‘ठाडो भाका’ जोगाउन जुटे तन्नेरी

धनबहादुर गुरुङ
चैत्र ९, २०७७
Thado Bhaka Aama

परम्परागत ठाडोभाका गाउँदै स्याङ्जा बिरुवाको ललाङकी आमा विष्णुमाया राना । तस्बिर : आदर्श समाज

पोखरा । उमेरले ४ बिस टेक्ने तरखरमा रहेकी स्याङ्जा बिरुवा गाउँपालिका ८ ललाङकी विष्णुमाया राना नाँच्न गाउन साह्रै सिपालु छन् । उमेर छँदा गाउँदै नाँच्दै हिँडेको हिजो जस्तै लाग्छ उनलाई । नचरी, सालैजो, झ्याउरे, कौडा, निरमाया, चुट्का गाउँदै रोंधी बस्ने चलन उबेला ललाङ गाउँमा गज्जबै चल्थ्यो । ठाडो भाका गाउने चलन भने चाडबाडका बेला कहिलेकाहीं चल्थ्यो । त्यो बेला गाएको पुराना गीतहरु आजभोलि गाउँमा गुञ्जन छाडेको छ ।

गाउँमा युवा क्लबले रमाइलो गर्दा स्पिकर बजाएर नाचेको देख्दा उनलाई भने नरमाइलो लाग्छ । पुराना संस्कृति हराएर जाने हो कि भन्ने चिन्ताले साह्रै सताउँछ विष्णुमायालाई । एकान्तमा बस्दा लोप हुन लागेको संस्कृति कसरी बचाउने होला भन्ने मनमा तानाबाना बुन्न थाल्छिन् । यो उमेरमा पनि गाउन छाडेकी छैनन् । एकपटक गीत रेकर्ड गराएरै छाड्छु भन्ने सोंच पनि बनाएकी छिन् ।
‘कात्तिकै जाँदा मंसिर लाग्दा लाल पर्‍यो बयर,
दोस्रो चरण चढाए मैले शिवजी भँयर ।।
खैरीकोटमा बिनामूले पानी, ललाङ धारै पानी,
आठ नम्बर वडा ललाङ रमाइलो रै’छ बिर्से मैले घरै पनि ।।’
संस्कृति बचाउन उनी आफूले तयार पारेको ठाडो भाकाको टुक्का हो यो । सानै उमेरमा बिहे गरेकी विष्णुमायाले लेखेर राख्न त सक्दिनन् । तर उनले दिलमा कोरेर राखेकी छिन् यो गीत । जुन बेला गाउने मौका मिल्छ त्यो बेला दिलबाट झिकेर गाउने सोंच छ उनको । १२ वर्षको हुँदादेखि नै गाउन थालेको उनी सम्झिन्छिन् । ठाडो भाका गाउन सानैदेखि बाबा बाजेहरुले गाएको सुनेर सिकेको बताउँछिन् । आफ्नो उमेरमा दिनभरि मेलापात गरेर थकान मेट्नका लागि साँझ परेपछि सबै मिलेर गाउने नाँच्ने गरेको उनको भनाइ छ । सुख दुखका टुक्का समेटेर ठाडो भाका गाउँदै कम्मर मर्काउने गर्थे । ‘माया प्रेमको भन्दा पनि सुख दुखका टुक्का झिकिन्थ्यो,’ उनले भनिन्, ‘बाउ बाजेहरुले त गाउँदा गाउँदै आँसु झार्नुहुन्थ्यो । नाँच्न गाउनमा अरुभन्दा बढी नै सिपालु थिइन्, विष्णुमाया । त्यसैकारण पनि बाबु बाजेहरुले अरुलाई भन्दा बढी नै माया गर्थे । उनी पनि गाउनका लागि अरुभन्दा अगाडि नै सर्थिन् ।
‘समीडाँडा सिरसिर हावा, धनुबाँसे सिरेट,
कि चल्छ मलाई बैंसको रंग कि लाग्छ उराठ ।’
त्यो समयको केही टुक्का उनको मनमा कहिल्यै नमर्ने गरी गडेर बसेको छ । आजभोलि गाँउमा ठाडो भाका गाउने नभएकाले मनको बह पोख्ने चौतारी भेटेकी छैनन् । समूहमा मिलेर गाइने भएका कारण आफूले गाए पनि गीत छोप्नेहरु नभएको उनको गुनासो छ । मौका मिले ठाडो भाका गाउने गरेको गाउँमा जाने र नजानेको कुरा सिक्ने उनको अझै धोको छ । यतिमात्र नभएर सिक्न खोज्नेलाई सिकाउन पनि तयार रहेको विष्णुमाया बताउँछिन् । ललाङगाँउमा विशेषगरी तीज, शिवरात्रि जस्ता चाडबाडमा गाइने ठाडो भाका अहिले कहिलेकाहीँ लाहुरे आउँदा घन्किने गर्छ । ठाडोभाका लोभ भएर नजाओस्ण् भन्नका लागि यस्तै स साना कार्यक्रमा गर्दै जानुपर्ने उनको भनाइ छ । लोक संस्कृतिको पुस्ता हस्तान्तरणका लागि आफूले जानेको सिकाउन तयार रहेको उनको भनाइ छ ।

ठाडो भाका संरक्षणमा ललाङका युवा

गण्डकी अञ्चलको सेरोफेरोमा बिछट्टै लोकप्रिय ‘ठाडो भाका’ पतनको सँघारमा छ । लमजुङे, कर्पुटारे, दुरा भाका आदि नामले परिचित ठाडो भाका बिरुवा गाउँपालिका ८ ललाङमा पनि चल्तीमै छ ।
अहिले भने औंलामा गन्न सकिने पारखीहरूले मात्र ठाडो भाकामा सवाल जवाफ गर्न सक्छन् । यतिबेला गाउँघरमा आधुनिकताका नाममा मौलिक गीत विस्थापित हुँदो छ । आयातीत गीत र ’रेकर्डेड म्युजिक’ को बाढी पसेको छ । यो बाढीमा ठाडो भाका पनि बिलाउँदै जाने तरखरमा छ ।

ठाडो भाकामा स्वर मिलाउन जान्नेहरुको कला मर्न नदिन र ललाङ गाउँको पहिचान बचाउन तन्नेरी तल्लीन छन्

बुढ्यौलीले पिरोल्न थाले पनि ललाङकी विष्णुमायाले भाका हाल्न छाडेकी छैनन् । बिर्सन लागेका गीतका फाँकी र फुँदा सम्झने प्रयत्न गर्छिन् । तर, गाउँघरका सामाजिक जमघटहरूमा ठाडो भाका जम्न छाडेको छ । उनीसहित ठाडो भाकामा स्वर मिलाउन जान्नेहरुको कला मर्न नदिन र ललाङ गाउँको पहिचान बचाउन युवाहरु तल्लीन छन् । विषेशगरी न्यु सन लाइट युवा क्लब संरक्षणका लागि अघि बढेको छ । क्लबले गाउँमा रहेको पुराना संस्कृतिलाई खोजी गर्दै कसरी संरक्षण गर्न सकिन्छ भनेर लागेको क्लबका संरक्षक अनील रानाले बताए ।

ठाडो भाका संरक्षणका लागि शिवरात्रिको अवसरमा ठाडोभाकाको डकुमेन्ट्री बनाइएको छ । ‘गाउँमा भएका संस्कृतिका बारेमा बुढापाकासँग सोधीखोजी गरिरहेका छौं,’ उनले भने, ‘नयाँ पिँढीले पनि थाहा पाओस् र प्रचार प्रसार पनि हुन्छ भनेर पोहोर नचरीको डकुमेन्ट्री बनायौं, यो साल ठाडोभाकाको बनाएका छौं ।’ अहिलेका युवा पुस्ता सामाजिक सञ्जालमा बढी सक्रिय हुने कारणले डकुमेन्ट्री बनाएर युट्युबमा राखेको रानाको भनाइ छ । जसले गर्दा गाँउको संस्कृतिको दस्तावेज पनि रहने उनले बताए । युट्युब फेसबुकमा हेरेर राम्रो प्रतिक्रिया पनि दिइरहेका छन् ।

गाउँकै अर्का युवा गणेश रानाले गाउँमा भएको लोक संस्कृति बचाउन आफू लागेको बताए । आफू पनि गीत संगीतमा सक्रिय रहेको कारण ठाडोभाका आफूले पनि गाउने गरेको उनी बताउँछन् । युवा पुस्तामा आफूलाई मात्र केही मात्रामा थाहा भएको यो भाका अरुलाई पनि सिकाउन ढिला गर्न नहुने उनको तर्क छ । उनले पनि केही लोक तथा दोहोरी गीतमा आवाज दिएका छन् । अब केही समयपछि ठाडो भाकामा पनि गीत गाउने उनले जानकारी गराए ।

क्लबका संरक्षक अनील रानाले सरकारबाट पनि ठाडो भाका संरक्षणका लागि योजना बनाउनुपर्ने बताउँछन् । बिरुवा गाउँपालिका ८ का वडाध्यक्ष प्रकाश रानाले भने आफ्नो वडामा भएको ठाडो भाकाको बारेमा अनभिज्ञ रहेको बताए । त्यस बेलामा बाबा आमाले गाउँदा नाँच्ने गरेको याद भए पनि ठाडो भाका हो भन्ने उनले भेउ पाएका थिएनन् । उनलाई पनि शिवरात्रिमा भएको डकुमेन्ट्री छायांकनमा डाकिएको थियो । त्यो दिनपछि मात्र वडामा पनि यस्तो संस्कृति रहेछ भनेर थाहा भएको अध्यक्ष थापाले बताए । वडामा भएको संस्कृति जोगाउँदै अरु क्षेत्रमा पनि देखाउनुपर्नेमा उनी पनि सहमत छन् । पुस्ता हस्तान्तरणका लागि युवायुवती, बुढापाका र यसका विज्ञहरुसँग बसेर सल्लाह गरी कस्ता कार्यक्रम ल्याउनुपर्छ भनेर आगडि बढ्नुपर्ने उनको धारणा । वडामा भएको लोप हुन लागेको लोक संस्कृति बचाउनका लागि स्थानीय सरकार र आफ्नो तर्फबाट गर्नुपर्ने आर्थिक, नैतिक र भौतिक सहयोग गर्न तयार रहको अध्यक्ष थापाले प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width