गर्ने व्यवस्था मिलाइएको छ। जिल्ला र क्षेत्रले गरी २०७ ठाउँबाट विवरण भर्ने व्यवस्था मिलाइएको छ। त्यसमध्ये हालसम्म ६९ ठाउँबाट इन्ट्री सुरु नभएको लेखकले जानकारी दिए।

कांग्रेसले क्रियाशील सदस्यको संख्या १० लाख पुर्‍याउने नीति लिएको छ। तर, क्रियाशील सदस्यताको विवरण बुझाउने समय एक दिन बाँकी हुँदासम्म ३ लाख ९२ हजार ७९४ जनाको सदस्यताको विवरण केन्द्रीय कार्यालयले प्राप्त गरेको छ। जसमध्ये २ लाख १२ हजार ५१९ नवीकरणको विवरण हो भने १ लाख ८० हजार २७५ नयाँ सदस्यको विवरण इन्ट्री भएको छ।

‘अहिले विवरण भर्ने काम भइरहेको छ। तर, एकदमै सुस्त छ,’ लेखकले भने, ‘आजको बैठकमा क्रियाशील सदस्यताको आजको स्थिति र समस्याहरुको विषयमा जानकारी गराइएको छ।
भोलि अन्तिम मिति हो। अब कसरी अगाडि बढ्ने विषयमा छलफल भएको छ।’

Related News

सम्बन्धित समाचार

hero news full width