अधिवक्ता घिमिरे थुनामुक्त

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७७

पोखरा । जबरजस्ती करणी मुद्दा मिलाउन लागीपरेको आरोपमा पक्राउ परेका अधिवक्ता लक्ष्मीप्रसाद घिमिरे आइतबार रिहा भएका छन् । कानुनी परामर्श दिएकै आधारमा झुटा आरोप लगाएर प्रहरीले पक्राउ गरी गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उच्च अदालतमा गत शुक्रबार नै बन्दीप्रत्यक्षीकरण रिट दायर भएको थियो ।

रिटमा जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत कास्कीलाई विपक्षी बनाइएको छ । जिल्ला अदालत कास्कीले पेस गरेको जवाफमा अधिवक्ता घिमिरेले चेक काटेको पाइएको र त्यसैका आधारमा पक्राउ गरेको उल्लेख छ । गीता तिवारीको नाममा रहेको बैंक खाताको चेक भर्न सहयोग गरेकै आधारमा अधिवक्ता घिमिरेलाई पक्राउ गर्नु गैरकानुनी रहेको जिकीर रिट निवेदकको छ ।

गैरकानुनी रुपमा पक्राउ गरी थुनामा राखेको भन्दै परेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पोखराले अधिवक्ता घिमिरेलाई थुनामुक्त गरेको हो

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीशद्वय प्रमोदकुमार वैद्य श्रेष्ठ र डालकुमार खड्काको इजलाशले अधिवक्ता घिमिरेलाई थुनामुक्त गर्ने आदेश आइतबारै गरेको हो । आदेशलगत्तै उनी उच्च बार पोखराका अध्यक्ष नारायणप्रसाद पौडेलको रोहबरमा थुनामुक्त भएका हुन् ।

अनुसन्धानका लागि भन्दै जिल्ला अदालतको पक्राउ पुर्जी देखाएर प्रहरीले गत बिहीबार अधिवक्ता घिमिरेलाई जिल्ला अदालत नजिकैबाट पक्राउ गरेको थियो । अनुसन्धानका लागि भनेर ४ दिन म्याद समेत थप भइसकेपछि उच्च बारका तर्फबाट उपाध्यक्ष दीपक पौडेलले शुक्रबार रिट दायर गरेका थिए । कानुन व्यवसायीको मर्यादा कायम राख्दै कुनै पनि मुद्दामा सहजीकरण गरेकै आधारमा झुटा आरोप लगाएर पक्राउ गर्नु नै गैरकानुनी रहेको रिटमा उल्लेख छ ।

उक्त रिटमा बहसका लागि पोखराका ६० भन्दा बढी कानुन व्यवसायीले वकपत्र पेस गरेका थिए । वरिष्ठ अधिवक्ता तिलक पराजुली, रामप्रसाद घिमिरे, कृष्णबहादुर थापा, कृष्णबहादुर गुरुङ, विश्व घिमिरे, हरिप्रसाद सुवेदी, बार केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगर, अधिवक्ता मुकुन्द अर्याल लगायतले बहस गरेका थिए । चेकमा अक्षर अधिवक्ता घिमिरेकै रहे पनि जबरजस्ती करणी मुद्दा मिलाउन र जाहेरी नदिन उनले पहल गरेको कुनै आधार र प्रमाण नै नभइ बाहिरका बिचौलियाले आरोप लगाएका आधारमा प्रहरीले पक्राउ गरेको उनीहरुको जिकीर थियो ।

यसैबीच अधिवक्ता घिमिरेले आफू जबरजस्ती करणी मुद्दा मिलाउने काममा कहिँ कतै संलग्न नरहेको बताएका छन् । समाचारमा आएजस्तो मुद्दाका पक्षबाट आफूले चेक, नगद केही पनि नलिएको भन्दै भरपर्दो स्रोत प्रयोग गर्न र जिम्मेवार पत्रकारिता गर्न उनले आग्रह गरेका छन् ।

घटना विवरण अनुसार पोखराकै १७ वर्षे युवतीमाथि पटकपटक जबरजस्ती करणी गरेको आरोपमा ५७ वर्षे पुरुष २२ दिन अघि पक्राउ परेका थिए । कहिले लेकसाइडका होटेल त कहिले पामेतिर लगेर बारम्बार करणी गरेको आरोपसहित युवतीले दिएको उजुरीका आधार ती पुरुष पक्राउ परेका हुन् । पक्राउ परेका ती पुरुषकी पत्नीलाई भेटेर मुद्दा मिलाइदिने भन्दै २ जनाले यसअघि नै केही रकम असुली गरेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरेर फाइल तयार गरिरहेकै बेला मुद्दा मिलाइदिने भन्दै पीडितका आफन्तलाई फकाउन लागीपरेका २ जना पीडितकै उजुरीका आधारमा फागुन १९ गते पक्राउ परेका थिए । पोखरा महानगरपालिका– ८ बस्ने ५८ वर्षका सूर्यलाल खड्का र धादिङ गंगाजमुना गाउँपालिका १ घर भई पोखराको हेमजा बस्ने ३९ वर्षका कमन भनिने कमानबहादुर तामाङ पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार जबरजस्ती करणी मुद्दाका पक्षलाई उनीहरुले ‘प्रहरी, वकिल र अदालतसँग सेटिङ छ, १ करोड रकम दिए मिलाई दिन्छु नत्र १५ वर्ष जेल जान्छ’ भनी धम्क्याइ झुटा आश्वासन दिएर केही रकमसमेत असुली गरेका थिए । उनीहरुसँग अधिवक्ता घिमिरेको कुनै सम्बन्ध नरहेको कानुन व्यवसायीले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width