स्थानीय परिकारसँग रमाउन तनहुँसुर होमस्टे

सविन लामिछाने
चैत्र ८, २०७७
news of homestya

दमौली । व्यास नगरपालिका ११ तनहुँसुरमा तनहुँसुर देवस्थल सामुदायिक होमस्टेको शुक्रबार शुभारम्भ गरिएको छ । २०७५ सालदेखि सञ्चालित होमस्टेको सामुदायिक भवन शुक्रबार नै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले उद्घाटन गरे ।

कार्यक्रम उद्घाटनपछि उनले गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकतामा पर्यटन रहेको बताए । उनले भने, ‘प्रदेश सरकारको पहिलो प्राथमिकतामा पर्यटनलाई राखेका छौं । त्यसमा पनि ग्रामीण क्षेत्रको पर्यटन प्रर्वद्धन गर्न होमस्टेलाई जोड दिएका छौं ।’

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यासले कृषि र शिक्षासँगै पर्यटनलाई पनि प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले भने ‘ प्राचीन सम्पदाको संरक्षणसँगै स्थानीयको जीवनस्तर उकास्न पनि होमस्टे प्रवद्र्धनका कार्यक्रमलाई जोड दिएका छौं ।’

नगरपालिकाका प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले समाजको मौलिकतामा आधारित भई सेवा दिनुपर्ने आवश्यकता औंल्याए । तनहुँसुरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदाको संरक्षणका साथै तनहुँसुर आउने पर्यटकलाई खाना र आवासको सहजताका लागि होमस्टे सञ्चालन गरिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष पदमबहादुर आलेले स्पष्ट पारे । हाल १४ घरमा होमस्टे सञ्चालन गरिएको अध्यक्ष आलेले जानकारी दिए । ।

उजाड बन्दै गएको बस्तीको पहिचान कायम गर्दै तनहुँसुरको प्राचीन सम्पदाको संरक्षणका लागि होमस्टे सञ्चालन गरेको होमस्टेका उपाध्यक्ष मदन आलेले बताए । होमस्टेमा १ पटकमा ४० जना पर्यटकलाई गुणस्तरीय सेवा दिन सक्ने गरी पूर्वाधार निर्माण तयार गरिएको सचिव ज्ञानभक्त आलेले बताए । उनका अनुसार सफा सुत्नेकोठा, बाथरुमसहितको शौचालय, पानी धारा ,प्रत्येक घरमा वाइफाइ सेवाका साथै अन्य आवश्यक सुविधा उपलब्ध हुन्छ । होमस्टेका घरका लागि ऊर्जा तथा वातावरण नेपालले १ एक सेट खाट, सिरक, डसना, तन्ना सहयोग गरेको सचिव आलेले जानकारी दिए । पर्यटकलाई स्थानीय उत्पादन नै खान दिइने गरेको उनले बताए ।

मकै, कोदो, फापरका परिकार, गुन्द्रुक, बोडी, खसी, लोकल कुखुराको मासु त्यहाँका प्रसिद्ध परिकार हुन् । होमस्टेमा नास्ता, खाना र लजिङसहित १ हजारको प्याकेजको व्यवस्था गरिएको छ । प्याकेजमा १ छाक सादा खाना, १ छाक मासु खाना, लजिङ, बिहानको नास्ता, बेलुकाको नास्ता र लोकल जुस समावेश गरिएको होमस्टे सञ्चालक समितिले जनाएको छ ।
घाँसीकुवाबाट साढे १२ किलोमिटरको सहज सडक मार्ग वा मूलपानीबाट साढे ६ किलोमिटर पैदलयात्रा गरी तनहुँसुर होमस्टे पुग्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width