कास्कीका पत्रकार र परिवारलाई निशुल्क स्वास्थ्य बिमा

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७७
fnj

पोखरा । कास्कीका पत्रकार र उनीहरुका परिवारलाई निशुल्क स्वास्थ्य बिमा अभियान सुरु भएको छ । अभियानको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई बिमाका फारम दिँदै सुरु गरे । कास्कीमा आबद्ध ३ सयभन्दा बढी पत्रकारहरु यो बिमा अभियानमा समेटिने महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

पत्रकारसहित उनका परिवारका ५ जना सदस्यको बिमा गरिने श्रेष्ठले जानकारी दिए । प्रत्येक परिवारका लागि आवश्यक रकम ३ हजार ५ सय पत्रकार महासंघले खर्च गर्ने उनले बताए । ‘प्रत्येक परिवारको बिमा गर्न पत्रकार महासंघले ३५ सय खर्च गर्दछ,’ उनले भने, ‘त्यसभन्दा बढी सदस्य भएमा पत्रकार आफैंले खर्च व्यहोनु पर्नेछ ।’

उनले स्वास्थ्य बिमाबाट १ वर्षमा १ लाखसम्मको उपचार खर्च पाइने बताए । ५ जनाभन्दा बढी भएमा प्रत्येक व्यक्तिको ७ थप लाग्ने उनले बताए । थप १ जनाको थपिँदा बिमाबापत आउने रकम पनि २० हजारका दरले बढ्दै जाने बताए । उनले पोखरा महानगरपालिकासगँको सहकार्यमा अभियान अगाडि बढाएको बताए । उनले चैत २० गतेसम्म अभियान सञ्चालन हुने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पत्रकार र तिनका परिवारका स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै अभियानमा साथ दिएको बताए । उनले ‘बिमा हाम्रो जीवन’ भन्ने नाराका यो अभियानलाई सफल पार्ने बताए ।

स्वास्थ्य बिमा बोर्ड गण्डकीका संयोजक जीवलाल खरेलले गण्डकी प्रदेशका ९ जिल्ला स्वास्थ्य बिमा अभियान चलेको बताए । गण्डकी प्रदेशमा अहिलेसम्म ४ लाख ६६ हजार जनाले बिमा गरी सकेको बताए । उनले पत्रकारको मात्र नभई पत्रकारको परिवारलाई समेत स्वास्थ्य बिमामा सहभागी गराउन पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक र पत्नीलाई पहिलो बिमा कार्ड प्रदान गरियो । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, नेपाल पत्रकार महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष शान्ति गुरुङ, प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, प्रेस संगठन कास्कीका संयोजक अर्जुन गिरी, प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी र सचिव रामप्रसाद तिमिल्सिना लगायतले बिमाले पत्रकारलाई निर्धक्क काम गर्ने प्रेरणा दिने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width